PahiloPost

May 26, 2020 | १३ जेठ २०७७

लकडाउनमा जोखिम मोल्दै पोखरेली सर्प संरक्षणकर्मी! के पाउँछन् र उद्धार गर्छन् यिनले?



लकडाउनमा जोखिम मोल्दै पोखरेली सर्प संरक्षणकर्मी! के पाउँछन् र उद्धार गर्छन् यिनले?

  • राजु आचार्य -

गत वर्ष उद्धार गर्ने क्रममा सेती नागले  फालेको  विष रोहित गिरीको आँखामा पर्‍यो। उनीसँग सुरक्षा उपकरणहरू केही पनि थिएन। यस्तो बेला सर्प समाउने हर्पो स्टिक, पन्जा, चस्मा, सर्प राख्ने कटनको बलियो झोला आदि चाहिन्थ्यो। मोबाइलमा मानिसले छिटो आउन अनुरोध गरेका थिए। उनी बाहिर थिए। त्यतैबाट उद्धार गर्न गएका थिए। बिषले आँखा पोलेपछि दुई दिन अस्पताल भर्ना हुनु पर्‍यो। धन्न उनको आँखा /जीवन तलमाथि भएन। पोखराका महेन्द्र कतिला पनि सर्पले टोकेर ३ पटकसम्म अस्पताल भर्ना भएका छन्। उनलाई पनि मानसिक तनावबाहेक धन्न केही भएन।

पोखरामा पाइने सबै सर्पहरू बिषालु मात्रै छैनन्। कतिपयले टोकेमा ज्यानै सम्म जान सक्ने खालका पनि छन्l राज गोमन तिनै मध्येको एक हो। धन्न अहिलेसम्म पोखरामा  यो सर्पले टोकेर मानिस मरेको अभिलेख भेटिएको छैन।

पोखरामा थुप्रै सर्प संरक्षणकर्मी तथा उद्दारकर्ताहरु छन् ।मैले तिनै मध्येका एक रोहितलाई सोधे ‘आखिर किन उद्धार गर्नु हुन्छ ? आफ्नो खल्तीको खर्च गरेर, सर्पको उद्धार गरेर के पाउनु हुन्छ तपाईँले?’   

उनी भन्छन् ‘सर्प पनि जोगिन्छ र मान्छे पनि ।हामीले सर्प उद्धार गरे पछि ती बोलाउने व्यक्तिको अनुहारमा हेर्नुपर्छ आनन्द आउँछ’। सानो शरीरका रोहित आफ्ना भाइ रोशन गिरीसँग धेरै भेटिन्छन् ।यी दुई दाजुभाइ चर्चित छन् ।यिनीहरूले बनाएका भिडिओ पनि युट्युबमा रुचि पूर्वक हेरिन्छन् ।  उनले भर्खर हालेको काली नाग उद्धार सम्बन्धी भिडिओ २ लाख बढीले हेरी सकेका छन् ।उनीहरू लगाएत अन्य सर्प संरक्षणकर्मी र उद्दारकर्मीहरु  ‘सर्प संरक्षण समाज नेपाल ’सँग आबद्ध छन्।

अहिले रोहितसँग ऋषि बराल पनि उद्दारका लागि हिँड्छन्। लकडाउनको बेला डिभिजन वन कार्यालयको सहयोगमा उनले पास बनाएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका सूचना अधिकारी एवं संरक्षण अधिकृत उनी सर्पसहित सबै वन्यजन्तुको उद्दारमा उत्तिकै सक्रिय रहन्छन्। उनी, रोहित र रोशन मिलेर लकडाउन अवधिमा मात्र पोखरा आसपास ६७ वटा सर्पको उद्धार भई सकेको छ।

ह्याङ्ग्जाका अर्का संरक्षणकर्मी केशव सापकोटा पनि लामो समयदेखि सर्प उद्धारमा संलग्न छन्। उनी भन्छन् ‘मानिसलाई सर्पबाट  जुन त्रास हुन्छ त्यसलाई न्यून गर्न उद्धार गर्न थालिएको हो। पहिला पहिला त सर्प चिन्थेन। अहिले भने यिनको प्रजातिलगायत यिनको बारेमा थाहा भएपछि झन् व्यवस्थित भएको छु। म उद्धार मात्र गर्दिन, उद्धार गरिएको सर्पबारे स्थानीय समूहलाई जानकारी पनि गराउँछु। अहिलेसम्म निशुल्क रूपमा यो काम हुँदै आएको छ’। लकडाउनको बेला उनले  पनि  ८ वटा सर्पको उद्धार गरेका छन्।

 ‘सर्प संरक्षण समाज नेपाल’का अध्यक्ष महेन्द्र कतिला भन्छन्, ‘सर्पलाई बचाउन पाउँदा जुन आत्म सन्तुष्टि पाइन्छ त्यो अरू बाट पाउँदिनl सर्प समाउन जाँदा मानिसले हाम्रा कुराहरू सुन्छन् पनि। सर्पको फाइदाबारे स्थानीय समुदायलाई भन्न पाउँदा खुसी लाग्छ।’

पृथ्वी नारायण बहूमुखी क्याम्पसमा प्राणी शास्त्र विषयका लेक्चर रामजी गौतम पनि सर्प भनेपछि हुरुक्कै हुन्छन। बिहान, साँझ समय मिलाएर सर्प उद्धारमा हिडीरहन्छन्। अहिले चलिरहेको सर्प उद्धारको काममा उनको भने फरक मत रहेको छ। उनी भन्छन्, ‘युट्युबमा भिडिओ राख्दा सर्वसाधारणलाई सर्प मार्न हुन्न  भन्ने र खबर गर्दा कोही  उद्धार गर्न आउछन् भन्ने सन्देश त गएको छ तर सर्प त सजिलै ह्यान्डल गर्न सकिदों रहेछ भन्ने सन्देश पनि गएको छ। भोलि कुनै घटना घट्यो भने को जिम्मा हुन्छ?' हामीले चटक देखाएझैँ धेरै बेरसम्म सर्पलाई ह्यान्डल गर्न हुँदैन। कसरी उद्धार गर्ने भन्ने मापदण्डहरू हुनु आवश्यक छ। यसको लागि उद्धार कर्ताहरूबीच छलफल हुन् आवश्यक हुन्छ’। त्यसैगरी पोखराका आकाश भण्डारी पनि लामो समयदेखि सर्प उद्धारमा लागेको नाम हो।

सबै सर्प उद्धारकर्ताहरु जुनसुकै बेला पनि तयारी अवस्थामा रहिरहन्छन्। निशुल्क रूपमा गर्ने यिनको सेवाको कारणले अहिलेसम्म हजारौँ सर्पहरूले नयाँ जीवन पाएका छन्। सायद केही मानिसले पनिl पोखरा उपत्यकामा लकडाउनको अवधिभर करिब १०० वटा सर्पले जीवनदान पाएका छन्।

मानिस र सर्पबीच लामो समयदेखि द्वन्द्व छ। यसलाई  कम गर्ने तर्फ स्थानीय, प्रदेश  र सङ्घीय सरकार भने मौन छन्। सञ्चार, यातायात, बीमा  र केही अति आवश्यक उद्धार सामाग्रीहरू मात्रै पनि व्यवस्थापन गर्ने हो भने भविष्यमा अझै थुप्रै सर्पले नयाँ जीवन पाउने थिए। जबसम्म सर्प उद्धार गर्नेहरू सुरक्षित हुन्छन तबसम्म मात्र यिनले सर्पको उद्धार गरिरहन्छन्। सधैँ आफ्नो निजी लगानीमा गरिने उद्धार कार्य दिगो हुन सक्दैन।

तर सर्प उद्धार गर्ने भन्दै चटक देखाउने, लामो समय हातमा खेलाउने, घाँटीमा बेर्ने, सर्वसाधारणमा सर्प सजिलै समात्न सकिन्छ भन्ने भ्रम छर्ने, प्राकृतिक वासस्थानमा समातेर उद्धार गरेको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने जस्ता क्रियाकलापहरू पनि पछिल्लो समयमा बढ्दै गएको छ। यसको समाधानको लागि गौतमले भने जस्तो सबैको गोलमेच छलफल हुनु आवश्यक भई सकेको छ।

अति बिखालु सर्प समेतलाई सहजै उद्धार गर्न खप्पिस पोखराका  उद्धारकर्मीहरू तथा संरक्षणकर्मीहरुलाई  नमन।

सम्बन्धित समाचार

सर्प देख्‍ने बित्तिकै सातो जाने किन? सर्पका १६ रमाइला तथ्य

‘लुरे’सँगै सर्पको उद्धार यात्रा : हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell