PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पद्धति सिकाउनेबाटै स्थायी समिति स्थगित भएको भीम रावलको आरोप, 'विधानको घोर उल्लंघन भयो'



पद्धति सिकाउनेबाटै स्थायी समिति स्थगित भएको भीम रावलको आरोप,  'विधानको घोर उल्लंघन भयो'

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीवारका लागि डाकिएको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेताहरु आक्रोशित हुन थालेका छन्। स्थायी कमिटी सदस्य भीम रावलले बैठक स्थगित हुनले पार्टी विधानको अपमान भएको टिप्पणी गरे।

पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'स्थायी कमिटीका २० जना सदस्यले पार्टीको विधानअनुसार लिखित रुपमा बैठक माग गरेका थियौं। विधानअनुसारको समयावधि पनि पूरा भयो। भोलि बोलाईएको बैठक स्थगित गर्नुले पार्टीको विधानको घोर उल्लंघन र अपमान भएको छ।'

रावलले पार्टी विधि र पद्धतिको कुरा अरुलाई सिकाउनेहरुले नै पार्टीको विधान नमान्नुले यसको औचित्य के का लागि? भन्दै प्रतिप्रश्न गरे।

'माग गर्दा पनि बैठक नबोलाउने। पार्टीको विधानअनुसार बैठक पनि नराख्ने। अरुलाई विधि पद्धति सिकाउनेले नै विधान मिचेपछि यसको औचित्य के? यसले कम्युनिस्ट पार्टीको प्रणाली र पद्धतिमाथि आघात पर्छ।'

अकारण बैठक स्थगित गर्नु अनुचित भएको उनको भनाइ छ।

विधानको व्यवस्था उलंघन गरेर बैठक नबोलाईएकोबारे छलफल गर्ने पनि बताए। सचिवालयले गरेको निर्णय नै कार्यान्वयन नहुनेमा उनी असन्तुष्ट देखिए।

उनी भन्छन्, 'बैठक स्थगित भएको कुरा आएको छ। यसले सचिवालयमा उहाँहरुले कस्तो निर्णय गर्नुहुदो रहेछ भन्ने देखाउँछ।'

नेकपामा आन्तरिक मतभेदले बैठक सारिएको बताइन्छ। रावल पार्टीको बैठक नबस्नुले अन्तरविरोध र मतभेद झनै बढ्दै जाने बताउँछन्।

'बैठक बसेर नै समस्याको समाधान गर्ने हो। बैठक बोलाइएन, छलफल नै गरिएन भने अन्तरविरोध र मतभेद झनै बढ्छ।'

नेकपा विधानमा स्थायी कमिटी तीन महिनामा बोलाउने प्रावधान छ। त्यस्तै २५ प्रतिशत सदस्यले लिखित माग गरेको १५ दिन भित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ।

नेकपामा पछिल्लोपटक विवाद चर्किएपछि गत शनिवार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक डाकेको थियो। तर, बैठक अघिल्लो दिन नै स्थगित भएको छ। एजेन्डा तय गर्न बुधवार बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell