PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नगराईन नगरपालिकाको क्वारेन्टाइन सेनाले गर्‍यो सिल, ‘डिस्चार्ज हुने पनि तत्कालै बाहिर जान पाउने छैनन्’



सुमित मिश्र

नगराईन नगरपालिकाको क्वारेन्टाइन सेनाले गर्‍यो सिल, ‘डिस्चार्ज हुने पनि तत्कालै बाहिर जान पाउने छैनन्’

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका-५ गंगुलीमा रहेको क्षेत्रीय क्वारेन्टाइनलाई सिल गरिएको छ। उक्त क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको हो।

जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जनामा कोरोना संक्रमण देखिएपछि धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको कर्णेल गजेन्द्र रावलको नेतृत्वको टोलीले क्वारेन्टाइनलाई सिल गरेको क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले बताए। क्वारेन्टाइन सिल भएका कारण त्यहाँ तत्काल नयाँ व्यक्तिलाई नराखिने ठाकुरले बताए। क्वारेन्टाइनमा रहेका ८४ जना भित्रै रहने ठाकुरले जानकारी दिए।

ठाकुरले भने, ‘क्वारेन्टाइनबाट डिस्चार्ज भएर जाने व्यक्ति पनि तत्कालै बाहिर जान पाउने छैनन्।’

संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण क्वारेन्टाइनमा २१ दिन बिताएर डिस्चार्ज हुने व्यक्ति पनि जान नपाउने भएका हुन्।

‘आज (बुधवार) ८ जना व्यक्ति डिस्चार्ज हुनुपर्ने थियो तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण डिस्चार्ज हुन पाएनन्,’ उनले भने।

अब सबै जनाको पुनः स्वाब संकलन गरेर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ। क्वारेन्टाइनमा रहेका सबै जना डिस्चार्ज भई क्वारेन्टाइनलाई स्यानिटाइज गरेपछि मात्र नयाँ व्यक्ति राख्न शुरू गरिने ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell