PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक नै संक्रमित भएपछि ब्यारेक सिल, २ हजार सैनिक जोखिममा



सुमित मिश्र

सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक नै संक्रमित भएपछि ब्यारेक सिल, २ हजार सैनिक जोखिममा

जनकपुरधाम : कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।

सेनाका ती चिकित्सक प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संदिग्ध ब्यक्तिहरूको स्वाब संकलनका लागि जाने गरेको खुलेको छ। यससँगै नेपालमा स्वाब संकलन गर्न जाने पहिलो व्यक्तिमा संक्रमण देखिएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले संक्रमित दुवै जनालाई शनिवार नै काठमाडौं पठाइएको र सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार शनिवार साँझ ६ बजे दुवैलाई सेनाको गाडीमा राखेर काठमाडौं पठाइएको थियो।

‘वीरगंज, जनकपुरसहित विभिन्न जिल्लाका क्वारेन्टाइनमा उक्त चिकित्सक तथा पृतनापति पनि जानु भएको रहेछ,’ सिडिओ खत्रीले भने, ‘उहाँहरूको कन्टयाक्ट ट्रेसिङको काम शुरू गरेका छौं।’

ब्यारेक सिल

पृतनापति र चिकित्सकमै कोरोना देखिएपछि अवस्थित मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ। ‘सेनामा आफैं पनि कडा अनुशासन हुन्छ,’ प्रजिअ खत्रीले भने, ‘ब्यारेकभित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ।’

त्यसबाहेक ब्यारेकभित्र पनि रहेका सेनालाई सामाजिक दूरी कायम गर्न भनिएको उनले बताए।

स्वाब संकलन गर्न जाने सेनाका चिकित्सकमा नै कोरोना संक्रमण भएका कारण सिंगो प्रदेश नै उच्च जोखिममा परेको प्रजिअ खत्रीले बताए। साथै संक्रमित पृतनापति पनि वीरगंजदेखि जनकपुरसम्म आउजाउ गरेका कारण जोखिम बढेको छ।

ब्यारेकमा रहेका एक सैनिकका अनुसार ब्यारेकभित्रका सबै सेनाहरू त्रसित भएका छन्। पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेकभित्र नै धेरै सैनिकहरु आएको कारण पनि ब्यारेकभित्र त्रासको अवस्था सिर्जना भएको हो। उक्त पृतनाभित्र करिब २ हजार सेनाका कर्मचारीहरू छन्।

सिडिओ खत्रीका अनुसार त्यहाँ ब्यारेकभित्र अस्पताल, विद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ। उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत सेना गरेर २ हजारको हाराहारीमा जनशक्ति रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell