PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लकडाउनमा अपराध : प्रदेश २ मा ११ जनाको हत्या, १७ वटा बलात्कारका घटना



सुमित मिश्र

लकडाउनमा अपराध : प्रदेश २ मा ११ जनाको हत्या, १७ वटा बलात्कारका घटना

जनकपुरधाम : लकडाउन सुरु भएदेखि प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन्। प्रदेश नम्बर २ को प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ। महोत्तरीमा दुई, सप्तरी, धनुषा, रौतहट र बारामा एक/एक जनाको हत्या भएको छ।

सो अवधिमा ११ जनाको हत्या प्रयास भएको छ। धनुषामा तीन, सर्लाहीमा तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एक/एक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ। सो अवधिमा भवितव्य ज्यानमा ३२ जाहेरी परेका छन्। अन्य ज्यानसम्बन्धी कसुरका पाँचवटा जाहेरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कहाँ र कसरी भयो हत्या?

वैशाख ७ गते राति धनुषाको शहीदनगर नगरपालिका-९ बिर्ता निवासी सौंखी सदालाई उनकै २९ वर्षीय छोरा नथुनीले खन्ती प्रहार गरी हत्या गरे। नथुनीले ५५ वर्षीय पिता सौंखीसँग रकम मागेका थिए, सोही विषयमा विवाद हुँदा नथुनीले आफ्ना बुवा सौंखीको टाउकोमा खन्ती प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। एकै पटकको खन्ती प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

वैशाख ७ गते राति नै रौतहटको कटहरिया नगरपालिका-१ भसेडबामा २५ वर्षीय संजीव रायलाई केही व्यक्तिले कुटपिट गर्दा मृत्यु भयो। राति ९ बजेतिर एक समूहका साथ घर नजिकैको टोलमा घुम्न गएका बेला उनलाई उनकै समूहका केही व्यक्तिले लालबकैया नदी किनारमा लगेर कुटपिट गर्दा मृत्यु भएको थियो।

वैशाख ८ गते पर्साको वीरगंज महानगरपालिका २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव हत्या गरिएको अवस्थामा वीरगंजको सुख्खा बन्दरगाहाको टाउन प्लानिङ्ग क्षेत्रमा फेला परेको थियो। बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि गाउँमा जानकारी गराएका थिए।

त्यसअघि, चैत ३० गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित सडक छेउमा स्थानीय १७ वर्षीय सुरज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उनलाई उनकै साथीले टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै आइतवार (हिजो) मात्रै महोत्तरीको गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको छ। ४५ वर्षीय उनको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा चिर्पट प्रहार गरी हत्या गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

५७ जनाले गरे आत्महत्या

लकडाउन जारी भएपछि डेढ महिनाको अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ।

यी दुई जिल्लामा १०/१० जनाले आत्महत्या गरेका छन्। धनुषामा ९, सर्लाहीमा ७, रौतहटमा ७, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले गरी ५७ जनाले आत्महत्या गरेका हुन्।

१७ वटा बलात्कारका घटना

लकडाउनको अवधिमा मात्रै प्रदेश २ मा १७ जनाको बलात्कार भएको तथ्यांक छ। प्रहरीको तथ्यांकमा यो अवधिमा १७ वटा बलात्कार र दुईवटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौन दुराचारको घटना भएको छ।

बलात्कारका सबैभन्दा धेरै बारामा ५ वटा घटना भएका छन् भने सर्लाहीमा ३, सिरहा, धनुषा र रौतहटमा २/२ तथा सप्तरी, महोत्तरी र पर्सामा १/१ वटा गरी १७ वटा बलात्कारको घटना भएको प्रहरीले जनाएको छ। महोत्तरी र बारामा एक/एक वटा बलात्कार प्रयासका घट्ना भएका छन् भने सर्लाहीमा एउटा बाल यौनदुराचार सम्बन्धी मुद्दा परेको छ। बारा जिल्लामा जबर्जस्ती करणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

लागूऔषध कारोबार

लकडाउनको अवधिभित्र प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन्। रौतहटबाहेक सातवटा जिल्लाबाट लागूऔषधसहित केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा छ। सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २/२ वटा मुद्दा दर्ता भएका छन्।

सामाजिक अपराध सम्बन्धी ८४ वटा मुद्दा दर्ता

प्रदेशमा लकडाउनको समयमा पनि सामाजिक अपराध रोकिन सकेको छैन। सामाजिक अपराध अन्तर्गतका विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाका अनुसार केही सार्वजनिक अपराधमा २८ वटा, सार्वजनिक शान्तिविरुद्वको अपराधमा २२ वटा, सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीतको कसुरमा ३१ वटा, अभद्र व्यवहारमा २ वटा तथा कुटपिट अंगभंग शीर्षकामा एउटा मुद्दा दर्ता भएको छ। केही सार्वजनिक अपराध शीर्षकमा रौतहटमा १०, धनुषामा ८, सिरहामा ७, सप्तरीमा २ र महोत्तरीमा १ वटा दर्ता भएको छ।

त्यस्तै, सार्वजनिक शान्तिविरुद्वको अपराध सम्बन्धी सबैभन्दा धेरै पर्सामा १४, धनुषामा ६ तथा सर्लाही र रौतकटमा १र१ वटा मुद्दा दर्ता भएको छ। सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीत कसुरमा बारामा २९ र पर्सामा २, अभद्र व्यवहार शीर्षकामा सर्लाहीमा २ र कुटपिट अंगभंग मुद्दा सप्तरीमा एउटा मुद्दा दर्ता भएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले लकडाउनको समयमा बालबालिकालाई एकान्त कुनामा जान नदिन, कसैलाई विश्वास नगर्न, घरपरिवारसँगै बस्न, आपराधिक कृयाकलापमा नलाग्न सुझाव दिएका छन्। कसैले अपराध गर्न लागेको थाहा पाए लगत्तै प्रहरीको सहयोग लिन आग्रह गर्दै उपरीक्षक सापकोटाले १०० मा फोन गरेर सूचना दिन सबैसँग आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell