जनकपुरधाम : कोरोना भाइरस संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीवार निको भएर डिस्चार्ज भएका हुन्। जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने रमण पहिलो व्यक्ति हुन्।
गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भएको थियो।
पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई बिहिवार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको डा रविरञ्जन प्रसादले जानकारी दिए। चिकित्सक रविरञ्जनले पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको बताए।
कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई शुभकामना दिन फुलमाला लिएर अस्पताल पुगेका थिए।