
जनकपुरधाम: सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हातहतियार र प्रेस लेखेको गाडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाँसघारीमा लुकेर बसेको अवस्थामा विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कर्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुको साथबाट थ्री फिप्टी पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, त्यसैगरी चाइनिज पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान र त्यसमा लाग्ने गोली ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले प्रयोग गरेको बिआर ३० एम ६७८७ नम्बरको प्रेस लेखेको लिभो मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए।