PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : हावाहुरी र चर्को लाग्ने घामले उराठलाग्दो बनाएको छ जनकपुरस्थित बाह्रबिघा मैदान। लकडाउनसँगै भोक पसेको तीन महिना बित्नै लाग्यो। रोगको डर पनि उत्तिकै। तर, सुनसान छ मैदानको दक्षिण–पश्चिम कुना।

त्यहाँ लहरै बनाइएका छन् दशवटा छाप्रा, प्लास्टिकको। प्रत्येक पण्डाल मुनि ६/७ जना बालबालिकादेखि वृद्धवृद्धा लस्करै बसेको देखिन्छन्। उनीहरु ३२ जना छन्। सबै भारतीय। महाराष्ट्र अकौला जिल्लाका। जनकपुरमा यसरी पण्डाल बनाएर बस्ने ८ परिवार छन् जो ‘लकडाउन’ पछि नेपालमै अलपत्र परेका हुन्।

माटोका गिलास, थाल। अन्य भाडा पनि माटोकै। उनीहरु प्रयोग मात्र गर्दैनन् तिनै भाडाको व्यापार समेत गर्छन्। यही नै गुजाराको बाटो। अनि उनीहरु हुन् – घुमन्ते। एकठाउँबाट अर्को ठाउँ सर्दै जीवन यापन गर्छन्। तर, लकडाउनले त्यो यात्रामा रोक लगाइदियो, जुन रोकिए पछि उनीहरुको नुन समेत रोकिन्छ।

प्लास्टिककै छाप्रोमा बस्दै आएका कृपाल भोषलेले सुनाए, 'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो। बाँच्ने चाहिँ कसरी?'

उनका पत्नी र तीन सन्तान छन्। ३५ वर्षीय उनी खाना त परको कुरा पिउने पानीको समेत समस्या भएको सुनाउँछन्।

आफू घुम्न वा रमाइलो गर्न नेपाल नआएको बताउँदै भने, 'पेट पाल्न वर्षभर भौतारिन्छौं। काम हुँदा त जसोतसो भोक मेट्थ्यौं। अब त सबै ठप्प।'

देश फर्कन पाएको भए आफ्नो सरकारले हेर्ने आशा व्यक्त गरे उनले।

‘यहाँ त हामीलाई हेर्ने कोही छैन। हामीलाई कि घर जाने व्यवस्था मिलाइ दिनुस् कि खानाको,’ उनले अनुनय गरे। अन्य देशबाट भारतले आफ्नो नागरिकको उद्दार गरिरहेको सुनेका थिए उनले। त्यसैले नेपालमा रहेका भारतीयलाई पनि खोज्दै आउने आशा गरेका रहेछन्। उस्तै निराशा छाएको छ उनीहरुको अस्थायी शिविरमा जब राशन पानी रित्तो भए। 'कहिलेसम्म कसलाई पर्खने? हाम्रो उद्दार गरियोस्,' उनले भने।

५५ वर्षीय कैलाश भोसलेले भने, ‘अहिले त जसोतसो बसेका छौं तर पानी परेपछि हामी कहाँ जाने भन्ने चिन्ता छ। यो बन्दी कहिलेसम्म रहन्छ थाहा छैन। बजार खुलेको भए व्यपार त हुन्थ्यो। केही रकम आम्दानी भएपछि त हामी आफ्नै ठाउँ फर्कन्थ्यौं।'

कसैले सहयोग स्वरुप ल्याइदिएको चिउरा र नुन खाँदै थिए ३५ वर्षीय वासुदेव फुवार। उनलाई भने भोकसँग जसरी पनि जितिन्छ भन्ने लाग्दो रहेछ। भाडा व्यापार गर्न आएका उनलाई धेरै चिन्ता चाहिँ घरमा छाडेर आएका ३ छोरीहरुको रहेछ।

‘महामारी छ। छोरीहरु के गर्दै होलान्? सबैतिर त्रास छ। उनीहरूले कसरी खाएका छन् भन्ने चिन्ताले निद्रा नै लागेको छैन,’ उनले सुनाए।

परिवारका सबै सदस्यसँगै ठाँउठाउँमा घुम्दै, माटोका भाडा बेच्दै आएका उनीहरू एक ठाउँमा बढीमा २ महिनासम्म बस्ने गरेका छन्। यसरी नै आफ्नौ दैनिकी चलाउने गरेको वृद्ध कैलाश शोलङखेले बताए। उनीहरुको जनसंख्या ठूलो भए पनि जनकपुरमा भने ६ परिवारमात्र अलपत्र परेको सुनाए।



ट्रेन्डिङ पोस्ट

Ncell