जनकपुरधाम : लकडाउनका कारण समस्या खेपिरहेका १ सय ५० परिवारलाई ‘स्टोरिज अफ नेपाल’ नामक संस्थाले सहयोग गरेको छ। पछिल्लो पटक जनकपुरधाम वडा नम्बर ४ र ९ लगायतका स्थानमा ५० परिवारलाई राहत सहयोग गरिएको राहत वितरणमा संलग्न संचारकर्मी विकास साहले बताए।
यसअघि पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३, ४, ७ र औरही गाउँपलिकाको वडा नम्बर २ परवाहा लगायतका स्थानमा गरी १ सय थान राहत प्याकेज वितरण गरिएको थियो। अधिकांश गरिब तथा विपन्न परिवारको घरमा चुल्हो बल्ने अवस्था नरहेकाले ‘स्टोरिज अफ नेपाल’ले प्रति परिवार चामल, दाल, आलु, प्याज, खाने, नुन, साबुन, बिस्कुट र सेनिटरी प्याड बाँडेको हो।
स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्तरबाट राहत बाँडिरहँदा थप सहयोग गर्ने उद्देश्यका साथ सरकारी राहत लिन छुटेका तथा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई सहयोग गर्ने ‘स्टोरिज अफ नेपाल’का सञ्चालक जय पौडेलले बताए। उनले जनकपुरधाममा मात्र नभई नेपालका विभिन्न जिल्लाहरुमा सहयोग गरिरहेको बताए।
