PahiloPost

Sep 26, 2020 | १० असोज २०७७

तिनीहरुको कथा जो हरेक दिन अस्पतालको 'रेड जोन'मा खटिरहेछन्, कुचो र कोलिन बोकेर



स्वेच्छा राउत

तिनीहरुको कथा जो हरेक दिन अस्पतालको 'रेड जोन'मा खटिरहेछन्, कुचो र कोलिन बोकेर

हरेक दिन कलंकीदेखि टेकु हिँडेरै ओहोरदोहोर गर्छिन् सीता कुँवर। उनी हिँड्ने बाटोमै मन्दिरहरु पर्छन्। ती मन्दिरका सामुन्ने पुग्नासाथ उनी टक्क उभिन्छिन्। दुई हात जोडेर आँखा चिम्म गर्छिन्। र, पुकार्छिन् – 'कोरोना भाइरस यतिमै साम्य होस्। सबैलाई चाँडै ठीक होस्। सबै सुरक्षित रहुन्।'

टेकुस्थित सरुवा रोग अस्पताल काम गर्छिन् सीता। जब उनी अस्पतालको मुल गेटमा पुग्छिन् औषधीका राग मुखैमा ठोक्किन आउँछन्। त्यसपछि उनी बल्ल झस्किन्छिन्- 'ओहो! जोखिममा त हामी पो छौं। संक्रमितका सबैभन्दा नजिकमा हामी नै छौँ।‘

झस्कनुको अर्थ डराउनु भने होइन। उनको जिम्मेवारीले पनि डराउन निषेध गरेको छ। त्यसैले सरासर प्रशासन भवनको दोस्रो तलामा उक्लन्छिन्। त्यहाँ छ कोरोना संक्रमितका लागि 'आइसोलेसन वार्ड'। वार्डमा उनको भूमिका – कार्यालय सहयोगी।

त्यहाँ पुगेर ड्युटीको गाउन लगाउँछिन्। हातमा पन्जा, मुखमा मास्क र टाउकोमा सर्जिकल क्याप अनिवार्य छ। पावरवाला चश्मामाथि 'प्रोटेक्टिभ गगल्स' अड्याउन अप्ठ्यारो छ। तर, नलगाउन मन कहाँ मान्छ र? केही बेरमै बिरामीको सेवामा खट्नु पर्छ। बिरामी नभएको खण्डमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राख्नु त पर्‍यो।

नियमित गाउन वा पीपीई लगाएपछि हातमा कोलिन लिएर निस्कन्छिन् उनी। वार्डका सबै टेबल, सिसा, झ्याल, ढोका पुस्छिन्। सर-सामान मिलाएर राख्छिन्। त्यसपछि चिया पकाउनु पर्छ।

उनीसँगै कार्यालय छिर्छन् सुरेश देउला। उनको काम चाहिँ बडार्ने, भुईं पुछ्ने। पार्टेसन गरेर बनाइएको सेफ जोनदेखि रेडजोनसम्मका प्यासेज, आइसोलेसन, ट्वाइलेट सबै उनैले सफा गर्नुपर्छ।

त्यसैले उनी पनि पीपिई सेट लगाउँछन्। एउटा हातमा कुचो र अर्कोमा बाल्टिन बोकेर निस्कन्छन्। बाल्टीभित्र पानी र भुईं पुछ्ने कपडा हुन्‍छ। फिनेल, हर्पिक लगायतका बट्टाहरु बेग्लै।

टेकु अस्पतालको आइसोलेसन वार्डमा हातमा कुचो र फिनेल बोकेर संक्रमणविरुद्धको लडाइमा ‘फ्रन्टलाइन’मा उभिएका उनीहरुजस्ता ६ जना छन् जसले विरामी, चिकित्सक, नर्स लगायत सबैलाई संक्रमणको सम्भावनाबाट टाढा राख्ने जिम्मेवारी लिन्छन्। र, ‘सर सफाइ’मा सक्रिय रहन्छन्।

दैनिक ६ घण्टा ‘ड्यूटी आवर’ तोकिएको छ। राती पालो हुनेहरु १२ घण्टा खट्नुपर्छ। तर, कोरोना भाइरस संक्रमण फैलिए यता काम घण्टाको होइन आवश्यकताका आधारमा हुन थालेको छ।

'उस्तै परे अस्पतालमै बस्नुपर्ने हुनसक्छ। परे त्यो पनि गरौंला। किनकि हाम्रो काम नै यही हो। गर्दिन भन्न पाइँदैन,' सीताले भनिन्।

+++

२५ वर्ष भयो सीताले सरुवा रोग अस्पतालमा काम गर्न थालेको। समय र अनुभवले नै हो उनलाई यस्तो महामारीको परिस्थितिमा पनि सम्हालिने बनाएको। सुरुसुरुमा त उनलाई पनि खुब डर लाग्थ्यो।

‘सबै सरुवा रोग उपचार गराउन आउनेहरु हुने। आफैँलाई सर्छ कि भन्ने डर लाग्थ्यो। परिवार पनि डराउँथे,’ उनले सुनाइन्, ‘बानी पर्दै गयो। उपचार गर्ने डाक्टर नर्सलाई केही हुँदैन भने हामीलाई पनि केही हुँदैन भन्ने बुझ्यौं।'

सन् २००२ मा सार्सको आतंक थियो। नेपालको एक मात्र संक्रामक रोग उपचार केन्द्र टेकु त्यसका लागि तयार हुने नै भयो। प्रशासनदेखि स्वास्थ्यकर्मीको टोली तयारीमा जुट्यो। बिरामीको बेड, डस्टबिन, ट्वाइलेट, पानीको स्रोतदेखि अस्पतालको कुनाकाप्चासम्म पुग्नु पर्नेहरुको जिम्मेवारी थपियो।

पूर्व तयारीले बलियोगरी उभ्याएको थियो उनीहरुलाई। लक्षण मिल्दो बिरामीहरु आए। हरेक पटक परीक्षणको नतिजा नआउँदासम्म सबै डराउथे। धन्न! उस्तो भवितव्य आइपरेन। हुन त सार्सले धेरैतिर असर पुर्‍याएन पनि।

‘हरेक पटक कुनै संक्रमण फैलँदा हामीले सुरक्षाका लागि सक्दो तयारी गर्‍यौं। संक्रमणबारे बुझ्यौं। आत्तिनेभन्दा पनि बच्ने उपायहरु अपनायौं,’ उनले भनिन्।

सन् २०१४ मा इबोला भाइरसको संक्रमण सुरु भयो। अवस्था उस्तै। त्रास धेरै थियो। त्यसैले अस्पतालमा सतर्कता पनि बढाइएको थियो। तर, अहिलेजस्तो अवस्था त्यतिखेर पनि भएन।

डेंगीका बिरामीहरु चाहिँ हरेक वर्ष आउँछन्। उपचार गराउँछन्, फर्कन्छन्। डाक्टर, नर्स बाहेक कार्यालय सहयोगी र सरसफाइ कर्मचारी नै हो उनीहरुको नजिक रहने। ‘तर डेंगी पनि मेयरलगायत ठूला मान्छेलाई लागेपछि मात्र चर्चामा आयो। नत्र डेंगी उपचार गर्न आउने त कति हुन्छन् कति। बाहिर मानिस त्रसित हुँदा हामी भित्र सतर्क रहेर काम गर्‍यौं,’ अर्का सफाइ कर्मचारी रीता राउतले भनिन्, 'अनुभव थियो नि त।'

अनुभव त कोरोना भाइरसको थिएन। चीनमा अज्ञात रोग फैलियो भन्ने चर्चा यहाँ पनि चल्यो। तर, सोचेका थिएनन् महामारी बन्ला भन्ने। त्यसैले नेपालको पहिलो संक्रमित उपचार भएर फर्कँदासमेत कोही आतंकित थिएनन्।

+++

जनवरी १२ मा एक मानिस भर्ना भए, विशेष वार्डमा। उनलाई लगातार खोकी लाग्ने र श्वास प्रश्वासमा समस्या थियो। लक्षण ठ्याक्कै चीनमा फैलिएको रोगको जस्तै। वुहानबाटै छुट्टी मनाउन नेपाल फर्किएको थाहा पाएपछि भने उनलाई ‘कोरोना भाइरस’कै संक्रमण भएको अनुमान धेरैको थियो।

‘संक्रमण पुष्टि भएको थिएन। हामीले उनलाई अक्सिजन लगाउनदेखि उठबस् गर्न समेत सहयोग गरिसकेका थियौं। तन्ना पनि फेरिदिन्थ्यौं। पञ्जा र मास्क पनि बिरलै लगाउँथ्यौं। कहाँ पाउनु पीपीई?’, सीताले सम्झिइन्।

नेपालमा कोरोना भाइरस संक्रमणको परीक्षण थालिएको थिएन। हङकङ पठाइएको स्वाबको रिपोर्ट नआउँदासम्म अवस्था सामान्य रह्यो। विरामी पनि केही तङ्ग्रिए। तर, जब उनमा संक्रमण पुष्टि भयो त्यसपछि बेग्लै तरंग पैदा भएको थियो। चिकित्सक एवं अन्य स्वास्थ्यकर्मी समेत डराए। सहयोगी र सरसफाइकर्मी झन् किन नआत्तिउन्?

तर, डरभन्दा अगाडि काम रह्यो।

‘वर्षौदेखि रोगबाट जोगिन सिकेका छौं। जस्तो रोग फैलिए पनि एकछिन डराउने अनि काममा फर्कँने। बिरामीको छेउमा गएर त सान्तोना दिनुपर्छ। सबैकुरा ठीक हुन्छ भन्नुपर्छ,’ सीता आफ्नो अनुभव सुनाइन्।

कोरोनाको पहिलो केस पुष्टि भएपछि मात्रै हो – सरुवा रोग अस्पतालको विशेष वार्डलाई ‘आइसोलेसन’ बनाइएको। रेड र सेफ जोन विभाजन भएको पनि त्यसपछि नै भयो। रेड जोनमा बिरामीबाहेक डाक्टर, नर्स छिर्न पाउँथे, आवश्यकता अनुसार। पटकपटक पुग्नुपर्ने चाहिँ कार्यालय सहयोगी वा सरसफाइ कर्मचारी नै हो। किनकि विश्व स्वास्थ्य संगठनले नै भनेको थियो – सरसफाइमा विशेष ध्यान दिनु।

त्यसपछि हो उनीहरुले पनि सुरक्षा उपकरणको प्रयोग थालेको।

अस्पतालमा परीक्षणको नतिजा पर्खँदै गरेका बिरामीहरु खुब आत्तिएका हुन्छन्। उनीहरुको नजिक गएर आफन्त सरह बोलिदिन्छन् उनीहरु। संक्रमण पुष्टि भइसकेकाहरुको मनमा के बित्दो हो? तिनको नजिक पुगेर 'अहिले कस्तो छ?' सोध्ने पनि यिनै हुन् जो बेलाबेलामा हातमा कुचो, पुछ्ने कपडा वा कुनै औषधी बोकेर छिरिरहेका हुन्छन्।

महामारीका कारण हातमा फिनेल वा कोलिन मात्र नभइ अन्य जिम्मेवारी थपिएको महसुस गरेकी छिन् सहयोगी रीता राउतले।

'कोरोनाको औषधी पत्ता लागेको छैन। हाम्रो बोली नै हो बिरामीको भिटामिनदेखि औषधीसम्म। त्यसैले छेउमा पुगेर नबोली फर्कन मनै मान्‍दैन,' उनले भनिन्।

विरामीले हप्तौंदेखि नभेटेको आफन्त बन्न कोसिस गर्ने बताउँछिन् उनी। डरबीच आनन्द यस्तै सानासाना कोसिसहरुमा खोज्दैछन् उनीहरु।

संक्रमितको सेवामा खटिएकै कारण खेप्नु परेको बचनले भने नराम्ररी दुखाएको छ उनीहरुलाई।

'अरु बेलामा दिदी फर्कनुभयो? भनेर सोध्नेहरु मुन्टो बटार्न थाले। बोल्दैमा सर्छ जसरी,' सीताले अनुभव साटिन्।

रीतालाई त घर वरपरका मानिसले ‘टेकुमा काम गर्छेस्, तैंले नै बोकेर ल्याउने भइस् कोरोना’ समेत भनेछन्। विदेशमा रहेका आफन्तले दैनिक फोन गरेर भनेछन् – 'त्यहाँको काम तुरुन्त छाड्।'

ती सबैलाई सम्झाएर कहाँ साध्य लाग्नु?

‘मैले त फेसबुक नै बन्द गरिदिएँ। अहिले ढुक्क भएको छ,’ उनले हाँस्दै सुनाइन्।

४४ वर्षीय सुरेश देउलासँग चाहिँ कस्तो अनुभव होला? थाहा छैन। उनको श्रवण शक्ति कमजोर छ। बोली पनि प्रष्ट छैन। तालिका अनुसार आउँछन्। पीपीई सेट लगाउँछन् अनि आइसोलेसन वार्डलगायत रेड जोनको कुनाकाप्चा सफा गर्न थाल्छन्, एकोहोरो।

काम सकिएपछि नुहाउँछन्। लुगा फेर्छन् र फर्कन्छन्। उनले बाहिरका मानिससँग कस्तो आरोप खेप्नुपर्छ त्यो पनि थाहा छैन।

यसरी खटिनेहरु प्रायको थ्रोड स्वाब परीक्षण भइसकेको छ। नतिजा - नेगेटिभ। त्यसैले ढुक्क भएर काम गरिरहेका छन्।

+++

दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ भर्ना भएर आउँदा अस्पतालको बगैंचामा फूलहरू फक्रन भर्खरै सुरु गर्दै थिए। प्रसिद्धी भने अध्यारो आइसोलेसनमा पुगिन्। त्यहाँबाट घाम, फूल र मानिसहरु केही देखिँदैन। त्यहाँ उनले शारीरिक, मानसिक उतावचढाव भोगिन्। ती अप्ठ्यारा अवस्थाको प्रत्यक्षदर्शी बनेका थिए सीता, रीता, सुरेश लगायतका कर्मचारीले।

जे देखे त्यसभन्दा ठीक फरक खबरहरु छाएका थिए, सामाजिक सञ्जालमा।

सीताले त धेरैलाई ती खबर नपत्याउन आग्रह समेत गरेकी रहेछिन्।

'तर, हाम्रो कुरा कसले सुन्ने? कसले पत्याउने?,' सीताले भनिन्।

मानिसले सुनेनन्। आफूले ढोग्ने ती देउताहरुले चाहिँ पुकार सुनेको विश्वास राख्छिन् उनी।

'प्रसिद्धी ठीक भइन्। औषधीबिनै जितिन्। आफन्त सरह स्याहारेको मानिस ठीक भएर निस्कँदा साह्रै खुशी लाग्दो रहेछ। आँखाबाट खुशीको आँशु झर्‍यो,' सीताले सफलताको कथा हालिन्।

उनको मनमा घरीघरी प्रश्न भने खेल्थे – आफूले आफ्ना सम्झेको, ख्याल राखेको यी विरामीहरुले बाहिर निस्किएर चिन्लान् या नचिन्लान्? किनकि उनीहरु त पीपीई सेटको भाइजर, मास्कदेखि गगल्ससम्म लगाएरमात्र उनीहरुको छेउमा पुगेका हुन्छन्।

तर, प्रसिद्धीले निस्किँदै गर्दा मीठो मुस्कान साटिन्। सीताले बगैंचामा फक्रेको केही फूल टिपिन्। गुच्छा बनाइन् र प्रसिद्धीलाई दिइन्। उनीहरुले एकअर्काको हात समाउन पाए, अंगालो मार्न पाए। संक्रमणमुक्त हुनुको खुशी साट्न पाए।

'भर्खरै काम सुरु गरेकाहरुले त अझै धेरै भोग्लान्। तर, म त केही वर्षमै रिटायर्ड हुन्छु। महामारीबीच संगालेको यो अनुभव कहिले पाउँला र?,' सीताले प्रश्न गरिन्।

९ जना नर्स र ६ सहायक कर्मचारीका इन्चार्ज रहेकी बेली पौडेलले आफ्नो टिमप्रति प्रतिवद्ध छिन्। 'डाक्टर र नर्सले गर्नेबाहेक सबै काम उहाँहरुले नै गर्नुपर्छ। तर पनि सधैं उर्जावान्,' बेलीले भनिन्।

बिदा, सेवा सुविधा केहीमा पनि चित्त दुखाई छैन यी कर्मचारीको। गुनासो यति मात्र हो – संक्रमणको जोखिम मोलेरै खटिँदा पनि यस कामको सम्मान हुँदैन। तक्मा दिँदा पनि तल्लो तहको दिइन्छ।

'हाम्रो पनि जिन्दगी जोखिममै हुन्छ। हाम्रा पनि अनुभव हुन्छन्। तर पनि हाम्रो गन्ती बिरलै हुन्छ,' सीताले भनिन्, 'सुरक्षित त छस् नि? भनेर सोध्नुको साटो भाइरस बोकेर आइस् कि? भनेर सोध्छन्। जिस्केकै भए पनि त्यस्तो वचनले दुखाउँछ। अरु त सबै ठीकै छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell