PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ मा हालसम्म ५ हजार ३५३ जनाको कोरोना भाइरस परीक्षण, ३० जनामा पोजेटिभ



सुमित मिश्र

प्रदेश २ मा हालसम्म ५ हजार ३५३ जनाको कोरोना भाइरस परीक्षण, ३० जनामा पोजेटिभ

जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लामा बिहीवारसम्म ५ हजार ३ सय ५३ जनाको आरडिटी परीक्षण गरिएको छ। त्यसमध्ये ३० जनाको रिजल्ट पोजेटिभ आएको छ।

कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडिटी अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार ४९ जना, सिरहामा ३ सय ४७ जना, सर्लाहीमा १ सय ७० जना, धनुषामा ४ सय ९५, महोत्तरीमा १ सय ७८, रौतहटमा ५ सय ६२, बारामा १ सय ५४ जना र पर्सामा २ हजार ३ सय ९८ जनाको आरडिटी गरिएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाईसमेत परिचालन गरिएको छ। टोलीमा डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए।

त्यस्तै, प्रदेश २ मा बिहीवारसम्म २ हजार ७ सय ५३ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ३७ बेड क्षमताका १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ३ सय २७ जना व्यक्तिलाई राखिएको सचिव डा घिमिरेले जानकारी दिए। प्रदेशभर अहिले ४ हजार ४ सय ५० जना होम क्वारेन्टाइनमा छन् भने २ सय ६७ बेड क्षमताको आइसोलेसनमा ४५ जना रहेको उनले बताए।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ७ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना, सिमरास्थित अस्थायी उपचार कक्षमा ७ जना र सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ जना गरी कुल १७ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell