PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतीय रेल नेपाली सीमातिर सोझिँदा प्रदेश २ मा मात्रै ६ दिनमा ५ हजारभन्दा धेरै नेपाली भित्रिए



सुमित मिश्र

भारतीय रेल नेपाली सीमातिर सोझिँदा प्रदेश २ मा मात्रै ६ दिनमा ५ हजारभन्दा धेरै नेपाली भित्रिए

जनकपुरधाम : दुई महिना लामो लकडाउनमा नाकाबाट नेपाल आउन नपाएकाहरुलाई ल्याउनेक्रम सुरु भएको छ। अवैध बाटोबाट नेपाल भित्रिनेक्रमसँगै कोरोनाको संक्रमण बढेपछि सरकारले वाध्य भएर औपचारिक बाटोबाट ल्याउन थालेको हो।

लकडाउन फितलो भएको भन्दै कडाईका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्र सम्हालेपछि नेपाल–भारत तर्फका नागरिकहरु आउन कठिन भएको थियो।

भारतमा श्रमिक स्पेसल रेल संचालन भएपछि नेपालीहरु त्यसबाटै आइरहे। सीमा कडा हुँदा उनीहरु लुकीछिपी नेपाल छिरिरहेका थिए। उनीहरुलाई रोक्न सक्ने आधार नभए पछि प्रदेश नम्बर २ का प्रत्येक जिल्लाको मुख्य नाकाबाट नेपालीलाई ल्याउने क्रम जेठ ४ गते देखि सुरु भएको हो।

अहिलेसम्म प्रदेश नम्बर २ को विभिन्न जिल्लाको मुख्य सीमानाका खुलेपछि अहिलेसम्म हजारौँ व्यक्तिहरु नेपाल प्रवेश गरी विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन्।

प्रदेश नम्बर २ मा रहेका जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा अलपत्र परेका नेपालीहरुलाई नाकाबाट प्रवेश गराउने कार्य जारी राखिएको छ।

यस प्रदेशको ८ वटै जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

धनुषाको जटही नाकाबाट मात्रै विगत ६ दिनमा ६ सय २७ जना नेपाल प्रवेश गरेका छन्। भारतबाट आउने व्यक्तिहरुलाई सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा सामान्य स्वास्थ्य चेक गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा दुई सातासम्म राख्ने गरी पठाइने गरिएको छ।

भारतबाट आएकाहरुलाई सोझै घर नपठाइ क्वारेन्टाइनमा राख्ने गरिएको प्रवक्ता सापकोटाले बताए।

त्यस्तै, महोत्तरीको मुख्य सीमानाका मलिवाडा (भिट्ठामेड)बाट ५ सय ६७, सर्लाही स्थित नाकाबाट ६ सय १, सिरहाको माडर नाकाबाट ७ सय ३४, सप्तरीको नाकाबाट ७ सय ५४, रौहतहटको नाकाबाट ६ सय ९७, बाराको नाकाबाट २ सय ३९ र पर्साको नाकाबाट ४ सय ६५ जना सीमानाकामा अलपत्र परेका व्यक्तिहरु भारतबाट नेपाल प्रवेश गरेका छन्।

महोत्तरीस्थित मलिवाडा नाकाबाट महोत्तरीबाहेक धनुषाका, अछाम, रुकुम रोल्पा र अन्य जिल्लाहरुका समेत १ सय भन्दा बढी व्यक्तिहरु प्रवेश गरेको सापकोटाले बताए।

‘पछिल्लो ६ दिनदेखि भारतमा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थित ढंगले नाकाबाट भित्र्याएका छौँ,’ प्रवक्ता सापकोटाले भने, ‘यहाँका नागरिकलाई सम्बन्धित स्थानीय निकायको जिम्मा लगाइएको छ। छिमेकी जिल्लाका बासिन्दाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा पठाइने गरेका छौँ।'

पछिल्लो एक सातामा यी जिल्लाहरुबाट ५ हजार भन्दा बढी नेपाली नागरिक नेपाल प्रवेश गरेको उनले बताए। नाकामा अलपत्र परेकाहरु आउने क्रम जारी भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको उनले बताए।

नाकामा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले दिएको आदेशपछि प्रहरी–प्रशासनले नेपाल भित्र्याउन थालेको हो।

भारतमा रेल खुलिसकेपछि नेपाल आउनेको चाप बढ्यो र धेरैको संख्यामा नेपालीहरु अलपत्र हुन थालेका थिए। अलपत्र रहँदा दशगजामा रोकिएका नेपालीहरुको स्वास्थ्य अवस्था बिजोग थियो। दवावमा परेको सरकारले विशेष कडाईका साथ नेपालीहरुलाई भित्र आउने दिने र भारतीयहरुलाई उनीहरुको मुलुक जान दिनेगरी प्रत्येक जिल्लाको मुख्य नाकालाई खुला गरेको हो।

भारतले मजदुरलाई आ–आफ्नो घरसम्म पुग्न रेल सञ्चालन गरेपछि नाकामा नेपालीहरुको चाप बढेको हो। भारतको विभिन्न स्थानबाट सञ्चालन भएको रेलबाट बिहारको पटना र मुजफ्फरपुरसम्म आइपुगेका नेपालीहरु नाकामा पुगेपछि थप चाप बढ्ने अनुमान गरिएको छ।

त्यस्तै, सप्तरी नाकाबाट ९५, सिरहा नाकाबाट ६६, रौतहट नाकाबाट २ सय १२, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४१ सय ८९ जना भारतीयहरु भारततर्फ गएको उनले जानकारी दिए। यसरी अहिलेसम्म ५ सय ६३ जना विभिन्न क्वारेन्टाइनमा रही अलपत्र परेका भारतीयहरु विभिन्न नाकाबाट भारत तर्फ प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell