PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

चारवटा गाईसँग गोठमै जल्यो भूकम्पले थोपरेको ऋणबाट उकासिने योजना



स्वेच्छा राउत

चारवटा गाईसँग गोठमै जल्यो भूकम्पले थोपरेको ऋणबाट उकासिने योजना

लकडाउन लम्बिनेमात्र होइन, थप कडा हुँदैछ भन्ने खबरसँगै खड्गबहादुर ढकालले हतारहतार पराल किने, दाना र पिठोको जोहो पनि गरे। ऋण गरेरै करिव डेढ लाखको दानापानी थपेपछि ढुक्क भए। किनकि पाँचवटा गाईलाई केही महिनासम्म पुग्दो आहार जम्मा भएको थियो।

वरपर घाँस हुर्किएका छन्। खड्गबहादुरकी श्रीमती पनि ढुक्क थिइन् – अब लकडाउन थपिए पनि गाई भोको रहँदैनन्।

गएको जेठ ७ गते खड्गबहादुर र सरस्वतीले दिनभर लगाएर ६ भारी घाँस काटे। ती घाँससँगै पराल, भुस्सा, दाना, पीठो त्यसै दिन गोठभित्रै थन्काए। बाँसको फक्ल्याटाले बनेको गोठको एउटा कुनामा गाईहरुको लस्कर, अर्कोतिर तिनैलाई खुवाउन मिलाएर राखिएको आहारा हेरेर दङ्ग परे दुवै। पाँचवटै गाईलाई रातीको कुँडो खुवाएपछि गोठ राम्ररी बन्द गरे। र, एक कान्ला माथि उक्लिए जहाँ उनीहरु बस्ने छाप्रो छ। उसैगरी बाँसको फक्ल्याटाले वरपर घेरेको। टिनको छाना अनि भित्र पट्टि माटोको लेप। त्यहीँ हो खड्ग, सरस्वती र उनीहरुको दुई सन्तानको कोठा र भान्सा।

खाना बनाए, खाए। रातको ९ पनि बजेको थिएन। थकाइ थियो तर निन्द्रा परेन। त्यसैले भलाकुसारी गर्दै बसे – ‘आहारा त पर्याप्त जुटाइयो। ऋण गरेरै। तर, लकडाउन कडा भयो र मानिसको घरघरमा दुध पुर्‍याउन जान सकिएन भने के गर्ने?’

उनीहरुको योजना बनिसकेको थिएन। बत्ती झ्याप्प निभ्यो। बाहिर मानिसहरु चिच्याउन र कराउन थालेको सुनियो। उठेर बाहिरसम्म त निस्किएका हुन् तर त्यहाँभन्दा अघि बढ्न सकेनन्। किनकि आँखै अगाडि उनीहरुको सपना जल्दै थियो। आगोको रापले उनीहरु बसेको छाप्रोलाई पनि छोइसकेको रहेछ। जाडोमा सित नझरोस् भनेर टाँगिएका प्लास्टिकका बोरा पग्लदै, तप्तपी चुहिँदै रहेछन्।

अचानक, जल्दै गरेको गोठबाट एउटा गाई फुत्त बाहिर निस्कियो।

'एक…'

सरस्वतीको गन्ती त्यहाँबाट अघि बढेन। एकपछि अर्को गर्दै सबै गाई निस्कन्छन् भन्ने आशा थियो, उनको। तर, निस्किएनन्। हेर्दाहेर्दै गोठको गारो खरानी भयो। जस्ताको छानो गर्ल्याम गुर्लुम झर्‍यो। खड्गबहादुरको एउटा हातमा आगो निभाउन बोकेको पानीको बाल्टी थियो। अर्को हात थाप्लोमा राखेर थचक्क बसे।

सरस्वतीले त्यो बाल्टी सर्लक्क तानिन् र बारीको पाटोमा ड्वां… ड्वां… कराउँदै छट्पटाइ रहेको गाईको शरीरमा छ्यापिन्।

‘बेस्सरी तातेको ताप्के जसरी झ्वाइँय… गर्‍यो,’ सरस्वतीले सुनाइन्। यति सुनाउँदासुनाउँदै उनका आँखा टल्पलाए। अनि बोल्नै सकिनन्।

+++

२०७२ वैशाख १२ गते भूकम्प भयो। खड्गबहादुरको घर भत्कियो। उनीहरुको ६ जनाको परिवार छानोविहीन। महिनौंसम्म उनीहरुको बास टाँगिएको पालमै भयो।

तर, प्लास्टिकको पालले हावाहुरी, घामपानीलाई कहाँ सधैं छेक्थ्यो र? त्यसैले घर बनाउन थाले। केही रकम राहत पाएका थिए। केही ऋण लिए। घर बन्यो। तर, गाउँमै खेती किसानी गरेर ऋण तिर्न कहाँ पुग्नु?

खड्गबहादुरले सुनेका थिए – काठमाडौंमा गाई पालनबाट राम्रै आमदानी हुन्छ। दूधको मूल्य राम्रो छ। दही, मही बनाउन सके झन् फाइदा। शहरमा त गाईको मल पनि बिक्छ भन्ने सुनेका थिए।

काठमाडौंमा गाई पालन गर्ने, घर बनाएको ऋण तिर्ने। शहरमा छोराछोरीलाई पनि राम्रो स्कुलमा पढाउने। सूची तयार भयो, के गर्ने भन्ने।

२०७५ को साउनमा घरमा ७० कटेका आमाबुबालाई छाडेर खड्ग र सरस्वती काभ्रेपलाञ्चोकको मण्डन देउपुरबाट काठमाडौं आइपुगे, छोराछोरी च्यापेर।

कागेश्वरी, मनहरा नगरपालिका वडा नम्बर ७ मा एक रोपनी ९ आना जग्गा भाडामा लिए। भाडादर वार्षिक ५० हजार रुपैयाँ। वार्षिक १० प्रतिशत भाडा रकम बढ्ने शर्त पनि। गोठ बनाए। सात वटा गाई किने। सरस्वतीले तरकारी खेती पनि थालिन्। चार वर्षमा गाई र गोठ बनाउँदाको ऋण चुक्ता गर्ने लक्ष्य राखे। त्यसपछि घर बनाएको ऋण तिर्ने, ऋण मुक्त भएपछि छोरीलाई बोर्डिङमा भर्ना गराउने। अरु गाई थप्ने पनि योजना बनाए।

सुरुवातदेखि नै व्यापार राम्रो भयो। दूध खेर गएन। मूल्य पनि गाउँमा भन्दा राम्रो।

करिव दुई वर्ष उस्तै चल्यो दैनिकी। उनीहरुको सपनाले मूर्त रुप लिँदै गयो।

बिहान ५ नबज्दै उठ्थे दुवै। गाई दुहुन्थे। आहार दिन्थे। दुवै मिलेर दूधका भाडाहरु मोटरसाइकलमा लोड गर्थे। अनि खड्ग घरघर पुग्थे, पुर्‍याउन। सरस्वती भकारो सोहोर्नतिर लाग्थिन्।

बिहान छोराछोरीलाई स्कूल पठाएपछि दिनभर परपरसम्मका खेत, बारी, चौरमा पुगेर घाँस काट्थे। गाईलाई दिउँसोको आहार दिएपछि बल्ल आफू खान्थे।

'पालेपछि छोराछोरी जस्तै लाग्छ नि। तिनीहरुलाई टन्न नपारी त आफूलाई भोक समेत लाग्दैनथ्यो,' सरस्वतीले सुनाइन्।

खटन अनुरुप आम्दानीले सन्तुष्ट थिए। दैनिक ६५ लिटर दूध बेच्थे। बारीबाटै बिक्थे तरकारी पनि। जग्गा भाडा तिरेर, गाईको आहार खर्च छुट्याएर, छोराछोरी पढाएर, ऋणको ब्याज तिरेर केही रकम जम्मा गर्न पनि पुगेकै थियो।

उमेरले भर्खर २७ वर्षका यी दम्पतीले केही गर्ने सपना देखेका थिए फार्मलाई लिएर। केही समय अघि दुई वटा गाई बेचे। बाँकी पाँच वटा थिए, ब्याउने पनि, दुहुनो पनि। भदौदेखि पालैपालो ब्याउने महिना पुग्थ्यो। त्यसैले लाग्थ्यो - लकडाउन पनि खुल्ला। दूधले राम्रो भाउ पनि पाउला। बेचौला र थपौंला फेरि गाई।

तर, जेठ ७ गते त्यही सपनामाथि एकाएक आगो लाग्यो। दमकल आइपुग्नुअघि नै निभ्यो पनि। त्यो आगो निभिसक्दा ४ वाट गाई मरिसकेका थिए। दुहुना थिए र गर्भ बोकेका थिए तिनले। आगो कसरी सल्कियो थाहा छैन। धेरैको अनुमान विद्युत सर्ट हुनु हो जसले सबै खरानी बनायो।

गोठ जल्दै गरेको हेर्दै थिए वरपरका मानिस। कोही भाडा भाडामा पानी ल्याएर खन्याउँदै पनि थिए। त्यस्तैमा भकारो फाल्ने प्वालबाट फुत्त निस्किएको हो एउटा गाई - मुन्ना।

कसैले देखेको होइन, अनुमानको कथन – मुन्नाको नाइलनको नथ्थी आगोले नै पगाल्यो।

उसको नाक र घाँटी वरपरको जलनले पनि त्यस्तै संकेत गर्छ। दाम्लो जलेर फुस्किएको मुन्ना भकारो फाल्ने प्वालबाट बाहिरियो।

+++

अहिले मुन्ना बस्न सक्दैन। किनकि उसको शरीर भरी जलनको घाउ आलै छ। बस्दा छाला तन्किन्छ, दुख्छ। एकै ठाउँ उभिइरहन पनि सक्दैन। छट्पटाइ रहन्छ। एउटा कुनादेखि अर्को कुना गरिरहन्छ।

पछिपछि कुद्छिन् सरस्वती। मुन्नाको पुच्छरको घाउमा झिंगा बस्छ। भन्क्याउँछिन्। त्यही झिंगा उडेर फेरि नाकमा पुग्छ। त्यतै लाग्छिन्।

कैयौं रात भयो सरस्वतीलाई निद्रा नपरेको। कोठामा केहीबेर बस्न समेत सक्दिनन्। यसो उसो गर्छिन् फेरी दुई चार कान्ला तल झरिहाल्छिन्। मुन्नालाई राखेको गोठमा पस्छिन्। गोठ पनि के भन्नु? कसैले कुखुरा पालन गर्न बनाएको होचो टहरा खाली थियो। त्यसैमा राखिएको छ मुन्नालाई। जस्ता तात्ने, झिंगा र लाम्खुट्टे पस्ने – अनेक चिन्ता छ सरस्वतीलाई। त्यसैले, नयाँ झुल किन्न पुगिन्। ल्याएर टहरो वरपर खाली देखेजति भागमा बेरिन्। त्रिपाल ल्याइन् – टिनको तातो घट्ला कि भन्दै माथितिर टाँगिन्।

त्यही त्रिपालतर्फ हेर्दै भनिन्, 'जाडोमा सित नखसोस्। गर्मीमा जस्ता तातेर हपहप नबनाओस् भनेर गोठको छाना मुनि बाँसैबाँस हालेका थियौं। आखिर त्यहीँ बाँसमा आगो सल्कियो। पोल्यो सबैलाई।'

पुन: मुन्ना छेउमा पुगिन् उनी। तर, मुन्ना मानिस छेउमा पर्नासाथ तर्सिएर भाग्ने भएको छ। चार महिनाको गर्भवती हो मुन्ना। भारी शरीर लिएर यता उता गरिरहन्छ। तर, बस्न सक्दैन। लगेर राखिदिएको घाँस खान सक्दैन। किनकि मुख वरपर देखि घाँटीसम्म जलेको घाउमा घोच्छ। त्यसैले सरस्वती हातैले गाँस हालिदिन्छिन्।

दुर्घटनाको भोलिपल्ट डाक्टर आएका थिए। उनैले दिएको औषधी लगाइदिन कोसिस गरिन् सरस्वतीले। तर मुन्ना भागिरहन्छ। केही बेरको भागम् भागपछि सरस्वतीले मुन्नाको शरीरमा नजलेको भाग नियाल्छिन्। सुम्सुम्याउँछिन्। मुन्ना आनन्द मानेर उभिन्छ। घाउमा औषधी दल्न खोज्दा फेरि उस्तै पौठेजोहोरी खेल्नुपर्ने!

'कहिल्यै अटेर गरेन। मेरो आवाज सुनेपछि चनाखो हुन्थ्यो। तर, आज मलाई देख्दा पनि भाग्छ। कति पीडा भयो होला। किन कराएनन् होला? किन बचाउन सकिएन होला?,' उनको मनभरी प्रश्नै प्रश्न मात्र छ। मुन्नाले जवाफ दिन सक्दैन भन्ने थाहा छ तर पनि उसैले सोध्छिन्, 'कसरी सल्कियो आगो चाहिँ?'

खड्गबहादुर चाहिँ आगलागी भएको भोलिपल्टै देखि कागजपत्र लिएर निस्किए। कहिले वडा कार्यालय, कहिले प्रहरी कार्यालय। बीमा कम्पनीदेखि नगरपालिका कार्यालयसम्म।

केही राहत पाइएला कि भनेर वडामा निवेदन दिएका थिए। वडाबाट नगरपालिका कार्यालयमा सम्पर्क गर्न भनियो। बीमा कम्पनीबाट पनि केही समय पर्खन अह्राइएको छ।

'लकडाउनले गर्दा सबै प्रक्रिया ढिला भइरहेको छ। तर हाम्रो त जति ढिला हुन्छ त्यति नै ब्याजको भार बढ्छ। ऋणैऋण छ कहिलेसम्म पर्खनु?,' खड्गले भने। मनभरी आफ्ना सन्तान सरह पालेको गाई गुमाउनुको पीडा छ उनलाई। आफ्नै हातले उठाएको गोठ खरानी बन्नुको जलन मनमा छ। दिमागमा ऋणको भारी। चाहेर पनि शान्तिको सास फेर्न पाएका छैनन् उनले।

केही राहत पाए लकडाउन अवधिभरमा गोठ पुन: ठड्याउने र लकडाउन सकिए लगत्तै गाई थप्ने योजनमा छन् उनी। 'गाई त पाल्नै पर्छ। अर्को उपाय नै छैन। व्यवसायिक रुपमा पालन गर्ने भनेर समय, पसिना लगानी गरेका छौं,' उनले भने।

ऋणमाथि ऋण थपिने भयो उनीहरुको। ब्याज बढ्ने भइगयो। छोरीलाई बोर्डिङ पठाउने सपना तुहियो। तर, लत्तो छाड्ने पक्षमा भने छैनन्।

'भवितव्य बाजा बजाएर आउँदै रहेछ। गएको कुरा फर्काउन सकिन्न। बिर्सन झन् गाह्रो हुने रहेछ। तर, रोएर बसेर पनि त हुँदैन,' सरस्वती कुरा मोड्न खोजिन्। आकाशतर्फ हेर्दै भनिन्, 'घाम नचर्किदिए यसलाई अलि कम पोल्थ्यो कि?'

+++

बाटोकै छेउमा भएको गोठ खरानीमा परिणत भएको छ। नियमित त्यही बाटो हिँड्नेहरु टक्क अडिन्छन्। हेर्छन्। चुक्चुकाउँछन् र अघि बढ्छन्। कोही मरेर गएका गाईको पीडा अनुमान गर्दै 'च्वँ च्वँ' गर्छन्। कोही भौतिक क्षतिका लागि दु:ख व्यक्त गर्छन्। केहीसँग प्रश्नका ठेली हुन्छन् – कसरी यस्तो भयो? दमकल आएन? कति वटा गाई थिए?

'पाँच वटा' भन्ने जवाफ सुन्दा, 'ए त्यति मात्र हो?' भन्नेहरु पनि छन्। तर, ती गाई ढकालका परिवारको लागि सबै थोक थियो। त्यसैले ती मानिसको जिज्ञासाको जवाफ फर्काउँदिनन् सरस्वती। आँखा रसिलो बनाउँदै पर हेर्छिन्। वरपर पनि त्यही आगोको रापले छाडेको निशान छ। फर्सीका पातसमेत डढेका छन्। प्लास्टिकका बोराहरु पग्लिएका छन्।

सरस्वती घरीघरी डढेर बाँकी रहेका जस्ता, बाँस र परालको मुठाहरुतिर पुग्छिन्। काली, सेते, माली र रातेलाई मरेपछि गाडेको छेउमा पुग्छिन्। आँखा टल्पलाउँ उनको। तर, सकेसम्म आँशु नखसाल्न कोसिस गर्छिन्। गाई पुरिएको ठाउँतिर हेरेर भन्छिन्, 'यसमाथि चाहिँ फूल रोप्नु पर्ला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell