
- यादव घिमिरे-
विकासका काम गर्दा पनि प्रक्रिया हुन्छन्। जस्तै एउटा प्रक्रिया गर्न लागेको कामले वातावरणमा प्रतिकूल प्रभाव पर्छ कि पर्दैन अध्ययन गर्ने। प्रभाव पर्ने नै देखियो भने ती प्रभावलाई कसरी कम गर्ने? यस्ता विमर्श हुन्छन्। वातावरणीय प्रभावसँगै त्यस ठाउँका जीवजन्तुका विषयमा त झनै कमै अध्ययन भएको पाइन्छ।
धेरै उदाहरण छन्, ती परियोजना स्थलमा कुन-कुन जनावर पाइन्छन्? अध्ययन टोलीमा निकै नै अन्योलमा देखिएको पाइन्छ।
सबैभन्दा पहिले कुरा गरौँ बहुचर्चित र धेरै विवादित निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको। निजगढको विकल्प छैन भनेर भन्नु एउटा कुरा हो। तर जुन परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा यति गल्ती भेटिन्छन् त्यस परियोजनाको कार्यान्वयन गतिलो हुन्छ भनेर विश्वास गर्ने आधार न्यून हुन जान्छ।
वातावरणीय प्रभाव मूल्याङ्कन टोलीले प्रस्तावित निजगढ विमानस्थल क्षेत्रबाट घोरल वटा (Himalayan brown goral) र ठुटे मुसो (Pika) अभिलेख भएको व्यहोरा उल्लेख गरेको छ। घोरललाई पहाडी भूभाग चाहिने हुनाले यो क्षेत्र यिनका लागि उपयुक्त छैन। अन्य जिल्लाको चुरे क्षेत्रमा अभिलेख भए पनि सो क्षेत्रमा भएको हालसम्म उल्लेख गरिएको छैन। झन् ठुटे मुसा त नेपालमा २००० मिटर आसपास वा माथिका क्षेत्रहरूमा मात्र पाइन्छ र यस क्षेत्रमा अभिलेख हुने सम्भावना भने शून्य बराबर नै हो ।
प्रतिवेदनमा प्रस्तावित विमानस्थल क्षेत्रमा दुई प्रजातिका लङ्गुर पाइने पनि उल्लेख छ। रमाइलो कुरा के भने दुवै प्रजातिको वैज्ञानिक नाम Presbytis entellus भनेर उल्लेख गरिएको छ जब कि हाल यो वैज्ञानिक नाम नै प्रचलनमा छैन। हाल प्रचलनमा रहेको वैज्ञानिक नाम भने Semnopithecus entellus हो जुन प्रजाति चाहिँ नेपालमा अहिलेसम्म अभिलेख नै भएको छैन। नेपालमा पाइने लङ्गुर प्रजाति तराइ लङ्गुर Semnopithecus hector र नेपाली लङ्गुर Semnopithecusschistaceus हुन् । यतिमात्र होइन, त्यस क्षेत्रबाट बन ढाडे (Jungle cat) भेटिएको हो कि जङ्गली बिरालो (Wild cat) त्यो पनि अन्योल छ। बन ढाडे र जङ्गली बिरालो भनेर दुई बिराला प्रजाति पाइएको भनिए पनि वैज्ञानिक नाम भने उही Felischaus नै छ। महत्त्वपूर्ण कुरा भने हालसम्म जङ्गली बिरालो नेपालमा भएको यकिनका साथ भन्न सकिने अवस्था छैन। वनमा हुनु नै जङ्गली हुनु हो भनेर बुझेको जस्तो देखिन्छ अध्ययन टोलीमा भएका वन्यजन्तु विज्ञले। जुन सरासर गलत हो ।
दोलखाको सागु खोला जलविद्युत आयोजनाको प्रतिवेदनलाई विश्वास गर्ने हो भने झन् मलाहा बिरालो (Fishing cat) त्यस क्षेत्रमा पाइन्छ। मलाहा बिरालो एक विशेष वासस्थान मन पराउने प्रजाति हो र यस बिरालोले विशेष गरी माछा प्रशस्त पाइने, सुस्तरी बग्ने खोला र ताल भएको वासस्थान रुचाउँछ। तर प्रतिवेदनका अनुसार यहाँको वासस्थान मलाहा बिरालोलाई सुहाउँदो छैन। यो क्षेत्र समुद्र सतहबाट थोरैमा पनि १३०० मिटर अग्लो ठाउँ हो र अहिलेसम्म मलाहा बिरालो यती अग्लो ठाउँमा भेटिएको अभिलेख पनि कहीँ कतै भएको छैन। भेटिएको त राम्रो हो तर यस बिरालोको बानी व्योहरा र अहिलेसम्म थाहा भएको ज्ञानका आधारमा भन्नपर्दा सागु खोलामा मलाहा बिरालो भेटिनु फगत दिवास्वप्न हो। यो असम्भव प्राय छ।
प्रतिवेदनकै भर पर्ने हो भने पश्चिम सेती हाइड्रोपावर परियोजनाको हालत पनि साह्रै गतिलो छैन। पश्चिम नेपालको सेती नदीमा सञ्चालित यो परियोजनाको प्रतिवेदनमा पीतमुहार चिचिल्कोटे चरा (Yellow-cheeked tit) पाइएको उल्लेख छ जुन एकदमै महत्त्वपूर्ण रेकर्ड हुन्थ्यो यदि सत्य भइदिएको खण्डमा। अहिलेसम्मको चरासम्बन्धी गरिएका अनुसन्धान र अवलोकन भ्रमणहरूका आधारमा भन्नु पर्दा यो चरा अरुण नदी पश्चिम पाइएको रेकर्ड छैन।
सुन्दा अचम्म लाग्न सक्छ तर कुनै कुनै प्रतिवेदनमा त नेपालमै नपाइने प्रजातिको नाम पनि पाइएको छ। सङ्खुवासभास्थित इसुवा खोला हाइड्रोपावर परियोजनाको प्रतिवेदनले सालक (Chinese pangolin) पाइने उल्लेख गरेको छ र सो को वैज्ञानिक नाम भने Salaccazalacca भनेर उल्लेख छ। यो वैज्ञानिक नाम सालकको त हो तर त्यो खपटा भएको जनावर सालक नभई इन्डोनेसिया र मलेसियातिर पाइने एउटा पाम (Palm) प्रजातिको रुखमा फल्ने फल रहेछ। सोही ठाउँबाट अर्को नेपालमा नपाइने सानो मलसाँप्रो प्रजाति हिमाली मलसाँप्रो (Himalayan Weasel) पनि अभिलेख गरिएको छ जसको वैज्ञानिक नाम Mustelanivalis भनिएको हो। यसमा पहिलो कुरा हिमाली मलसाँप्रो भन्ने नाम कुनै पनि मलसाँप्रो प्रजातिको लागि प्रयोग हुँदैन र दोस्रो कुरा Mustelanivalis को अङ्ग्रेजी नाम Least weasel हो र यो नेपालमा पाइँदैन। यदि यस परियोजनाको प्रतिवेदनलाई विश्वास गर्ने नै हो भने यस ठाउँबाट सानो खर मुजुर (Lesser florican) पनि अभिलेख गरिएको छ जुन कुरा भने चरा विशेषज्ञहरूले विश्वास गर्ने आधार कम भएको जनाएका छन्।
यति मात्र होइन, सोलुको लिखु र पाँचथरको काबेली हाइड्रोपावर परियोजना स्थलबाट क्रमशः हुँडार (Striped hyena) र सुन गोहोरो (Yellow monitor lizard) भेटिएको सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरूमा जनाइएको छ। सुन गोहोरो पहाडतिर नपाइने भएको हुनाले यो अभिलेखलाई अलि विचार पुर्याउनु पर्ने हुन्छ। हुँडार भने पहाडी क्षेत्रतिर पाइएको भए पनि पूर्वी नेपालमा यसको उपस्थिति बारे राम्रो ज्ञान नभएको खण्डमा ठोस प्रमाण जस्तै फोटो वा छाला बिना शङ्कास्पद नै हुन्छ। लाखौँ रुपया लिएर गरिएका अध्ययनको सिलसिलामा पाइएका भनिएका वन्यजन्तुहरूको प्रमाण (जस्तै: फोटो ) राखिएको पाइँदैन जुन उदेकलाग्दो छ ।
काबेली हाइड्रोपावर परियोजनाको प्रतिवेदनमा रातो बाँदर (Rhesus macaque) लाई संवेदनशील प्रजाति भनेर वर्गीकरण गरेको छ भने विश्वकै सबैभन्दा संकटापन्न मध्ये एक कालो सालक (Chinese pangolin) लाई भने खासै चुनौती नभएको जसरी प्रस्तुत गरेको छ जुन एकदमै अचम्मको कुरा हो ।
यी उदाहरण त प्रतिनिधि मात्र हुन् । हेर्दै लगियो भने नेपालमा हुने विकाश परियोजनाका सबै जसो वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरूको हालत या त यस्तै हुन्छन् या अझ खस्केका। महत्त्वपूर्ण कुरा भनेको यस्ता प्रतिवेदनहरूले नेपालमा विकासका परियोजनाहरूमा वन्यजन्तु तथा वातावरण संरक्षणका मुद्दाहरूलाई कति गम्भीरताका साथ हेरिन्छ भन्ने विषयलाई प्रस्ट पार्दछ।
तर यस घटनाको अर्को पाटो पनि छ र त्यो भनेको यस्ता घटनालाई लिएर सम्बन्धित सरकारी निकायहरूको धारणा र रवैया। पहिलो कुरो भनेको यस्ता महत्त्वपूर्ण दस्तावेजहरुमा यतिसम्मको गल्ती हुनै नहुनु पर्ने हो। त्योभन्दा अचम्मको कुरा त के भने यस्ता प्रतिवेदन सरकारका तर्फबाट स्वीकृत पनि हुन्छ। यो मुद्दा गम्भीर छलफल तथा सम्बन्धित सरकारी निकाय/वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने विज्ञको लागि आत्मालोचना गर्नुपर्ने विषय पनि हो।
-लेखक वन्यजन्तुसम्बन्धी अध्ययन गर्ने संस्था 'प्रकृतिका साथीहरु'का निर्देशक हुन्।