काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई पनि अप्ठ्यारो परेको अवस्थामा सरकारले उद्धार गर्ने बताएका छन्।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वेदश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाको विस्तृत योजनासमेत तत्काल जारी गर्ने बताए।
'कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने छ,' ओलीले भने, 'विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरुलाई सरकारले समयमै उद्दार गर्छ। समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ। सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु।'
अहिले मुलुकबाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको उल्लेख गर्दै प्रम ओलीले यस विषयमा विभिन्न देशका सरकार प्रमुखसँग संवाद पनि भइरहेको बताए। भने, 'मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु। नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ। म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।'
रोजगारी गुमेर स्वदेशमा फर्केका नेपालीहरुलाई स्वदेशमै सीप र तालिमको व्यवस्था गर्ने र रोजगारी व्यवस्था गरिनेमा प्रधानमन्त्री ओली दृढ देखिएका छन्।
सम्बोधनको क्रममा ओलीले भने, 'यतिबेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फर्किनुभएको छ। साथै, कोरोना महामारीका कारण नेपालमा कार्यरत विदेशी श्रमिकहरु पनि ठूलो संख्यामा आ-आफ्नो देशमा फर्केको या फर्कने अवस्था रहेको छ। मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर, विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई उपलब्ध गराइनेछ। यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था सरकारले गर्छ।'
प्रधानमन्त्री ओलीले बिदेशबाट फर्किएकाले कोरोना महामारी फैलिन नदिन नियम भने पालना गर्न सुझाएका छन्।
'हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन। कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ। कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन,' ओलीले भने, 'कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशवासीहरुलाई आग्रह गर्दछु। घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरुलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु।'
