PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राहत माग्न जाँदा प्रहरीको लाठी, वडाध्यक्षको निर्देशनमा कुटिएको स्थानीयको आरोप



सुमित मिश्र

राहत माग्न जाँदा प्रहरीको लाठी, वडाध्यक्षको निर्देशनमा कुटिएको स्थानीयको आरोप

जनकपुरधाम : जनकपुरधाम उपमाहानगरपालिका वडा १४ मा राहत माग्न  गएकाहरु वडाध्यक्षको निर्देशनमा कुटिएका छन्। हुने खाने वर्गलाई राहत वितरण गरी गरिब, विपन्न परिवार र ज्यालादारी मजदुरमाथि विभेद गरेको आरोप लगाउदैँ स्थानीयवासीले पारदर्शी रुपमा राहत वितरणको मागसहित चर्को नारावाजी गर्दै वडा कार्यालय घेराउ गर्न पुगेका थिए।

त्यसपछि वडाध्यक्ष पुण्यप्रसाद यादवले प्रहरी लगाएर कुटपिट गरेको स्थानीयको आरोप छ। राहत माग्न पुगेका स्थानीयवासीलाई वडाध्यक्ष यादवको निर्देशनमा पुरुष प्रहरीले महिला, वृद्ध, वृद्धा सहित एक दर्जनमाथि कुटपिट भएको थियो। राहत माग्न पुगेका जनकपुरधाम वडा नम्बर १४ वासीलाई प्रहरीले शरीरका विभिन्न अंगमा निलडाम देखिने गरी कुटपिट गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रजौलका पप्पु झाको खुट्टामा लाठी लिएर हिर्काएका छन् भने सोही ठाउँका सुफल देवी साहको पिठ्यू र ढाडमा प्रहरीले लाठी लिएर कुटपिट गर्दा निलडाम देखिएको छ। त्यस्तै प्रहरीले हिर्काएको लाठीबाट फुलदेवीको खुट्टा र तिघ्रामा चोट लागेको छ। प्रहरीको लाठीबाट दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्र कुमार साहलगायतकालाई चोट लागेको छ।

राहत वितरणमा वडाध्यक्ष यादवले विपन्न र गरीवलाई छोडेको आरोप लगाउँदै स्थानीयले विरोध गरेका थिए।

वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दाबी गरे। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गरेको आरोप लगाए।

यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकार गरे। यता प्रहरीको लाठीबाट कुटिएकाहरु भने राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधाममा उजुरी दिने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell