PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मृत्युको भयसँगै क्वारेन्टाइनमा सरकारको खोजी [सम्पादकीय]



मृत्युको भयसँगै क्वारेन्टाइनमा सरकारको खोजी [सम्पादकीय]

आइतवार क्वारेन्टाइनमा एक युवकको मृत्यु भएसँगै कोरोना भाइरसविरुद्धको सरकारको तयारी कस्तो छ भन्ने उदाङ्गो भएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्युभन्दा पनि भयपूर्ण अवस्था हो, त्यहाँ रहेका नागरिकप्रति सत्ता कति संवेदनशील छ भन्ने। सीमाका नाकालाई बन्द गरेर कोरोना रोक्ने सरकारको रणनीति पूर्ण रुपमा गलत थियो, जुन हरेक दिन थपिँदै गरेका संक्रमितहरुको सूचीले देखाइरहेको छ। नेपालमा कोरोनाले कसैलाई केही हुँदैन भन्ने केन्द्र सरकारका प्रमुखहरुको अभिव्यक्ति र क्वारेन्टाइनमा समेत आफ्ना नागरिकलाई जोगाउन नसक्ने प्रदेश सरकारले आफू हुनुको औचित्य पुष्टि गर्न सकिरहेका छैनन्।

सरकारले अहिलेसम्म जेजस्ता रणनीति अख्तियार गरेको छ, ती दुरदृष्टि राखेर तय भएका रहेनछन् भन्ने हरेक दिन पुष्टि भइरहेको छ। क्वारेन्टाइन नै कोरोना संक्रमण हुने स्थलका रुपमा परिणत भइरहेको छैन? बाँकेमा आज थपिएका संक्रमितहरुको डरलाग्दो तथ्याङ्कले प्रश्न गर्न बाध्य बनाएको छ। प्रदेश नम्बर ५ कोरोना संक्रमणको इपिसेन्टर बनिरहँदा त्यहाँ रहेका अन्य क्वारेन्टाइनमा रहेका मानिसहरुमा भय र त्रास थपिँदो छ। बाँकेको संक्रमणको दृष्यले बाँकी देश भयभीत बनिसकेको छ। संक्रमितको संख्याले जुन रफ्तार पक्डेको छ, उनीहरुलाई राख्ने आइसोलेसन वार्ड र जटिल विरामीका लागि आइसीयुको तयारी त्यही गतिमा भएको छैन।

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी संयन्त्र थपिएका विरामीलाई कहाँ आइसोलेसन कहाँ राख्ने भन्ने दौडाहमा निस्कनुपरेको खबर पनि सार्वजनिक भएको छ। कोरोनाले नेपालमा त घन्टी बजाएर प्रवेश गरेको हो, धेरै ढिलो गरी। तयारीका लागि पर्याप्त समय पनि थियो। तर, त्यस्तो तयारीको समयमा प्रधानमन्त्री अनावश्यक अध्यादेश र दल फुटाउने अभियानमा लागेर खेर फालिरहे। योजनाहीन लकडाउन लगाएर जनतालाई थुन्ने तर त्यही लकडाउन पनि कार्यान्वयनमा गतिलोसँग ल्याउन नसक्दा सबैतिर संक्रमण फैलिइसकेको छ।

संक्रमितहरुको कहर बर्सिँदै गरेको प्रदेश २ का अस्पतालमा विरामी भरिइसके। स्कुलका कक्षा कोठामा आइसोलेसन वार्ड खडा गरेर उपचार थाल्नुपर्ने अवस्था आएको छ। अब त्यही अवस्था बाँकेमा पनि सिर्जना भएको छ। सीमाका ‍औपचारिक बाटोमा प्रहरी तैनाथ गराएर कोरोना भाइरस रोक्ने प्रयासकै प्रतिफल हो अहिलेको अवस्था। यसबाट भोग्नुपर्ने दुष्परिणामको दृष्य कस्तो हुन्छ अहिले नै आँकलन गर्न सकिन्न। किनकि यहाँ कोरोनाको परीक्षण यति सुस्त गतिमा अगाडि बढाइयो कि संक्रमितलाई आइसोलेसनमा राख्नुअघि धेरैमा त्यो फैलिइरह्यो।

चुनाव अघिल्तिरको राजनीतिक दलको जस्तो भाष्य प्रयोग गर्नबाट न प्रधानमन्त्री मुक्त छन् न उनको मन्त्रिपरिषद नै। देशको समस्यालाई अंगिकार गर्न नसक्दा र सम्भावित दुष्परिणामबारे अभिव्यक्ति दिनेलाई शत्रु ठान्ने संस्कारबाट बाहिरिन नसक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। काठमाडौंलाई मात्र देश ठान्ने र संक्रमणको कहरमा गहिरिँदै गर्दा घीनलाग्दो संसदीय राजनीतिको खेलमा उत्रिएर बचेखुचेको शाख त सरकारले गुमायो नै, जनताको ज्यान नै जाने गरी कोरोना फैलिसक्दा पनि अन्जान बनिरह्यो। यो अक्षम्य हो।

कोरोना संक्रमणले अब छोपिसकेको छ। यससँग भिड्नुको विकल्प अब छैन। बिग्रने जति बिग्रिसक्यो, अझै सम्हालिनुको पनि बिकल्प छैन। सरकार जति काम नलाग्ने भने पनि संक्रमणको यो घडीमा विकल्प यही सरकार नै हो। अरु हुन सक्दैन। अब अलिकति पनि ढिलो नगरी कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा लिने हो भने क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिनैपर्छ। उनीहरुको छिटोभन्दा छिटो परीक्षण गर्नुपर्छ। र, सबैभन्दा महत्वपूर्ण चाहिँ क्वारेन्टाइनहरु संक्रमणको केन्द्र बन्न रोक्नुपर्छ।

कतिपय क्वारेन्टाइनका हालत जेठको यो गर्मीमा बस्नयोग्य छैनन्। उनीहरुले पाउने खानाको विषय पनि उत्तिकै संवेदनशील छ। मानिसहरु बस्न र खान नसक्ने अवस्था हुँदा क्वारेन्टाइनबाट भागिरहेका छन्। त्यसैले मानिस भाग्छन् भने गोली हान्ने आदेशको लिखितम् तयार गर्नुभन्दा पनि यतिखेर हामीले जनताको चेतनास्तरलाई कुन तहमा छाडेर नेतृत्व गरिरहेका रहेछौं भन्ने आत्मवोध गर्न आवश्यक छ। उनीहरुलाई जोगाऔं र संक्रमण फैलिने सम्भावनालाई निस्तेज पारौं। त्यसैले सरकारलाई पुन: भन्न चाहन्छौं - पहिले कोरोनासँग भिडौं, बाँचियो भने तपाईँ फेरि राजनीति गरिरहनु होला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell