PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चोरबाटो हुँदै नेपाल छिरेका चार जना पुगे प्रहरीको शरणमा, ‘भारतमा अलपत्र पर्नु भन्दा नेपालकै जेल मञ्जुर’



सुमित मिश्र

चोरबाटो हुँदै नेपाल छिरेका चार जना पुगे प्रहरीको शरणमा, ‘भारतमा अलपत्र पर्नु भन्दा नेपालकै जेल मञ्जुर’

जनकपुरधाम : भारतबाट नेपाल छिरेका ४ जना नेपालीहरु आफैँ स्वास्थ्य परीक्षणका लागि पुगेका छन्। भारतको नर्मदा बिहार मुजफ्फरपुर कामको सिलसिलामा गएका उनीहरु जसोतसो हिँडेर नेपाल भारत सीमाको चोरबाटो हुँदै नेपाल छिरेका हुन्। 

नेपाल प्रवेश गरेका चारै जना जनकपुरधामस्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर आफूहरु भारतबाट आएको भन्दै स्वास्थ्य जाँचका लागि आग्रह गरेका थिए। उनीहरु चारै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्‍याइएको छ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ ढोल बज्जा पर्साहीका ४२ वर्षीय रामअशिस महतो, ४० वर्षीय जवाहरलाल महतो, ३० वर्षीय जानिफ राइन र ४० वर्षीय तिरथलाल महतो कामको सिलसिलामा करिब २ महिना अगाडि भारत नर्मदा बिहार मजफ्फरपुर पुगेका थिए। तर, केहि दिन नबित्दै विश्वमहामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण भारतमा पूर्ण रुपले लकडाउन भयो र उनीहरु चार जनाकै काम बन्द भयो।

भारत लकडाउन भएपछि काम गरे बापतको दैनिक ज्यालादारीको हिसाबले पैसा दिएर साहुले कामबाट निकालिदिए।

रामअशिसले भने, ‘साहुले कामबाट निकालेपछि न त बस्ने न त खाने ठेगान नै थियो। भएको पैसाबाट करिब १ महिनासम्म खानेकुरा किनेर आफ्नो दैनिकी जसो तसो चलाएँ, त्यस पछि त पैसा पनि सकियो। १ महिनासम्म न त त्यहाँको प्रशासनले सहयोग गर्‍यो न स्थानीयले नै। अनि के गर्ने भन्दै भारतमा यसरी बस्नु भन्दा बरु नेपालकै जेल मञ्जुर छ् भन्दै, घर तिर जाने पिलान बनाएँ, र हामी चार जनै घर तिर पैदल नै हिँड्यौँ।’

५ दिनको हिँडाइका क्रममा साथीसँग भएको करिब ३ सय भारतीय रुपैयाँले चिउरा र चिनी किनेर भोक मारेको राइनले बताए। त्यसकै भरमा भारतबाट नेपालको महोत्तरीस्थित एक सिमाना नजिक आइपुगेको उनको भनाइ छ। 

राइनले भने, ‘सीमानाकामा प्रवेश गर्न गाह्रो होला सोचेका थियौँ तर संयोगवस सीमानाकामा पुगेपछि पानी पर्न लाग्यो सोही मौका छोपेर खेतीबारी हुँदै नेपाल प्रवेश गर्न सफल भयौँ।’

उनले थपे, ‘हाम्रो विचार त त्यहीँको क्वारेन्टाइनमा बस्ने थियो तर मनले भन्यो गृह जिल्ला धनुषा नै जाउँ अनी करिब ४ घण्टाको हिँडाइपछि सदरमुकाम जनकपुरको रामानन्द चौक पुगे र प्रहरीलाई सबथोक जानकारी गराएँ।’

भारतबाट नेपाल छिरेका चारै जनालाई यतिबेला पिसिआर परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell