PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के सुत्केरी महिला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?



स्वेच्छा राउत

के सुत्केरी महिला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?
PHOTO : ENDROCINEWEB/ISTOCK

काठमाडौं :  विहीवार धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भयो। सन्तान जन्माएको ९ दिन पछि श्वासप्रश्वासमा समस्या देखिए पछि उनलाई त्यहाँ पुर्‍याइएको थियो। अस्पताल पुगेको छोटो समयमा नै उनको मृत्यु भयो।

शनिवार तिनै महिलाको स्वाब परीक्षणको नतिजा आयो। जसले मृतक महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गर्‍यो।

समाचार सार्वजनिक भए – 'धुलिखेल अस्‍पतालमा कोरोना संक्रमित महिलाको निधन।'

सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा उनको सुत्केरी अवस्था र मृत्युलाई जोडेर चर्चा भए। हालसम्म कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको र तीमध्ये कसैको पनि मृत्यु भएको थिएन। त्यसैबीच ती महिलाको मृत्युसँग जोडेर प्रश्न उठ्यो – के गर्भावस्था वा सुत्केरी अवस्थामा रहेका महिला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार हालसम्म सामान्य मानिसभन्दा गर्भवती उच्च जोखिममा हुने तथ्य प्रमाणित भइसकेको छैन। कोषले सार्वजनिक गरेको जानकारी अनुसार गर्भवती अवस्थामा महिलाको शारिरीक र प्रतिरक्षा प्रणालीमा भने परिर्वतन आउने भएकोले श्वासप्रश्वास प्रणालीमा नराम्ररी असर पर्न सक्छ।

लेखिएको छ,'कोभिड–१९ को सामान्य लक्षणहरु जस्तै ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ।'

नेपालमा मृत महिला सुत्केरी भइसकेपछि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको हो।

'श्वासप्रश्वासमा समस्या देखिँदैमा कोरोना भाइरसकै संक्रमण भएको हो भन्न मिल्दैन। एक महिला संक्रमित रहेछिन् भने पनि सबै सुत्केरी महिला उच्च जोखिममा हुँदैनन्', महिला रोग विशेषज्ञ एवं थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग प्रमुख निर्देशक जागेश्वर गौतमले भने।

उनले गर्भावस्थामा वा सुत्केरी महिलामा प्रतिरक्षा क्षमता केही परिवर्तन हुने भएकाले गर्भावस्थादेखि सुत्केरी भएको अवस्थासम्ममा आम मानिसजस्तै सतर्क र सावधान भने रहनु पर्ने तर्क राखे। भने,'लक्षण देखिएको खण्डमा भने परीक्षण आवश्यक हुन्छ। परीक्षणपछि संक्रमण देखिए सम्भावित जटिलता परै राख्न सकिन्छ।'

कस्तो पर्छ नवजात शिशुलाई असर?

विश्व स्वास्थ्य संगठनले गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण देखिए पनि त्यसले बच्चालाई असर नगर्ने जनाएको छ। संगठनका अनुसार संक्रमित महिलाले पनि 'नर्मल डेलिवरी' गराउन सक्छिन्।

त्यस्तै संक्रमित आमाले नवजात शिशुलाई आवश्यक सुरक्षा उपकरणको प्रयोगमा स्तनपान गराउन समेत सक्छिन्। बच्चालाई स्तनपान गराउनु अघि नाक, मुख मजाले ढाक्ने, छुनुअघि र छोइसकेपछि हात साबुन पानीले मजाले धुने लगायत सतर्कता अपनाउनु पर्दछ।

थापाथली अस्पतालमा गर्भावस्थामा वा प्रसुतिका लागि आएका महिलाहरुमा पनि कोरोना भाइरस संक्रमणसँग मिल्दो लक्षण देखिएको अवस्थामा स्वाब परीक्षणका लागि पठाइएको निर्देशक जागेश्वर गौतमले बताए। भने,'अस्पतालमा उच्च सतर्कता र सावधानी अपनाएका छौं। सामान्य परीक्षणका लागि आउनेलाई पनि आवश्यक सुरक्षा उपाय अपनाउन भनिरहेका छौं।'

प्रसुति गृहमा उपचाररत् महिलाहरुमा लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि पठाइएका छन्। हालसम्म सबैको नतिजा नेगेटिभ आएका छन्।

के भन्छ अन्तर्राष्ट्रिय अध्‍ययन?

द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार गर्भवती एवं आम मानिसलाई कोरोना संक्रमणको सम्भावना अरु मानिस सरह जस्तै हुन्छ। तर, कोरोना संक्रमित महिलालाई कोरोना भाइरस संक्रमण भएको खण्डमा समय अगावै बच्चा जन्माउन सक्छन्।

हालसम्म सयौं संख्यामा कोरोना प्रभावित प्रसुतिको 'केस' दर्ता भएका छन्। डाक्टर तथा नर्सहरु भने कोरोना संक्रमण गर्भवतीका लागि 'सार्स' जस्तो घातक नभएको बताउँछन्। सार्सले संक्रमितमध्ये एक चौथाइ गर्भवतीको ज्यान लिएको थियो।

उक्त अध्ययनको प्रतिवेदनमा जनाए अनुसार गर्भवती महिला संक्रमित भए पनि कुनै लक्षण नदेखिन सक्छ।

युनिभर्सिटी अफ अक्फोर्डकी मरिन नाइटसहितका अनुसन्धानकर्ताहरुले पनि माथिको निष्कर्षमा सहमति जनाएका छन्। तर, केही गर्भवती महिलाहरुमा उच्च ज्वरो र मृत्युसम्मको नतिजा देखिएको छ। उनीहरुले बेलायती अस्पतालका ४२७ गर्भवती महिलामाथि अनुसन्धान गरेका थिए जसमध्ये तीन जनाको मृत्यु भएको थियो भने ९ जनाको अवस्था गम्भीर थियो। जोखिममा नहुने निष्कर्ष निकालेका छन्

संक्रमणले जन्‍ममा भने असर पार्ने देखिएको छ। २ सय ४७ महिलामा ६३ जनाले समय मगावै बच्चा जन्माएका थिए।

नाइटको अध्ययनमा संक्रमित आमाबाट जन्मिएका २० नवजातमध्ये १ मा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो। त्यस्तै ५ नवजात शिशुको भने मृत्यु भएको थियो। मृत्यु भएका पाँचमध्ये तीनको मृत्यु कोरोना भाइरससँग सम्बन्धित छैन। दुईमा पनि संक्रमण अनुमान मात्र गरिएको हो।

कोरोना संक्रमित गर्भवतीमा गर्भपतन र मृत बच्चा जन्मिने समस्या पनि देखिएका छन्। तर, संक्रमणकै कारण त्यस्तो नतिजा देखिएको पुष्टि भने भएको छैन। किङ्ग्स कलेज लण्डनकी अनुसन्धानकर्ता एन्ड्र्यु सेन्ननले भनिन्,'अवस्थाको स्पष्ट चित्र पत्ता लगाउन मुस्किल छ।'

कोरोना भाइरस संक्रमण गर्भसम्म पुग्न सक्ने जनाइएको छ।

एक सय ८ महिलामा गरिएको अर्को अनुसन्धानमा कोभिड-१९ संक्रमित ९१ प्रतिशत महिलाहरुको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell