जनकपुरधाम : भारतबाट आएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेको भन्दै स्थानीयहरुले क्वारेन्टाइनमा ढुंगामुढा गरेका छन्। धनुषाको कमला नगरपालिका-९ को दुवरकोट हतलेटवास्थित जनता निम्न माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा मंगलवार स्थानीयले ढुंगामुढा गरेका हुन्।
सो क्वारेन्टाइनमा सोमवार राति भारतबाट फर्किएका सोही नगरपालिकाका ८ जना बसेको थाहा पाएपछि मंगलवार बिहान दर्जनौंको संख्यामा स्थानीयहरु लाठी, भाटासहित पुगेका थिए। क्वारेन्टाइन भित्रबाट बन्द गरेको कारण स्थानीयले बाहिरबाट ढुंगामुढा गरेका छन्।
क्वारेन्टाइनमा ढुंगामुढा गर्दै आक्रमण भएपछि बेलैमा प्रहरी र जनप्रतिनिधि पुगेर रोकेका थिए। बालबालिका, महिला र प्रौढ पुरुषहरु हातहातमा लौरो, भाटा बोकेर क्वारेन्टाइनमा भारतबाट आएर बसेका अन्य वडाका मानिसलाई धपाउन पुगेका थिए। उनीहरुलाई सम्झाई बुझाई गरेपछि दुर्घटना हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।
राति बसेका ८ जनालाई त्यहाँबाट अर्को क्वारेन्टाइनमा व्यवस्थापन गरेपछि विवाद साम्य भएको नगरप्रमुख रामउदगार यादवले जानकारी दिए। ढुंगामुढाबाट कुनै क्षति भने नभएको यादवले जनाए।
नगरप्रमुख यादवका अनुसार सोमवार राति भारतबाट यस नगरपालिका भित्रिएका झण्डै ७० जना मानिसहरु क्वारेन्टाइनमा बसाउन स्थानीयले अवरोध गरेपछि फर्केका थिए। उनीहरुलाई नगरपालिकाले विभिन्न स्थानमा बनाएको पाँच वटा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो।