PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट कीट’को स्टकडाउन



सुमित मिश्र

संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट कीट’को स्टकडाउन

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने कीटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन कीट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

समूहमा कोरोना परीक्षण गर्न आरडीटी प्रयोग गरिन्छ भने पीसीआर जाँचको लागि स्वाब संकलन गरेर एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउन भिटिएम कीट प्रयोग हुन्छ। प्रदेश २ मा अहिले दुबै किसिमका कीटको अभाव भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाले जनाएको हो।

आरडीटी र भिटिएमको स्टकडाउन

सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाले जनाएअनुसार प्रदेशमा अहिले आरडीटी र भिटिएम कीटको पुरै स्टकडाउन भएको छ। आरडीटी भरपर्दो नरहेकोले जाँचलाई तिव्रता दिन तत्काल भिटिएम आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। आपूर्ति महाशाखाका प्रवक्ता श्रवणकुमार नायकले आरडीटी र भिटिएम किट दुवै सकिसकेको बताए। भिटिएम कीटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको देखिएको छ। भिटिएम कीटको अभाव भएपछि क्वारेन्टाइनमा बसेका कतिपयको समय पुगिसके पनि रोकेर राखिएको प्रवक्ता नायकले बताए। चैत २९ गते पाँच हजार थान, वैशाख ५ गते दुई हजार थान र वैशाख २३ गते एक हजार थान आरडीटी कीट यहाँ पठाइएको थियो।

यसैगरी संघीय सरकारले चैत १२ गते ४०, वैशाख १३ र २३ गते एक/एक हजार थान गरी जम्मा २ हजार ४० थान भिटिएम कीट पठाएको छ। वैशाख २३ पछि संघीय सरकारले प्रदेश २ लाई आरडीटी र भिटिएम पठाएको छैन। सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका प्रवक्ता नायकले सबैभन्दा बढी आरडीटी र भिटिएम किट रौतहट, बारा र पर्सा पठाइएको जानकारी दिए। तीनवटै जिल्लामा कोरोना संक्रमित फेला परेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भएकोले सबैभन्दा बढी कीटहरु तीन जिल्लामा पठाउनु परेको प्रवक्ता नायकले बताए। प्रवक्ता नायकले भने ‘स्टोरमा कीट सकिसकेको छ, पीसीआर मेसिनसहित १० हजार नयाँ कीट किन्न चाँडै सम्झौता गरेर टेन्डर निकालेर किन्ने प्रक्रियामा जान्छौ हामी।’ एक हजार दुई सय पीसीआर कीट किन्न अनलाइनबाट अडर भईसकेकोले एक हप्ताभित्रै उक्त कीट आइपुग्ने नायकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell