PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सप्तरीका १८ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ



सुमित मिश्र

सप्तरीका १८ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

जनकपुरधाम : कोरोना भाइरस संक्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पीसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कोभिड-१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

यसैगरी, डाकनेश्वरी नगरपालिका-५ पातोस्थित क्वारेन्टाइनमा संक्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उनले बताए।

निमित्त प्रमुख यादवका अनुसार मंगलवार उनीहरुको स्वाब संकलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ। स्वाबको रिपोर्ट नेगेटिभ आए पनि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता क्वारेन्टाइनमै राखिने जनाइएको छ। लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell