फेसबुक म्यासेन्जरमा सुतापाले अप्रत्यासित रुपमा एउटा आग्रह गरिन् - 'पशुपतिनाथमा एउटा पूजा लगाइदिनुस् न स्वास्थ्य लाभको कामना गर्दै।'
अनौठो लाग्यो सुनील पोखरेललाई। किनभने उनी कहिल्यै धर्मको विश्वास गर्दैन थिए। न त कुनै धर्ममाथि प्रश्न नै गर्थे। सुतापा सिक्दरले निशा शर्मालाई पूजा लगाउन गरेको आग्रह पूरा भयो।
'सुतापाले भनेझै हामीले पशुपतिनाथमा पूजा गर्यौं। उसको स्वास्थ्य लाभको कामना पनि,' सुनीलले भने। कलाकारद्वय सुनील र निशा लगायत धेरैको कामनाहरुले अर्थ राख्यो। उनी नयाँ फिल्मका लागि तयार भए - अङ्ग्रेजी मिडियम।
'इरफान त धर्मभन्दा पनि कर्ममा विश्वास राख्थ्यो। तर अरुको धार्मिक आस्थामाथि कहिल्यै प्रश्न गरेको थाहा छैन,' सुनीलले सुनाए। हालै दिवंगत भएका भारतीय फिल्मका चर्चित अभिनेता इरफान खानलाई सम्झिँदा मलिन सुनिए सुनील।
पहिलो चरणको उपचार बेलायतमा सकेर भारत फर्किएपछि इरफानसँग सुनीलको सम्पर्क भयो, महिनौ पछि। इरफानलाई डाक्टरले फोन लगायत अन्य डिजिटल माध्यमबाट टाढै बस्न सुझाएका रहेछन्। त्यसैले सुनीलसँग लामो गफ गरेनन्। यति नै बोले – 'अहिले अलि ठीक छु।'
+++
सन् २०१८ को फेब्रुअरी महिनामा हो इरफानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएको। त्यस समय उपचारका लागि बेलायत जाने र ठीक भएपछि फर्कने योजना पनि सुनाएका थिए।
सुनीललाई लागेको थियो – उपचार पछि ठीक हुन्छ।
तर, उनलाई न्यूरो एन्डोक्राइन ट्यूमर भएको थियो।
'समाचार पढेपछि पो थाहा पाएँ उसको समस्या सामान्य होइन रहेछ। सयौंमा एकलाई ग्रस्त पार्ने ट्युमर रहेछ। डर चुलियो। म र निशा यस विषयमा कुरा गर्थ्यौं तर हामीले गर्न सक्ने के नै थियो र?', सुनील चिन्तित सुनिए।
डर र आशाको त्यान्द्रो तन्कँदातन्कँदै एक वर्ष बित्यो। सन् २०१९ को फेब्रुअरीमा बल्ल खबर आयो - इरफान उपचार सकेर भारत फर्किए।
त्यतिखेरै हो सुतापाले पशुपतिनाथमा पूजा लगाउने आग्रह गरेको।
इरफानले चाहिँ नेपाली बाँसुरीको धुनहरु मगाएका थिए। निशाले पहाडी भेगका बाँसुरीका संकलित धुन खोजेर पठाइन्।
त्यसपछि सम्पर्क पातलियो। डाक्टरको सुझाव सम्झिएरै फोन नगरेका हुन् उनीहरुले। सुतापासँग चाहिँ बेला बखत् फेसबुकमै कुराकानी भइरहन्थ्यो। तर, इरफानलाई 'डिस्टर्ब' गर्न सकेनन्।
पछिल्लो समय फिल्म 'अङ्ग्रेजी मिडियम'को ट्रेलर सार्वजनिक हुँदा खुशी थिए सुनील। समयको हिसाबले पन्ध्र मिनेट टाढा रहेका सुनीलका लागि ट्रेलरमा इरफानको अभिनय सन्देश बन्यो - 'अब स्वस्थ भयो' भन्ने।F
तर, देखेका सबै कुरा कहाँ सत्य हुन्छन् र?
अप्रिल २९ तारिख। दिउँसो खाना खाइसकेर आराम गरिरहेका थिए सुनील। हेटौंडामा रहेका कलाकार बिशारद बस्नेतले फोन गरे र भने – इरफान खान बित्नुभएछ।
त्यसपछि छाएको मौनता र अविश्वासले उनलाई टिभी अघिल्तिर पुर्यायो। न्युज च्यानल खोले। प्रस्तोता चिच्याइ चिच्याइ इरफानको शान्त स्वभावको बखान गरिरहेका थिए। टिभीबाट आवाज आइरह्यो – बलिउडले एक सशक्त अभिनेता गुमायो।
सुनील भने नजिक रहेको साथी गुमाउनुको शोकमा परे।
'एक पटक बोलेको भए हुन्थ्यो। फोन गर्नु पर्थ्यो मैले,' यति बोलिसक्दा एकोहोरिए सुनील, 'बढो गम्भीर आवाज थियो त्यसको। अब त कहिल्यै सुन्न पाइने छैन।'
इरफान विते, सुनीलको आँखा रसाउन छाडेका छैनन्। 'त्यसको हँसिलो अनुहार सम्झन्छु म। विशेषगरी आँखा सम्झन्छु। खुब एक्सप्रेसिभ आँखा थिए। सोचेको कुरो ठ्याक्कै झल्कने,' उनले भने।
+++
नेसनल स्कूल अफ ड्रामा (एनएसडी) मा सन् १९८४ मा भेट जुरेको हो सुनील र इरफानको। १९ जना विद्यार्थीको भिडमा एकअर्काको सहपाठीमात्र थिए उनीहरु। फरक भूगोलबाट रङ्गकर्मको भोक जगाउन आएका दुवै प्राय मौन रहन रुचाउने। त्यही मौन स्वभावले जोड्यो, सायद।
कम बोले। जति बोले त्यतिले बुझायो एकअर्का बीचको समानता। नजिक रहन सकिने कारणहरु भेटे। 'हरेक पटक सँगै काम गर्दा, कुराकानी हुँदा हाम्रा विचारहरु मिले, अभिनय र जीवनलाई हेर्ने दृष्टिकोण मिले,' सुनीलले भने, 'उसको विशेषता चाहिँ – सरल ढङ्गमा निकै गहिरा कुरा गर्थ्यो।'
पढाईको दोस्रो वर्ष सुरु भएपछि हो उनीहरु बीचको दुरी घटेको। त्यहाँ चार जनाको समूह बन्यो – सुनील, इरफान, सुतापा र सुमती। सबैलाई सोच्ने तरिकाले एक ठाउँमा बाँधेको ठान्छन् सुनील। त्यसैले त फरक देश, धर्म, जात र भाषा तगारो बनेन। निर्देशन, अभिनय, लेखन लगायत फरकफरक रुचीले पनि असर गरेन सम्बन्धलाई। बरु फरकपनको सम्मान गरिरहे। एकअर्काको कुरा सुने, सुनाए।
'नजिक हुनुको अर्थ सम्बन्धित मानिससँग हाँस्न, रुन सक्नु रहेछ। इरफान सीमित साथीहरुको बीचमा निकै फरासिलो। हामीले मिलेर राम्रा काम गर्यौं। थुप्रै बद्मासी पनि गर्यौं। तर उ सबैसँग त्यस्तो थिएन,' सुनीलले सम्झिए।
इरफान अभिनय नै गर्नेमा स्पष्ट थिए। रङ्गमञ्चमा बामे सर्दै गरेका उनमा फिल्मी पर्दासम्म पुग्ने हुटहुटी थियो। एनएसडीमा रहँदा नै हो, उनीएउटा वर्कसपमा सहभागी भए। सन् १९८८ को फिल्म 'सलाम बम्बइ'का लागि त्यही वर्कसपका सहभागीबाट केही कलाकार छानिएका थिए। इरफान पनि छानिए। एनएसडीको पढाई सकिनु र सलाम बम्बईको बहानामा उनी मुम्बई हान्निनु एकसाथ भयो।
सुनील भने पढाई सकेर नेपाल आए, रङ्गकर्मलाई नै निरन्तरता दिने योजनासहित।
'त्यसपछि दुई फरक दिशातर्फ गुडेको रेलजस्तै भयौं। सम्पर्क नै भएन। ऊ बलिउड सपना पूरा गर्न संघर्ष गर्न थाल्यो। यता मेरो अर्कै संघर्ष,' उनले सुनाए।
त्यसपछि सुनील र इरफानको स्वभावजस्तै शान्त रह्यो सम्बन्ध। इरफान बलिउड सपना बोकेर अनगिन्ती मानिसको भिडमा छिरे, आफ्नो ठाउँ बनाउन। सुनील निजी क्षेत्रमा रङ्गमञ्चको जग खन्न एक्लै उभिए। दुवै अवसर खोज्ने होइन बनाउने होडमा लागे। दुवै व्यस्त रहे।
केही वर्षपछि त 'चन्द्रकान्त','जय हनुमान', 'चाणक्य' लगायत टेलिश्रृङ्खलामा देखिन थाले। उनी अभिनित फिल्मबारे पनि सक्दो जानकारी बटुल्थे सुनील। तर, भेट र संवाद भएन।
सन् २००४ हो या २००५, साल याद छैन सुनीललाई। तर, भारतीय नम्बरबाट आएको त्यो कल अझै सम्झन्छन् उनी। त्यही 'बडो गम्भीर' आवाज गुञ्जिएको थियो फोनमा। इरफानले कतैबाट नम्बर खोजेर सम्पर्क गरेका थिए उनलाई। सुनीलका लागि ठूलो 'सर्प्राइज' बनेर बजेको त्यही घण्टीले करिब पन्ध्र वर्षपछिको पुनर्मिलन गरायो इरफानसँग।
वर्षहरु बित्दै गए। इरफान चिनिँदै गए, स्थापित भए। हलिउडसम्मको यात्रा तय गरे। तर, कहिल्यै एनएसडीमा हुँदाको इरफानभन्दा फरक पाएनन् सुनिलले। 'उसले कहिल्यै भुईं छाडेन। किनकि उसले आफैँलाई चिनेको थियो। आफ्ना गुण, दुर्गुण दुवैमा स्पष्ट थियो। सधैं आफूभित्रको गुणलाई जिताउन मिहेनत गर्यो,' सुनीलले भने।
इरफान निक्कै सामान्य जीवन बाँचे। धेरै सुने, कम बोले। तर, काम ज्यादा बोल्यो उनको। अभिनय गर्न त्यागेको ऐस, आरामबारे चर्चा गरेनन्। बम्बईमा बिताएका संघर्षशील दिनबारे खासै कुरा नै गरेनन्।
'चाहेको कुरा पाउन संघर्ष गर्नुपर्छ। त्यो सबैले गर्छन्। मैले पनि गरेँ भन्थ्यो,' सुनीलले सुनाए, 'उसलाई पनि गाह्रो त भयो होला। तर, त्यो 'फ्रस्ट्रेसन' पात्रको जीवन बाँच्नलाई साच्यो, सायद्।'
सुनील काठमाडौंमा बसेर अभिनयको भोक जगाइरहेकाहरुमा इरफानलाई देख्छन्। कामप्रति इमानदार, प्रतिवद्ध र अध्ययनशील विद्यार्थी पुस्ता देख्दा उनलाई एनएसडीका ती दिन याद आउँछ जुन यादहरुको एक मुख्य पात्रसँग अब चाहेर पनि भेट हुन सक्दैन।
+++
सन् २०१० मा यी दुई सहपाठीको फेरि भेट जुरेको थियो।
जनवरी महिनामा गुरुकुलको नाटक 'द डल्स हाउस' लिएर एनएसडीको वार्षिक महोत्सवमा पुगेको थियो सुनीलको टिम। त्यहीँ भेट जुर्यो इरफानसँग। 'पुन: एनएसडीको दिनहरु बाँचिरहेछौं जस्तै लाग्यो,' त्यतिखेरको भेट सम्झिए।
त्यही वर्ष नोभेम्बरमा हो गुरुकुलले 'काठमाडौं अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल' आयोजना गरेको। सुनीलले आफ्ना प्रिय मित्रलाई अतिथिका रुपमा निम्त्याए। बलिउडमा स्थापित इरफानले 'नाईं' भनेनन्।
'त्यस समय पनि उसलाई हेर्न आउनेहरुको भिड लागेको थियो,' सुनीलले सुनाए।
त्यसपछि भेट र सम्पर्कका लागि न व्यस्तता बहाना बन्यो न 'स्टारडम' नै।
तर, सन् २०१५ को भेट भने केही खास बन्यो। इरफानले उनलाई मुम्बई बोलाए, विशेष कामका लागि भन्दै। त्यहाँ पुगुन्जेल सुनीललाई थाहा थिएन, के थियो त्यो विशेष कारण?
एक भारतीय टिभी च्यानलले इरफानको बारेमा १ घण्टा लामो कार्यक्रमण निर्माण गर्दै रहेछ। कार्यक्रमका लागि इरफानको जीवनका सबैभन्दा नजिक र विशेष मानिसहरुलाई मुम्बई बोलाइएको थियो। उनको परिवारका केही, स्कूलको मिल्ने साथी, एनएसडीका प्रिन्सिपल लगायतसँगै एक विशेष अतिथि बनेर पुगेका थिए सुनील।
'खुशी अभिव्यक्त गर्न सकिँन। स्टुडियो भित्र उसका बारेमा बोल्दै गर्दा गर्विलो महसुस भएको थियो,' टल्पलाइरहेका आँखाको आँशु लुकाउन खोज्दै भने, 'खुब विशेष समय बाँचेको रहेछु मैले। त्यो नै हो हाम्रो अन्तिम भेट।'
झण्डै एक साता बसे उनी इरफानको घरमा। सुतापा र इरफान दुवैले छुट्टी लिएका थिए सुनीलका लागि। एनएसडीबाट निस्किएपछि सम्भवत त्यही थियो जीवन र सम्बन्धहरुमा आएका उतार चढावबारे कुरा गर्न मिलेको मौका।
बिस्तृतमा कुरा गर्नै नपाएको त इरफानको अस्वस्थताका बारेमा हो।
'ठीक भएपछि कुरा गर्ने भन्दाभन्दै सबैकुरा उल्टो चल्दियो। ठीक समय कहिल्यै आएन,' सुनीलले भने।
खबर सुनेदेखि स्तब्ध छन् सुनीलको दम्पती। उनको र इरफानको सम्बन्धबारे थाहा भएका धेरैले फोन गरे, सन्देश पठाए। सुरुमा त सोचे – सम्बन्ध भजाएर के गर्नु?
'तर भावना दबाएर राख्न सकिँदैन। कतै न कतै अभिव्यक्त भइहाल्छ। त्यस्तै भयो। मैले उसका बारेमा सोधिएका प्रश्नहरुको जवाफ दिएर आफैलाई एक्सप्रेस गरेँ,' उनले भने।
संयोग, विचार र विश्वासले जोडिएको एउटा साथी कतै टाढाको यात्रामा निस्किएका छन्। सुनीलले यस सत्यलाई स्वीकारेका छन्।
'अलि छिटो गयो। उससँग अभिनय क्षेत्रलाई दिनका लागि अझै धेरै कुरा थिए,' इरफानले बोलेको वाक्य सम्झिए उनले, 'बाटो खुल्दैछन्। अब चाहिँ काम गर्न मज्जा आउँछ।'
तर, बाटो त निर्धारित नहुँदा रहेछन्। जुन बाटो उनी हिँडे त्यसले उनको जिन्दगीसँग नजिक रहेकालाई मात्र होइन उनले बाँचेका पात्रहरुसँग नजिक रहेका हजारौंलाई दुखाएको छ।
'त्यसको आत्माले शान्ति पाओस्,' सुनील आँखा चिम्म गर्दै भने, 'धैरै कुरा गरेँजस्तो छ। यादहरु गुजुल्टियो। बिस्तारै खुल्दै जान्छन् अनि केही लेख्छु। एउटा कुशल कलाकारको बारेमा त धेरैले लेखी हाल्छन् नै। तर, म चाहिँ कुशल मित्रको बारेमा लेख्छु।'