PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

महोत्तरीमा १२ जनाको मृत्युको कारण रहस्यमै, 'सामुदायिक परीक्षणपछि मात्र भन्न सकिन्छ'



सुमित मिश्र

महोत्तरीमा १२ जनाको मृत्युको कारण रहस्यमै, 'सामुदायिक परीक्षणपछि मात्र भन्न सकिन्छ'
मृतक लालबाबुका श्रीमती निलम र छोरो। फोटो : सुमित मिश्र

जनकपुरधाम: महोत्तरीको भंगहा र बर्दिवास नगरपालिकामा शंकास्पद मृत्यु हुनेको संख्या १२ पुगेकाे छ। विगत १२ दिनमा १२ जनाकै मृत्यु भइसकेको छ। भंगाहको वडा नम्बर ६ र ७ तथा बर्दिवास १२ मा गरी १२ जनाको मृत्यु भएको हो। मृत्युको कारण अझै पत्ता लागेको छैन्। मदिराका कारण मृत्यु भएको स्थानीयको आशंका छ। तर दुई जना मदिरा सेवन नगर्नेको पनि मृत्यु भएको छ। 

मृत्यु हुनेमा भंगहाका मोहन चौधरी, महेन्द्र चौधरी, नथुनी महरा, लालबाबु सिंह, सिकिन्द्र सिंह, सुकदेव महरा, पलट साह र रुपनारायण सिंह रहेका छन्। पलट साह तरकारी व्यापारी थिए।

सिकिन्द्र र सुकदेवको कोरोना जाँचका लागि आरडीटी परीक्षणसमेत गरिएको थियो। नतिजा नेगेटिभ आएको थियो। स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ।

यस्तै बर्दिवास नगरपालिकाका गंगाराम सदा, सोमनी देवी वाँतर, सिकिन्द्र मण्डलको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तर प्रदेश लखिमपुरका मोतीलाल प्रजापति पनि छन्। पोस्टमार्टमपछि गंगारामको निधन औलोबाट भएको पाइएको छ। सोमनी देवी मधुमेहको रोगी थिइन्।

उनीहरुको मृत्युबारे अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गीरेन्द्रकुमार झाले जानकारी दिए। 

झाले घटनाबारे अनुसन्धान गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल सुपरिटेण्डेन्ट अमृत पोखरेल, विश्व स्वास्थ्य संगठनका प्रदेश २ का प्रतिनिधि डा. सुदेशा खड्का र प्रदेश स्वास्थ्य निर्देशनलायका चिकित्सक डा. संजय यादव लगायतको टोली खटिएको पनि बताए। टोलीले दुबै स्थानमा सामुदायिक परीक्षणको कार्य सुरु गरेको पनि झाले जानकारी दिए। परीक्षण प्रतिवेदनपछि मात्र मृत्युको कारण पत्ता लाग्ने उनले बताए। 

मृतकको गाँउ पुग्दा जे देखियो

भंगहा ७ मेघनाथ गोरहन्नाको मझौलिया टोलको निलम सिंहको घर पुग्दा एक वृद्धा आँगन लिपिरहेकी थिइन्। निलम छोरोलाई अँगालोमा राखेर शोकमग्न थिइन्। श्रीमान लालबाबुको केही दिनअघि मृत्यु भएको थियो। लालबाबुले सुरु गरेको नयाँ घर निर्माण अधुरै देखिन्थ्यो।

निलमको काँधमा अब १३ वर्षीया छोरी सुप्रिना सिंह र ११ वर्षीय छोरा गौरव सिंहको जिम्मेवारी समेत आएको छ। छोरा गौरव कक्षा दुईमा पढ्दै छन्। छोरी सुप्रिना कक्षा ८ मा पढ्छिन्।

रंगको काम गर्ने लालबाबुको कमाइले नै उनीहरुको जीवन जसोतसो चल्दै आएको थियो।  

मृतकका परिवारलाई किरिया खर्च

भंगहा नगरपालिकाले प्रत्येक मृतकका परिवारलाई किरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको वैशाख १८ गतेको बैठकबाट सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष वासुदेव सिंहले जनाए। उनले मृतकका परिवारको आर्थिक स्थिति कमजोर रहेकोले सन्तानको शिक्षाका लागि नगरपालिका तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell