PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एन्फा डे प्रकरण: निलम्बनविरुद्ध ललितपुर अध्यक्ष थापाले अपिल जारी गर्दै



एन्फा डे प्रकरण:  निलम्बनविरुद्ध  ललितपुर अध्यक्ष थापाले अपिल जारी गर्दै

काठमाडौं: एन्फा डे प्रकरण लम्बिँदै गएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बित गरेसँगै प्रकरण लम्बिएको थियो। थापाले एन्फाको निर्णयविरुद्द आज एन्फाको अपिल कमिटी र राष्ट्रीय खेलकुद परिषदमा अपिल गर्ने बताएका छन्।

एन्फा डे मा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङको दिएको शुभकामना सन्देशमा थापाले ‘चोरहरुको श्रीगणेश’ भनेर टिप्पणी गरेसँगै एन्फा नेतृत्व थापासँग रुष्ट बनेको थियो। त्यसो त थापा पहिल्यैबाट एन्फा निर्वाचनयता नै अनियमितता भएको भन्दै नेतृत्वको आलोचना गर्दै आएका थिए।

तर यसपटक एन्फाले थापालाई स्पस्टीकरण सोध्ने निर्णय गर्‍यो। त्यही अनुरुपमा वैशाख २४ मा ४८ घन्टे स्पस्टीकरण एन्फाले थापालाई सोध्यो।

स्पस्टीकरणमा थापाले एन्फा डे को मितिलगायतका विषयमा उल्टै प्रतिप्रश्नहरु गर्दै माफी पनि मागे।

'तमाम प्रश्नहरु मनमा उब्जेकाले मैले प्रतिशोधले त्यो शब्द प्रयोग गरेका होइन। र कसैलाई मैले इङकित गरेको पनि होइन,' उनले स्पस्टीकरणमा अन्त्यमा लेखेका थिए, 'यदि कसैलाई चोट या हानी पुगेको भए क्षमा या सरी भन्दै आगामी दिनमा यस्तो शब्द प्रयोग गर्ने छैन'

तर एन्फा उनको स्पस्टीकरणमा सन्तुस्ट देखिएन। र उनलाई कारवाही गर्न अघि सर्‍यो। सोही अनुरुप एन्फाले एन्फा उनलाई निलम्बन गर्ने निर्णयमा पुग्यो। एन्फा पदाधिकारीहरु उनको निलम्बनबारे धेरै खुल्न चाहिरहेका देखिँदैनन्।

एन्फाले मंगलबार पठाएको पत्रमा एन्फासँगको विमती भएमा सम्बन्धित फोरममा छलफल अघि बढाउने बाटो हुँदाहुँदै प्रकृयागत ढंगले नराखेको दाबी छ। त्यस्तै स्पस्टीकरणमा प्रश्न तर्फ प्रवेश नगरी एन्फा विधानको धारा ३ को उपधारा २ र धारा १४ को उपधारा १ (क) उल्ल‌ंगन गरेको दाबी गरिएको छ। त्यस्तै एन्फाले पठाएको उनलाई पत्रमा जानीजानी एन्फा विधान बाहिरका गतिविधिलाई निरन्तरता दिएको भन्दै ललितपुर एन्फाको अध्यक्षबाट जेठ ५ गतेबाट निलम्बन गरिएको जनाइएको छ। त्यस्तै विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम आगामी एन्फा साधारणसभा सम्मका लागि निलम्बन गरेको जनाइएको छ।

एन्फा साधारण सभा कोभिड १९ र लकडाउनसँगै अनिश्चित कालका लागि पछि सरेको छ।

यता थापा भने आफूले कुनै धाराको उल्लंङघन नगरेको बताउँदै आएका छन्। उनले पहिलोपोस्टसँगको कुराकानीमा कार्यसमिति नबसि जिल्ला फुटबलसंघको अध्यक्षलाई निलम्बन गर्ने अधिकार एन्फालाई नभएकाले आफू अपिलमा जाने बताए।

'एन्फाको ललितपुर फुटबल संघ सदस्य हो। पुरुषोत्तम थापा अध्यक्ष चाहीँ होइन। हामी ४५ जिल्ला फुटबल संघ एन्फाको सदस्य हो। ४ समिति एन्फाको सदस्य हो,' थापाले आफ्नो तर्क अघि सार्दै भने, ' सदस्यलाई निलम्बन गर्ने अधिकार एन्फालाई छ। त्यो पनि कार्यसमितिलाई। म भनेको जिल्लमा लोकतान्त्रिक पद्दतिबाट अरु १० वटा क्लबले छानेर आएको हो। उहाँ हरुले पत्रमा अध्यक्षलाई निलम्बन गरेको भनेको छ। यो उहाँहरुले अधिकार राख्दैन। यो उहाँहरुको अधिकारको पाटो होइन।'

कसरी सुरु भएको थियो विवाद

एन्फा डे अघिल्लो वर्षबाट वैशाख २२ गते मनाउने निर्णय भएको थियो। वैशाख २२ गते अर्थात कर्मा छिरिङ शेर्पा नेतृत्वको कार्यसमिति एन्फा नेतृत्वमा आएको दिन्। यो दिनलाई विशेषगरी पुरानो कार्यसमितिका र निर्वाचनमा पराजित भएका पक्षले रुचाइ रहेका थिएनन्। एन्फाका पूर्वअध्यक्ष गणेश थापाले त यो दिनलाई कालोदिनकै रुपमा परिभाषित गर्दै आएका छन्।

एन्फा डे यसपटक कोरोनाका कारण प्रभावित भयो। कुनै औपचारिक कार्यक्रम भएन। तर विवाद चाहीँ त्यही दिनबाट उठ्यो।

विवाद थियो एन्फाका ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई लक्षित गर्दै लेखेको म्यासेज। ए, बी र सी डिभिजन क्लब भन्ने भाइबर ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले एन्फा दिवसको शुभकामना यसरी दिए - आज वैशाख २२ गते 'एन्फा दिवस' सम्पूर्ण फुटबल परिवारमा हार्दिक शुभकामना। सचेत रहौं। सुरक्षित बसौं। जय नेपाली फुटबल।'

त्यसपछि केही पदाधिकारीले सामान्य रेस्पोन्स गरे पनि थापाले भने आक्रामक रेस्पोन्स गरे।

'आज एन्फा डे होइन चोरहरुको श्रीगणेश डे हो,' उनले रिप्लाई गरेका थिए।

यसले एन्फा नेतृत्व रुष्ट भयो। र वैशाख २४ मा आफ्ना भनाइबारे ४८ घन्टा भित्र स्पस्टीकरण दिन भन्दै पत्र पठायो।

उक्त पत्रमा एन्फाको आचार संहिता२०७४ को परिच्छेद विपरितको कार्य भएको, नेतृत्वको इज्जतमा धक्का पुर्‍याउने, अपमानजक र घृणित कुप्रचार गरेको भन्दै उनीमाथि किन कारवाही नगर्ने? भन्दै एन्फाले स्पस्टीकरण सोधेको थियो।

जवाफमा उनले प्रतिप्रश्नहरुको पहाड खडागर्दै नेतृत्वलाई नराम्रो लागेको भए माफी मागेको उल्लेख गरेका थिए। उनको माफी भन्दा प्रतिप्रश्न खरो उत्रिएको थियो।

'म एन्फाको सदस्य हो कि होइन? के मैले एन्फा डे मनाउन नपाउने? अनि हाम्रो भावनासँग एन्फाले खेलबाड गर्न पाउने?' प्रश्नमाथि प्रश्न तेर्साउँदै उनी लेख्छन, 'एन्फा डे भनेर खुशी भएर मनाउँदा हामी दुखी भएर बस्नु पर्ने?अनि हाम्रा सन्ततिले एन्फा डे किन मनाएको वैशाख २२ गते भन्दा हामीले के जवाफ दिने? चुनाव हारेको दिन भन्ने?'

यस्तै प्रश्नमाथि प्रश्नहरु छन् उनको स्पस्टीकरणमा। १७ जनाको कार्यसमितिको मात्र एन्फा डे हुनु नहुने बताउँदै सबैले छाती फुलाएर एन्फा डे मनाउने अधिकारको एन्फा नेतृत्वले हनन गरेको दाबी गरेका छन्।

'एन्फा डे १७ कार्यसमिति सदस्यको मात्र हो? अनि हामीले छाती फुलाएर एन्फा डे भन्न नपाउने? हाम्रो कुनै अधिकार छैन? योगदान छैन?' स्पस्टीकरणमा उनले लेखेका छन्।

उनी स्पस्टीकरणमा मात्र रोकिएनन्। थापाले एन्फामा यसअघि यसरी नै नेतृत्वको मानमर्दन गरेर पनि कारवाही नभएको प्रकरणलाई अघि सारे।

थापाले वर्तमान एन्फाका मानार्थ सदस्य रुपेश अधिकारीले विराट संघ्रिला भन्ने ग्रुपमा एन्फा प्रदेश लिग कमिटीलाई 'काँक्रो लिग कमिटी' भनेको स्क्रिनसट सेयर गर्दै आफूलाई स्पस्टीकरण लिएको प्रति ब्यंग्यसमेत गरेका छन्।

'एक नम्बर प्रदेश लिग कमिटिलाई कांक्रो लिग कमिटीभन्दा के पढ्यौ एन्फा? के गर्यौ? के भन्यौ? के बुझ्यौ? कांक्रो लिग कमिटी पनि छ र एन्फा? के हो कांक्रोको अर्थ? सिंगो एन्फालाई प्रश्नसहित अर्थ भन्न र फरक छुट्याउन अनुरोध गर्दछु।' उनले एन्फा नेतृत्वलाई ब्यंग गर्दै लेखेका थिए।

उनको अपिलसँगै एन्फा डे प्रकरणमा अर्को पाटो सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell