PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतबाट माटोको भाँडा बेच्न आएका ८ परिवार जनकपुरमा अलपत्र, पालमुनि बिताउँदैछन् कष्टकर दैनिकी



सुमित मिश्र

भारतबाट माटोको भाँडा बेच्न आएका ८ परिवार जनकपुरमा अलपत्र, पालमुनि बिताउँदैछन् कष्टकर दैनिकी

जनकपुरधाम : जनकपुरस्थित बाह्रबिघा मैदानको दक्षिण–पश्चिम कुनामा लहरै दशवटा प्लास्टिकको छाप्रो बनाइएको छ। एउटा पालमा ६/७ जनाको दरले स-साना नानीदेखि बयोवृद्ध र वयस्क गरी ३२ जना कोचिएर बसेका छन्। उनीहरु भारतबाट नेपालमा व्यापार गर्न आएकाहरु हुन्।

भारतको महाराष्ट्र अकौला जिल्लाका ८ परिवारका ३२ सदस्य ‘लकडाउन’पछि जनकपुरमा अलपत्र परेका छन्। माटोको गिलास, कप, प्लेटलगायत भाँडाको व्यापार गरेर गुजारा गर्दै आएका उनीहरू एक ठाउँबाट अर्को ठाउँमा जानसमेत प्रहरीले रोकेपछि थप समस्यामा परेका हुन्। प्लास्टिकको ओडारमा तीन बच्चा र पत्नीसहित बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेले बस्न, खान र पानीको समस्या भएको बताए।

उनले भने, ‘हामी यहाँ न घुम्न आएका हौं, न त रमाइलो गर्न नै। तर, के गर्नु बालबच्चाको पेट पाल्न वर्षभरि भौतारिनु पर्छ। तै पनि खान लाउन धौ–धौ हुन्छ।’

घुमेर व्यापार गर्ने क्रममा भारत जान लागेका कृपाल भोसलेले लकडाउनपछि बन्दका कारण समस्यामा परेको बताए।

उनले भने, ‘हामीलाई हेर्ने कोही छैन, जसरी पनि जीवन जीउनु छ। जेनतेन बाँचिरहेका छौँ, हामीलाई कि घर जाने व्यवस्था मिलाई दिनू, कि खानाको। २ महिनादेखि कष्टकर जीवन बिताउँदै छौँ। सुन्छु, आ–आफ्ना नागरिकलाई सरकारले उद्घार गर्दैछ रे, हाम्रा लागि हाम्रा सरकार खै?’

पालभित्र चर्को घाम सहन कठिनाइ भएको ५५ वर्षीय कैलाश भोषलेले बताए।

उनले भने, ‘अहिले त जसोतसो बसेका छौं तर पानी परेपछि हामी कहाँ जाने भन्ने चिन्ता छ। यो बन्दी कहिले सम्म रहन्छ बजार खुलेको भए व्यापार गरेर केही रकम आम्दानी गरेर घर फर्किने सोँच छ।’

पालमा चिउरा र नुन खाँदै गर्दा भेटिएका ३५ वर्षीय राजकुमार वासुदेव फुवारलाई घरमा छाडेर आएका ३ छोरीहरूको चिन्ताले सताएको छ।

‘म जुनसुकै अवस्थामा भए पनि घरमा छोरीहरू कुन अवस्थामा छन, महामारीको सबैतिर त्रास छ, उनीहरूले कसरी खाएका छन् भन्ने चिन्ताले निद्रा नै लागेको छैन,’ उनले चिन्ता व्यक्त गरे।

परिवारका सबै सदस्यसँगै ठाँउठाउँमा घुमेर भाडा बर्तन बेच्दै आएका उनीहरू एक स्थानमा बढीमा २ महिनासम्म बस्ने गरेका छन्। यसरी नै आफ्नो दैनिकी चलाउने गरेको वृद्ध कैलाश शोलङखेले बताए। आफूहरूको जनसंख्या ठूलो भए पनि जनकपुरमा ६ जनाको परिवार रहेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell