PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पुरानो मेसिनको रिपोर्ट शंकास्पद देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान



सुमित मिश्र

पुरानो मेसिनको रिपोर्ट शंकास्पद देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण गर्न नयाँ पीसीआर मेसिन जडान गरिएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको टोलीले मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश सरकारको लगानीमा गएको शुक्रबार नयाँ पीसीआर मेसिन जडान गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। शनिवारदेखि नयाँ मेसिनमा परीक्षण अभ्यास भइरहेको छ। सोमवारदेखि औपचारिक रुपमा स्वाब परीक्षण हुने प्रादेशिक प्रयोगशाला प्रदेश २ का अधिकृत युगलकिशोर यादवले जानकारी दिए।

नयाँ जडान गरिएको मेसिनले यसअघिको भन्दा तीव्र गतिमा स्वाब परीक्षण रिपोर्ट दिने जनाइएको छ। ‘यसअघिको पीसीआर मेसिनमा प्रति घण्टा एक जनाको रिपोर्ट दिन्थ्यो। नयाँ मेसिनमा झण्डै डेढ घण्टामा दुई जनाको रिपोर्ट दिन्छ’, यादव भने, ‘८० मिनेटमा एकैपटक २ जनाको रिपोर्ट आउँछ।अब  दैनिक १६ देखि २० जनाको स्वाब परीक्षण गर्न सकिन्छ।’

यसअघि चैत २१ गते जडान गरिएको पोर्टेबल पीसीआर मेसिनले गलत रिपोर्ट दिन थालेपछि त्यसलाई हटाएर नयाँ मेसिन जडान गरिएको यादवले बताए।

यसअघिको पीसीआर मेसिनमा कोरोना संक्रमित व्यक्तिको स्वाब परीक्षण गर्दासमेत नेगेटिभ रिपोर्ट देखाएपछि प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण बन्द गरिएको थियो। एक सय एक जनाको स्वाब परीक्षण गरिएको यसअघिको पीसीआर मेसिनमा शंका लागेका केही व्यक्तिको पुनः काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा ३ जना कोरोना पोजेटिभ भेटिएका थिए।

समाजिक विकास मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाकाअनुसार वीरगन्जमा समेत रियल टाइम पीसीआर मेसिन जडान कार्य भइरहेको छ। झाले भने, ‘२/३ दिनमा वीरगन्जको मेसिन पनि सुचारु हुन्छ। राजविराज र जनकपुरमा पनि ठूलो मेसिन जडान गर्न छिट्टै टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ। एक साताभित्र मेसिन किनेर संचालन गर्ने तयारी छ।’

पिसिआर मेसिन जडान भएपछि एकै पटकमा ७२ वटा नमूना परीक्षण गर्ने सकिने झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell