PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राहतको विषयमा विवाद हुँदा उपमेयर पुत्रले चलाए गोली, झडपमा दर्जन घाइते



सुमित मिश्र

राहतको विषयमा विवाद हुँदा उपमेयर पुत्रले चलाए गोली, झडपमा दर्जन घाइते

जनकपुरधाम : सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा गोली चलेको हो। राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन्।

उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ। झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन्। मण्डललाई गोली लागे लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नहुँदा विराटनगर रिफर गरिएको एक स्थानीयले बताए।

उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको हो। झडपमा परी दर्जन बढी घाइते भएको बताइएको छ। घाइते हुनेमा नेपाली कांग्रेस तथा नेकपा कार्यकर्ता छन्। उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ।

कसरी चल्यो गोली?

नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए। राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भयो। सोही क्रममा वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन्। उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन्। यता, प्रहरीले भने दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए। ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने। घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell