PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, संक्रमितलाई खाना खुवाउन २५ लाख



सुमित मिश्र

प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, संक्रमितलाई खाना खुवाउन २५ लाख

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गरेका छन्। नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले सोमवार उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री राउतले भीटीएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लोब्स १ हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पीपीई ३० थान,  गमबुट २० थान र जनचेतनामूलक हाते पर्चा ५ सय थान हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि प्रदेश सरकारले निर्णय गरे बमोजिम २५ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरेका छन्।

यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउनुका साथै सोको सञ्चालनका लागि ५० लाख रुपैयाँ समेत उपलब्ध गराएको थियो। कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमी हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको मुख्यमन्त्री राउतले बताए।

सो अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे। उनले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, वीरगंज र राजविराजबाट कोरोना परीक्षणको लागि पीसीआर मेसिन जडान गरिसकेको र थप पीसीआर मेसिनको लागि पहल समेत भइरहेको बताए।

राउतले बिरामीहरुको संख्यामा वृद्धि भएपछि वीरगंज र जनकपुरमा थप आइसोलेसन बेड निर्माणको प्रक्रिया समेत शुरु गरिसकेको उल्लेख गरे। प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेसन बेड निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको र थप जनशक्ति पूर्ति गर्ने काम अघि बढाएको राउतले बताए।

प्रदेशमा भारतलगायतका अन्य मुलुकबाट आउने नागरिकहरुका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरगंजमा ५ सय शय्याको होल्डिङ क्वारेन्टाइन, बारा र सप्तरीमा ५/५ सय शय्याको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भइसकेको मुख्यमन्त्री राउतले जानकारी दिए।

सो अवसरमा प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार, प्रदेश सभा सदस्य सिंघासन सा कलवार, जन्नत अन्सारी, प्रह्लाद गिरी, समाजवादी पार्टीका नेता सल्लाउद्दिन अन्सारीको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell