"वैशाख ३० गते। जोरपाटी आरुबारीको चामुण्डा गेट जाने बाटोमा दुई आम नागरिक आफ्नो घर बाहिर निस्किए। सायद् केही व्यक्तिगत काम थियो। बाहिर निस्किएकै कारण उनीहरु कुटिए। त्यो पनि नेपाल प्रहरीका दुई कर्मचारीबाट।"
अध्याँरोमा खिचिएकाले भिडियो प्रष्ट छैन। तर, त्यसमा सुनिएको आवाजले धेरैको ध्यान खिच्यो। एक बालकसहित पुरुष चिच्याइरहेका सुनिए। रोइकराइ गर्दै 'ऐय्या आत्था' गरिरहेका छन् ती पुरुष। भिडियोमा सुनिएको आवाजमा कसैले उनीहरुमाथि प्रहार गरिरहेको निश्चित हुन्छ।
भिडियोमा सुनिएको आवाजसँगै त्यसबारे लेखिएको कथाले अझै धेरैलाई त्यस पोस्टमा 'इन्गेज' गरायो। जसमध्ये धेरै मानिस आक्रोशित प्रस्तुत भए, कमेन्ट बक्समै।
मे १३ मा उक्त भिडियो इन्स्टाग्राममा पोस्ट गरेका हुन् नितेश शाहले। जसको शीर्षक थियो – 'आम नागरिकमाथि प्रहरीको अत्याचार।'
उनले आफूलाई उक्त भिडियो र घटनाबारे जानकारी आफ्नो साथीले पठाएको बताएका छन्। प्रश्न गरेका छन्, 'के हामी नेपाली सधैं नेपाल प्रहरी र यो सरकारसँग डराएर बाँच्नुपर्ने हो?'
उनले यस्ता घटनाले आम नागरिकको आत्म सम्मान र मनको शान्ति खलल गर्ने समेत जनाएका छन्।
यस सामाग्री तयार पार्दासम्म उक्त भिडियो ४० हजारभन्दा बढी पटक हेरिएको छ। भिडियोमा आम प्रयोगकर्ताले सरकार र प्रहरीमाथि प्रश्न उठाएका छन्।
राकेश विक्रम नेम्वाङले लेखेका छन् : हे भगवान् म त यो सुन्न समेत सक्दिँन। यस घटनाबारे अनुसन्धान आवश्यक छ। त्यस बच्चालाई अपराधीलाई जसरी कुट्नु समस्याको समाधान होइन। मानवता खोइ? मिडियाको आँखा यस घटनामा परोस्।
रमिला सुनुवारले लेखेकी छिन्, 'यो सब स्वीकार्य छैन।'
भिडियो पोस्ट गरेका व्यक्तिले 'ओरिजिनल भिडियो'का लागि आफूलाई मेसेज गर्न समेत आग्रह गरेका छन्। उनले हिंसा र अत्याचारविरुद्ध समेत ह्यास ट्यागको प्रयोग गरेका छन्।
उनले भिडियोबारे थप जानकारी दिए - अनुसार भिडियोमा कुटिएका आमा र छोरा हुन्। उनीहरुको आरुबारी स्थित शेर्पा कोलोनीमा तरकारी पसल छ। लकडाउनमा पसल खोलेकै कारण उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो।
कमेन्टमा धेरै मानिसले यस्ता घटनामाथि मिडियाको आँखा नपर्ने बताएपछि हामी यस घटनाबारे बुझ्न पीडित भनिएकाको तरकारी पसलमा पुग्यौं। त्यहाँ सार्वजनिक भिडियो र त्यस भिडियोबारे लगाइएको बेलिबिस्तार बतायौं। पसल सञ्चालक पुनीदेवीशाह खित्का छोडेर हाँसिन् र भनिन्, 'कसले सुनायो यस्तो गलत कुरा?'
उनले प्रहरीले आफ्नै पसल अगाडि मानिस कुटेको भए पनि त्यो आफू र आफ्नो छोरा नभएको प्रष्ट पारिन्।
भएको के थियो त?
पुनीदेवीको परिवार पसल भएकै कोठाको भित्री भागमा बस्छन्। पसल भएको घर मुल सडकसँगै जोडिएको छ। त्यसैले सडकमा मानिसहरु हिँडेको, गाडी गुडेको सबै चाल पाउँछन्।
मंगलवार राती सवा एक बजे। एक्कासी केही मानिस कुदेको आवाज सुनियो। पुनीदेवीका श्रीमान् कालीमाटी तरकारी बजार जानका लागि भर्खरै ब्युँझिएका थिए। मध्यरातमा को कुद्यो? सोच्न नपाइ उनीहरुको बन्द सटरमा कोही ठोक्कियो। त्यसपछि पुनीदेवीको परिवार सतर्क भए। बन्द सटरभित्रबाटै चनाखो भएर सुनें। 'वाकीटकी'को आवाज सुनियो।
त्यहाँ प्रहरी भएको निश्चित भयो। प्रहरीले नै हुनुपर्छ कसैमाथि लाठी प्रहार गरिरहेका थिए। पिट्दै गर्दा 'अझै चोर्छस्?' भनेको सुनेपछि प्रष्ट भए कुटाइ खानेहरु कसैको घरमा चोरी गर्दैगर्दा पक्राउ परेका हुन्।
'हामीले भित्रैबाट बाहिरको बत्ती बाल्यौं। पुलिसले कताबाट बत्ती बल्यो? भनेर सोध्नसाथ निभाइ हाल्यौं,' पुनीदेवीले भनिन्, 'बाहिरको कुरा सुनेरै थाहा पायौं बाबु छोरा चोर्न हिँडेका रहेछन्। उनीहरु माफी माग्दै थिए। केहीबेरमै गए। हामीले त सटर खोलेका पनि थिएनौं।'
वीरगंज, विश्रामपुरकी पुनीदेवी र राजेश आफ्ना तीन सन्तानसहित काठमाडौंमा बस्छन्। लकडाउन लम्बिदै गएपछि व्यापार नहुने निश्चित जस्तै थियो। सुरुवाती दिनहरुमा सोचेका थिएनन्, लकडाउन खुकुलो बन्ला भन्ने। त्यसैले उनीहरुले पनि वीरगंज फर्कने योजना नबनाएका होइनन्। 'तर पसल खुल्न थाले। दुई चार पैसा आम्दानी भए यतै बस्दा पनि केही हुन्न भनेर गएनौं,' राजेशले सुनाए।
प्रहरीबाट आफूहरुमाथि कुनै पनि किसिमको अत्याचार नभएको प्रष्ट पारिदिन आग्रह गरे। साथै, लकडाउनको सुरुवाती दिनदेखि नै प्रहरीले आफूहरुलाई व्यापारका लागि व्यवस्थित वातावरण सिर्जना गर्न सघाएको बताए। प्रहरीले नै आफूहरुलाई सटर पूरा नखोल्न, सामान र पैसा टाढैबाट साट्न, मास्क लगाएर बस्न, स्यानिटाइजर राख्न सल्लाह दिएका रहेछन्। सटरको छेउमा टाँसिएको सूचना देखाउँदै भने, 'उ त्यो राख्ने आइडिया पनि पुलिसले नै दिएका हुन्।'
सूचनामा सम्पर्क नम्बरसहित लेखिएको थियो – तरकारी आवश्यक परे सम्पर्क गर्नुहोला।
पुनीदेवीले भनिन्, 'कुटाइ खाने हामी थिएनौं। तर, जो भए पनि पीडा त भयो होला। त्यसैले कुट्नुभन्दा पनि जेलमा लगेर दुई चार दिन राखिदिएको भए चेत्थे। चोर्दै हिँड्नु त हुन्न नि! केही गरेर खानुपर्छ।'
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नविन कार्कीले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए।
यसरी तथ्यहीन र भ्रामक सामाग्री सामाजिक सञ्जालमा सेयर गरेको विषयमा नेपाल प्रहरी साइबर ब्यूरोसँग हामीले सोध्यौं। त्यहाँका सूचना अधिकारी नविन्द्र अर्यालले यस्ता घटनाबारे साइबर ब्यूरोले नभइ अपराध महाशाखाले हेर्ने जानकारी दिए।
अपराध महाशाखाका प्रहरी कर्मचारीले भने पुन: औंला साइबर ब्यूरोतर्फ नै सोझ्याए। भने, 'साइबर ब्यूरो स्थापनापछि सामाजिक सञ्जालका यस्ता घटना हामीले हेरेका छैनौं।'
प्रहरी निकायहरु नै एकले अर्कोलाई जिम्मेवारी देखाउँदै पन्छिरहे।
सम्बन्धित पोस्टमा भने आम प्रयोगकर्ताले प्रहरीमाथि प्रश्न उठाइ रहेका छन्। इन्टाग्रामको त्यो अकाउन्ट चाहिँ अहिले प्राइभेट गरिएको छ। कोरोनाको त्रासका कारण हुनुपर्छ आफ्नै संगठनको बद्नामी हुँदा पनि प्रहरी मौन छ। प्रहरीमाथि नै लान्छना लाग्दासमेत निरीह हुने संगठनले सर्वसाधारणमाथि हुने यस्ता घटनालाई कसरी हेर्ला?