PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दरभंगा हिँडेका २३ भारतीय जनकपुरधाममै रोकिए, २४ नेपाली दशगजामा



सुमित मिश्र

दरभंगा हिँडेका २३ भारतीय जनकपुरधाममै रोकिए, २४ नेपाली दशगजामा

जनकपुरधाम : जनकपुरधाम हुँदै भारत जान लागेका २३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पैदल हिँडेर जनकपुर पुगेकाहरु  भारत जान लागेको अवस्थामा जनकपुरधामस्थित विद्यापति चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएको सबै भारतको बिहार राज्यको रहेको बताइएको छ। उनीहरु सबैलाई जनकपुरधामको विद्यापति चोकमा खटिएका प्रहरीको टोलीले सोधपुछ गर्दा काठमाडौँबाट पैदल हिडेर जनकपुरधामसम्म पुगेको र नेपाली सीमा पार गरेर आफ्नो घर जान लागेको बताइएको छ।

ती भारतीयहरु काठमाडौँमा काम गर्दै आएका थिए। कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लगाएपछि भोकभोकै बस्नु पर्ने बाध्यता रहेकोले पैदल घरतर्फ हिँडेको उनीहरुले बताए। सात दिनअघि उनीहरु काठमाडौँबाट भारतको दरभंगाका लागि हिँडेका थिए।

नियन्त्रणमा लिइएका सबैलाई नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनमा पठाइएको छ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले यस विषयमा अनभिज्ञता प्रकट गरे।

त्यस्तै भारतका विभिन्न स्थानबाट आएका २४ नेपाली धनुषा सीमाको दसगजा क्षेत्रमा अलपत्र परेका छन्। सशस्त्र प्रहरीले सीमा प्रवेश गर्न रोक लगाएपछि उनीहरु अलपत्र परेका हुन्। उनीहरु धनुषाको महिनाथपुर र इनर्वा नाकाको दसगजा क्षेत्रमा फसेका हुन्। महिनाथपुर नाकामा १३ जना आइतबार रातिदेखि रोकिएका छन् भने इनर्वा नाकामा सोमबार बिहान आइपुगेका ११ जना अलपत्र परेको स्रोतले जनाएको छ। धनुषाका सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरिक्षक राजेश उप्रेतिले भारतबाट आएकालाई नेपाल प्रवेश गर्न नदिने अहिलेको नीतिअनुसार उनीहरुलाई दसगजामै रोकिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell