PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट किट’ अभाव, ‘तत्काल व्यवस्था नगरिए कोरोना परीक्षण प्रभावित हुनसक्छ’



सुमित मिश्र

संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट किट’ अभाव, ‘तत्काल व्यवस्था नगरिए कोरोना परीक्षण प्रभावित हुनसक्छ’

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने किटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन किट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

समूहमा कोरोना परीक्षण गर्न आरडिटी प्रयोग गरिन्छ भने पिसिआर जाँचको लागि स्वाब संकलन गरेर एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउन भिटिएम किट प्रयोग हुन्छ। प्रदेश २ मा अहिले दुवै किटको अभाव भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाले जनाएको हो।

आरडिटी र भिटिएमको मौज्दात न्यून

सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाले जनाएअनुसार प्रदेशमा अहिले सय थान आरडिटी र करिब पाँच सय थान भिटिएम किट मात्र मौज्दातमा छ। आरडिटी भरपर्दो नरहेकोले जाँचलाई तिव्रता दिन तत्काल भिटिएम आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।

आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादवले आरडिटी करिब सकिसकेको र भिटिएमको मौज्दातसमेत न्यून रहेको बताए।

डा प्रमोद यादवले भने, ‘स्वास्थ्य सेवा विभागले बुधवार एक हजार थान भिटिएम किट पठाएको थियो त्यो प्रदेशभरका ८ वटै जिल्लामा पठाउने काम भइरहेको छ। र, यसमध्ये करिब आधि जति सकिइसकेकोले भिटिएमको तत्काल व्यवस्था गर्न नसकिए कोरोना परीक्षण प्रभावित हुनसक्छ।’

भिटिएम किटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको डा यादवले बताए। भिटिएम किटको अभाव भएपछि क्वारेन्टाइनमा बसेका कतिपयको समय पुगिसकेपनि रोकेर राखिएको उनको भनाइ छ।

चैत २९ गते पाँच हजार थान, वैशाख ५ गते दुई हजार थान र वैशाख २३ गते एक हजार थान आरडिटी किट पठाइएको थियो। यसैगरी संघीय सरकारले चैत १२ गते ४०, वैशाख १३ र २३ गते १/१ हजार थान गरी जम्मा २ हजार ४० थान भिटिएम किट पठाएको छ। वैशाख २३ पछि संघीय सरकारले प्रदेश २ लाई आरडिटी र भिटिएम पठाएको छैन।

सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका प्रवक्ता श्रवणकुमार नायकले सबैभन्दा बढी आरडिटी र भिटिएम किट रौतहट, बारा र पर्सा पठाइएको जानकारी दिए। तीनवटै जिल्लामा कोरोना संक्रमित फेला परेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भएकोले सबैभन्दा बढी किटहरु तीन जिल्लामा पठाउनु परेको प्रवक्ता नायकले बताए।

उनले भने, ‘अहिले मौज्दात रहेको किटले बढीमा ३ देखि ४ दिनमात्र धान्न सकिन्छ। प्रदेश २ को लागि हाल न्यूनतम २० देखि २५ हजार भिटिएम किट आवश्यक रहेकोले किट खरिद गर्न प्रदेश सरकारले प्रक्रिया शुरु गरिसकेको छ।’

उनले थपे, ‘अहिलेसम्म संघीय सरकारले पठाएको किटले परीक्षण भइरहेको छ, हामीले खरिद गरेका छैनौँ। प्रदेश सरकारले टेन्डर निकालिसकेको छ, सबै ठाउँमा किट उपलब्ध नभएकोले पनि समस्या भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell