PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जानकी मन्दिरमा विवाद चर्किँदै, स्वघोषित छोटा महन्थले करोडौं रुपैयाँ असुल गरेको महन्थ रामतपेश्वरको आरोप



सुमित मिश्र

जानकी मन्दिरमा विवाद चर्किँदै, स्वघोषित छोटा महन्थले करोडौं रुपैयाँ असुल गरेको महन्थ रामतपेश्वरको आरोप

जनकपुरधाम : हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मंगलबार साँझ एक रेडियोलाई अन्तर्वार्ता दिएसँगै यहाँको माहोल चर्किएको छ।

सामान्य चेला सरह रहेको रामरोशन दासले आफुलाई अघोषित रुपमा छोटा महन्थ घोषणा गरेको महन्थ दासले जिकिर गरेका छन्। उनले भने, 'रोशन दास यस मन्दिरको उत्तराधिकारी अथवा छोटा महन्थ केही छैनन्। उनी एउटा सामान्य बैरागी चेला हुन्। उनी जस्ता आफ्नो १२/१४ जना अन्य चेलाहरु पनि छन्। तिनीहरु मध्ये कोही चित्रकुट, कोहि बर्साना त कोही अयोध्या लगायतका ठाउँहरुमा बसिरहेका छन्।'

आफु केही महिना अस्वस्थ भएको बेला रोशनलाई सामान्य रुपमा मन्दिरको काम आफुलाई जानकारी गराएर सञ्चालन गर्ने जिम्मेवारी दिएपछि रोशनले आफुसँग विश्वासघात गरेको उनको आरोप छ।

जानकी नवमी र विवाहपञ्चमीमा पैसा असुल्नकै लागि आफूलाई कुनै जानकारी नै नदिई एउटा समिति बनाएर कुनै बैंकमा खाता सञ्चालन गरी केन्द्र सरकार, प्रदेश सरकार र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदसँग रोशनले करोडौं रुपैयाँ असुल गरेको महन्थ दासको आरोप छ।

आफ्नो अनुमतिबिन रोशनले सबै काम आफ्नै ईच्छाले गरेको आरोप लगाउँदै उनले भने, 'मलाई त उसले कोसँग कति पैसा लिन्छ त्यसको कुनै जानकारी नै हुँदैन। प्रदेश र केन्द्र सरकारका साथै वृहत्तरसँग पनि उसले पैसा मागेर ल्याउँछ तर ति पैसाहरुको कुनै लेखाजोखा हुँदैन जबकि विवाहपञ्चमी, जानकी नवमीलगायतका पर्वहरुमा भारतको मुम्बईका आफ्नो एकजना चेला पवन चौधरीले विगतदेखि नै सबै खर्च तिर्दै आएका छन्।'

रोशनले सबै पैसाको हिनामिना गर्दै आएको दाबी महन्थले गरे। आफूले अहिलेसम्म कुनै कामका लागि कसैसँग एकसुको पनि नमागेको तर्क गर्दै उनले अरुसँग पैसा उठाउनेबारे प्रश्न गर्दा रोशनले धम्क्याउँदै आएको उनको आरोप छ।

 

महन्थ दासले भने,'उसले आफुले आफैलाई उत्तराधिकारी महन्थ घोषणा गरेको हो। मैले औपचारिक रुपमा उसलाई कुनै पद दिएको छुईन।'

रोशनले पैसाको लोभमा जानकी मन्दिरलाई राजनीतिको अखाडा बनाएको दाबी गर्दै महन्थ दासले विवाहपञ्चमीमा कुनै भिभिआईपीलाई बोलाउँदा आफुलाई कुनै किसिमको पूर्व जानकारी नरहेको बताए।

उनले जानकी मन्दिरको सम्पूर्ण भार स्वयं बहन गर्न तयार रहेको बेला रोशनले किन अरुसँग हात फैलाउनुपर्यो भनेर प्रश्नसमेत गरे।

उसलाई सञ्चालन गर्ने जिम्मेवारी मात्र दिइएको हो,सर्वाधिकार दिइएको होईन्,'उनले भने-'मन्दिरको नाममा असुल गरिएको पैसा कहाँ गयो ? कुन बैंकमा खाता छ ? कसको नामले चेक काटियो ? खर्च कहाँ कुन शिर्षकमा गरियो ? यी सबै बिषयमा पत्रकार सम्मेलन गरेर रोशनले सबैलाई जानकारी गराउनुपर्छ,नत्र उसलाई यहाँबाट चाँडै हट्नुपर्छ।'

 

उनले प्रश्न गर्दै भने,'आम्दानी के आउँछ त्यसको कुनै अत्तोपत्तो हुँदैन तर खर्चका लागि रामतपेश्वर दास ? रोशनलाई प्रदेश सरकार,केन्द्र सरकार र वृहत्तरसँग लिएको पैसा फिर्ता गर्न भनिसकेको छु। फिर्ता गरेन भने कानूनी प्रक्रियामा जान्छु।'

रोशनले मन्दिरमा आएका सबै आम्दानी कोषाध्यक्षसँग मिलेर गायब र खाताको स्टेटमेन्ट माग्दा आनाकानी गरिरहेको महन्थ दासले बताए।

जानकी मन्दिर गुठी संस्थानको सम्पत्ति रहेकोले यसको सम्पूर्ण अधिकार गुठीकै मातहतमा रहेको र आफुले रोशनलाई महन्थ बनाउन नपाउने उनले बताए। आफु मरेपछि मन्दिरको महन्थ कसलाई बनाउने भन्ने अधिकार गुठी र यहाँको समाजको रहेको महन्थ दासले स्पष्ट पारे।

यता विवाहपञ्चमी र जानकी नवमी लगायतका पर्वहरुमा लाग्ने सम्पूर्ण खर्च आफुले तिर्दै आएको भारतको मुम्बईमा व्यवसाय गर्दै आएका पवन चौधरीले दाबी गरेका छन्।

उनले भने,'विवाहपञ्चमीमा प्रत्येक बर्ष म ७० देखि ८० लाखसम्म भारतीय रुपैयाँ आफ्नो गोजीबाट खर्च गर्छु। रामतपेश्वर दास मेरो गुरु हुनुहुन्छ र वहाँको आदेशानुसार सेवामा सबै खर्च भक्तिभावले आफ्नो ईच्छाअनुसार गर्छु। 'मलाई मिडियामा आफ्नो नाम आओस त्यसको कुनै सौख र चाहना पनि छैन। आफु त मात्र गुरुजीको सेवामा समर्पित हुन्छु। गुरुजी (रामतपेश्वर दास वैष्णव) मेरो लागि भगवान समान हुनुहुन्छ। वहाँले जे भन्नुहुन्छ त्यो म जतिबेला पनि गर्न तयार छु।' विवाहपञ्चमीका लागि आवश्यक भोजन सामग्री, वस्त्र, सरसजावट, लाइट, साउण्ड, टेन्ट सबैको खर्च आफुले नै प्रत्येक वर्ष व्यहोर्दै आएको चौधरीले दाबी गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell