PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतमा मजदुरी गरी फर्किएका, सेनाले उठायो शव



सुमित मिश्र

धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतमा मजदुरी गरी फर्किएका, सेनाले उठायो शव

जनकपुरधाम : बुधवार बिहान धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतको सुरतमा मजदुरी गरी फर्किएको खुलेको छ। करिब ३० वर्ष उमेरका वीरेन्द्र यादव धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुरका बासिन्दा हुन्।

उनीसहित करिब पाँच सय नेपालीलाई बुधवार बिहान भारतीय सुरक्षाकर्मीले जटही नाकामा ल्याएर छाडेको थियो। भोक र प्यासले व्याकुल र बिरामी जस्तै अवस्थामा रहेका उनको अवस्था गम्भीर देखेपछि नेपाली सुरक्षाकर्मीले चाउचाउ चिउरा र पानी खुवाएका थिए। यादवले चाउचाउ र चिउरा खाएपछि बान्ता गरेको र उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दैगर्दा एम्बुलेन्स आउन ढिला हुँदा उनको मृत्यु भएको थियो।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलका अनुसार बिहान उनीहरुलाई नेपाली सुरक्षाकर्मीले जटही नजिकै रहेको क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए तर उनीहरु उक्त क्वारेन्टाइनमा नबसी आफ्नो स्थानीय तहको क्वारेन्टाइनमा बस्ने अडान लिएका थिए। त्यसैबीच, उनको मृत्यु भएको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। यद्यपि, मृत्युको यकीन कारण भने अनुसन्धानबाट मात्रै खुल्ने पोखरेलले बताए।

यादवको मृत्युको घटनाले नाकामा भारतबाट आएकाहरुको भिड आक्रोशित भएको थियो। उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रहरीको आदेश समेत अवज्ञा गरी जनकपुरधामतर्फ आउने प्रयास गरेका थिए। धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार उनीहरुलाई देवपुरा र गांगुलीको बीचमा रोकेर पाँच वटा बस परिचालन गरी सम्बन्धित स्थानीय तहस्थित क्वारेन्टाइनमा पुर्‍याइने काम भइरहेको छ भने घटनाबारे मृतक परिवारलाई जानकारी गराइएको छ।

यसैबीच, मृतक यादवको शव कसैले उठाउन नमानेपछि मृत्यु भएको करिब ८ घण्टापछि नेपाली सेनाले उनको शव उठाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ। पोस्टमार्टपछि उनको कोरोना परीक्षण गरिनेछ। कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आए परिवारको जिम्मा लगाइने छ भने पोजेटिभ आए नेपाल सरकारको कोरोना संक्रमित मापदण्ड अनुसार अन्तिम संस्कार गरिने सहायक प्रजिअ पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell