भर्चुअल समूह 'नेप्लिज बेब्स'मा जथाभावी पोस्ट र कमेन्ट हुने गरेको गायिका त्रिशला गुरुङलाई थाहा थियो। तर एकदिन उनकै इनबक्समा उक्त समूहको एउटा लिङ्क आयो। त्यसले उनमा चासो जाग्यो - के रहेछ त भन्ने। उनले त्यसमा लगइन गरिन्। नभन्दै त्यहाँ अभद्र टीका टिप्पणीको ओइरो देखिन्थ्यो। सँगै फोटोहरु पनि अपलोड भइरहेका थिए। ती फोटोमा गरिएका कमेन्टले उनलाई झसङ्ग पार्यो। फोटो उनकै थियो तर एक वर्ष पुरानो।
'एक वर्ष पुरानो फोटो भनेर म चुप लाग्नसक्ने अवस्था नै थिएन,' त्रिशलाले भनिन्, 'कमेट्सहरु यति नराम्रो थियो कि रिपोर्ट नगरी बस्न सकिन।'
नेपाल प्रहरीको साइबर ब्युरोमा उनले कल गरिन् र यसबारे उजुरी टिपाउन खोजिन्। लकडाउनका कारण आफैँ उजुरी लिएर जान नसक्ने भएकाले प्रहरीले उनलाई सुझाए दिए - इमेलमा लेखेर, फोटो र नागरिकताको प्रतिलिपीसमेत पठाउनुस्।
उनले आज त्यसै गरिन्।
फेक ह्यान्डलबाट संचालित भर्चुअल समूहविरुद्ध हिजोमात्रै पनि एउटा अर्को उजुरी पनि परेको छ। 'हामीलाई हालसम्म एउटा निवेदन आएको छ। तर, फोन मार्फत् आफ्नो फोटो दुरुपयोग भएको जानकारी धेरैले दिनुभएको छ,' केन्द्रीय साइबर ब्युरोका प्रहरी निरीक्षक प्रवीण ताम्राकारले भने।
त्रिशला जस्तै धेरैका फोटो यस्ता सञ्जालमा दुरुपयोग भइरहेको छ। सजना श्रेष्ठ (परिवर्तित नाम) त्यस्तै पीडितमध्येकी एक हुन्। भारतमा विवादित बनेको ब्याइज लकर्स रुमबारे जानकार उनलाई कल्पनामा पनि थिएन, कुनै दिन आफू पनि त्यस्तै समूहको सिकार हुन्छु भन्ने।
गएको मंगलवार राती उनको दिदीलाई एउटा सन्देश आयो। कसैले उनलाई सजनाको तस्विर पठाएर सोध्यो – तिम्रो बहिनी होइन?
अन्य युवतीहरूको तस्विरबीच सजनालाई ठम्याउन गाह्रो भएन। त्यो त्यही फोटो थियो जुन सजनाले केही समयअघि इन्स्टाग्रामको 'माइ स्टोरी'मा राखेकी थिइन्।
तर, प्रश्न उठ्यो – आखिर उनको प्राइभेट अकाउन्टमा २४ घण्टाका लागि राखेको उक्त फोटो कसरी अरु कुनै साइटमा पुग्यो? त्यो पनि अश्लिल क्याप्सन सहित। उक्त साइटमा अन्य महिलाहरूको फोटो पनि थियो, सबैमा उस्तै अभद्र र अश्लिल कमेन्टहरू।
सजना आत्तिइन्। रुन थालिन्। केहीबेरमा सोच्न बाध्य भइन् - प्राइभेट अकाउन्टमा राखेको तस्विर सार्वजनिक हुनुको मतलव उनकै फलोअर्समध्ये कसैले दुरुपयोग गर्नु हो।
'तर, कसमाथि शंका गर्नु? कसलाई प्रश्न गर्नु? सबै आफूले विश्वास गरेकाहरु छन्,' उनले पहिलोपोस्टसँग भनिन्।
नेपाली एवम् विदेशी किशोरी, युवती वा महिलाको फोटो दुरुपयोग नेपालमा पनि दिल्लीको 'ब्वाइज लकर्स रुम'भन्दा फरक देखिएन।
+++
'ब्रो, यो केटीलाई बोलाऔं। यसको सजिलै बलात्कार गर्न सकिन्छ। म अरु पनि केही केटाहरूलाई बोलाउँछु। ग्याङ रेप गर्नुपर्छ।'
यो 'ब्वाइज लकर रुम'मा केही किशोरहरू बीच भएको कुराकानीको स्क्रिन सटमा देखिएको म्यासेज हो जुन यसै साता सार्वजनिक भयो। 'ब्वाइज लकर रुम' फोटो सेयर गर्ने एप्लिकेसन इन्स्टाग्रामको समूह हो। समूहमा दिल्लीमा अध्ययनरत् किशोरहरू छन्।
ग्रुपमा भएको अन्य कुराकानीको पनि स्क्रिन सट सार्वजनिक भएका छन्। उनीहरूले प्राय महिलाको फोटो सेयर गर्ने र त्यसमाथि अभद्र टीका टिप्पणी गर्ने गरेको देखिन्छ। समूहका सदस्यहरूले च्याटमै कसैको शारीरिक अंगको चर्चादेखि 'ग्याङ रेप'को योजनासम्म बनाएको सत्यले धेरैलाई आक्रान्त तुल्यायो। स्क्रिन सट बाहिरियो र समूहविरुद्ध चर्चा चल्न थाल्यो। तब उनीहरूले नयाँ योजना बनाए - जसले विरोध गर्छ उसकै नग्न तस्बिर सार्वजनिक गर्ने।
ठ्याक्कै त्यसको सिको गर्दै रेड्डिट नामक सामाजिक सञ्जालमा नेपाली युवाहरूको समूह सक्रिय छ – नेप्लिज बेब्स। सन् २०१६ बाट सुरु भएको उक्त समूहमा नेपाली महिलाहरूको तस्विर विभिन्न सञ्जालमार्फत् पुर्याइन्छ, अनुमतिविना। त्यो पनि अश्लिल क्याप्सन सहित। त्रिशला र सजनाहरु यसकै सिकार भएका हुन्।
उनीहरुले गर्ने कमेन्टमा सम्बन्धित महिलाको नग्न तस्विर माग्ने, अश्लिल भिडियोका लिंक सेयर गर्ने र गाली गर्ने गरेको देखिन्छ।
'आफैँलाई पर्दा त के गर्ने, कसो गर्ने हुँदो रहेछ। म त रोएरै बसेँ। साइबर सेलमा निवेदन दिँदा पनि यस्तो विषयलाई गम्भीरताका साथ लिँदैनन् भन्ने सुनेँ। त्यसैले चिने जतिलाई अकाउन्ट बनाउँदै पोस्ट रिपोर्ट गर्न लगाएँ,' सजनाले सुनाइन्।
तर, त्रिशला भने चुप बस्न सकिनन्। 'हामीले चुप लागेर बस्यौं भने हामीसँगै अरु पीडितहरुले न्याय पाउने सम्भावना नै रहन्न,' उनले भनिन्, 'हामीले यस्तै हो नि भनेर सहने हो भने यौन अपराध गर्नेहरु झन् प्रोत्साहित हुन्छन्।'
सजनालाई थाहा छ, निकै नजिकबाट चिनेको व्यक्तिले उनको तस्विर दुरुपयोग गरेको हो। किनकि रेड्डिटमा उनको घरमा बोलाइने नामको प्रयोग गरिएको छ। उनले कागजपत्र र फेसबुक, इन्स्टामा राखेको नाम घरमा बोलाइने नामसँग मेल खाँदैन।
'मेरो व्यक्तिगत कुरा थाहा भएकै मानिस हो भन्नेमा ढुक्क छु। तर, कसलाई कहाँ गएर भन्नु? भने पनि नसुनिने वा हामीतर्फ नै प्रश्न सोझिने डर हुन्छ – किन फोटो राखेको त? किन जो कोहीलाई फलोअर्स लिस्टमा राखेको?,' उनी भन्छिन्।
गायिका गुरुङले भने साइबर ब्यूरो गुहारेपछि ब्यूरोको सम्पर्क नम्बरसहित इन्टाग्राममा पोस्ट सेयर गरिन्। लेखेकी छिन्, 'जसले यो सबै गर्दैछ तिमीहरू साँच्चै समस्यामा पर्छौ। तिमीहरूलाई ट्र्याक गरेरै छाड्छौं। चाहे दिन लागोस्, महिना लागोस् तर पत्ता लगाएरै छाड्छौं।'
नेप्लिज बेब्स समूहको कर्तुतको विरोध सुरु भएसँगै समूहले एउटा पोस्ट लेखेको छ – 'तपाईंहरूले याद गर्नुभयो? जसले हाम्रो पेजको विरोध र रिपोर्ट गर्दैछन् तिनीहरू कुरुप छन्। कुनै पनि सुन्दर देखिने केटीहरूले विरोध गरेका छैनन्। किनकि राम्रा केटीको फोटोमा सकारात्मक प्रतिक्रिया आएका छन्। त्यसपछि त्यहाँ अर्को एउटा समूह छ जसले भन्छ – त्यो ठाउँमा तेरो आमा दिदी बहिनी भएको भए के गर्थ्यौ? भन्दै प्रश्न गर्छन्।'
साइबर सेलका प्रहरी निरीक्षक ताम्राकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगमार्फत् अरुको तस्विर दुरुप्रयोग गर्ने, गोपनीयता भंग गर्ने, मानहानी गर्ने लगायत अन्य साइबर अपराधमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताए। भने, 'हामीले आवश्यक अनुसन्धान सुरु गरिसकेका छौं।'
रेड्डिटको उक्त समूहमा नेपाली अभिनेत्री, मिस नेपाल, मोडलसहित अन्य नेपाली युवतीहरूको फोटो राखिएको छ। सजना भन्छिन्, 'मैले त पेजमै रिपोर्ट गरेरै आफ्नो फोटो हटाउन लगाएँ। तर, सबैको हकमा यो सम्भव छैन किनकि यो सञ्जाल धेरैले प्रयोग गर्दैनन्। रिपोर्ट गर्नकै लागि अकाउन्ट खोल्ने कुरा पनि भएन।'
फिल्म पत्रकार सुरक्षा भट्टराईले आफ्नो फोटो पनि उक्त समूहमा अनुमतिविना पोस्ट भएको थाहा पाएपछि उजुरी गरेकी छिन्। ८ महिनाअघि उनले व्यक्तिगत प्रोफाइलमा राखेको फोटो कसैले अनुमतिविना नेप्लिज बेब्समा पोस्ट गरेको रहेछ। भनिन्, 'प्रहरीलाई खबर र अनलाइनमार्फत् निवेदन दुवै दिएकी छु। दोषी पहिचान गरी कारवाही हुन्छ भन्ने विश्वास छ।'
+++
भारतमा चलिरहेको लकर्स रुममा सक्रिय भएकाहरु उनीहरुको पोस्टलाई लिएर विरोध गर्नेको प्रतिकारमा उत्रिएका छन्। उनीहरुले लेखेका छन्, 'डुड हेर् यो त्यो केटीको न्यूड सेल्फी। अब हाम्रो विरुद्ध लेख्ने महिलाहरूको न्यूड सार्वजनिक गरौं। निकै फेमिनिस्ट पल्टिन्छन्।'
'ब्वाइज लकर रुम'मा भएका यस्तै संवादले धेरैको ध्यान खिच्यो। ती संवादविरुद्ध सामाजिक सञ्जाल एवम् केही मिडियामा चर्चा भइरहेको छ। थुप्रै महिला त्यस्ता समूह, व्यक्तिका कारण आफू वा आफ्नालाई परेको असरबारे चर्चा गरिरहेका छन्। ह्यास ट्याग 'ब्वाइज लकर्स रुम'सहित।
दिल्ली महिला आयोगले दिल्ली प्रहरीको साइबर सेल विभागमा उक्त समूह विरुद्ध उजुरी दिएको छ। प्रहरीले अनुसन्धानपछि घटनामा संलग्न एक किशोरलाई पक्राउ समेत गरेको छ। १८ वर्षीय किशोर उक्त समूहका एड्मिन हुन्। पक्राउ परेको किशोरको मोबाइल, इन्स्टाग्राम, समूह माथिको जाँचपछि २१ जनाको पहिचान भइसकेको छ। उनीहरुमाथि प्रहरीले कारवाही अगाडि बढाइसकेको टाइम्स अफ इन्डियामा जनाइएको छ।
नेपालमा पनि यसको विरोध गर्नेविरुद्ध समूहका सदस्यहरु सक्रिय हुन थालिसकेका छन्। उनीहरुले समूहलाई सुरक्षित बनाउन सबरेड्डिटलाई सीमितका लागि मात्र खुला राख्ने योजनासमेत बनाएका छन्। कतिले समूह नै डिलिट गर्ने सुझाव समेत दिएका छन्। यसो भयो भने त्यो पोस्टहरु बाँकी रहने छैन र प्रहरीलाई अपराधी पहिचान गर्न गाह्रो हुन्छ। यतिमात्र हो कि भारतमा झै नेपाल प्रहरीको साइबर सेलले उनीहरुलाई पहिचान गर्न सक्छ या सक्दैन?