PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संक्रमितको संख्या बढेसँगै प्रदेशभर ३ सय आइसोलेसन बेड थप्ने प्रदेश २ सरकारको निर्णय



सुमित मिश्र

संक्रमितको संख्या बढेसँगै प्रदेशभर ३ सय आइसोलेसन बेड थप्ने प्रदेश २ सरकारको निर्णय

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ वटा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवारको बैठकले कोरोना संक्रमितहरुको संख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको हो।

बैठकले हाल सञ्चालनमा रहेको कोरोना अस्पतालको आइसोलेसन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५०, सिरहा अस्पताल मातहतको महेन्द्र गेनाइ अस्पतालमा ३०, गौर अस्पताल मातहतको गौर नरसिंह इन्स्टिच्युटमा ३०, पोखरिया अस्पताल पर्सामा २५, भारदह अस्पतालमा सप्तरीमा ५०, मलंगवा अस्पताल मातहतको अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज मातहतको साइकृष्ण मेडिकल हातामा ५० र बर्दीबास अस्पतालमा ५० बेड थप गर्ने निर्णय गरेको छ।

बैठकमा आरडीटी, पीसीआर ल्याब स्थापना तथा सञ्चालनका लागि आवश्यक सुझाव, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका पूर्व निर्देशक डा राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरिएको छ।

प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिइने भएको छ। त्यस्तै, बैठकले आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell