PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सीमामा लगाइयो बार



सुमित मिश्र

भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सीमामा लगाइयो बार

जनकपुरधाम : लुकीछिपी सीमा क्षेत्रबाट आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा बार लगाउन थालिएको छ। जिल्लाको भारतसँग सीमा जोडिएको ३८ दशमलव ६ किलोमिटर दुरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न बार लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर बार लगाइन थालिएको छ।

जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ। सो सीमा क्षेत्रसँग भारतको मधुवनी र सीतामढी जिल्ला जोडिएका छन्।

‘मधुवनी र सीतामढीमा कोभिड–१९ को संक्रमण बढ्दै गएको समाचार र भारतले रेलसेवा सञ्चालन गरेको समाचार आएसँगै लुकीछिपी भित्रिनेको संख्यासमेत बढ्ने भएकाले घेराबेरा लगाउन शुरु गरिएको हो’, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ।’

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासन महत्तरीले जनाएको छ। पछिल्लो पटक महोत्तरी र धनुषामा भेटिएका संक्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै नेपाल छिरेका पाइएको छ।

जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिन्छ।

सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पुर्‍याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन्।

स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला सचिव सौखीलाल यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell