जनकपुरधाम : प्रदेश नम्बर २ मा मात्रै एक दर्जनभन्दा बढी सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन्। प्रदेश २ को बारामा सबैभन्दा बढी ७, धनुषामा २, सिरहामा २ र सप्तरीमा २ गरी १३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
बिहीवार मात्रै सप्तरी जिल्लाको बोेदेबर्साइन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिरहेका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार यसअघि पनि सप्तरीका एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बिहीवार पुष्टि भएका प्रहरीलाई जोडेर सप्तरीमा २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै, बुधवार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुवेर्दीका सुरक्षागार्ड र चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि सिरहामा पनि २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो। सिरहाका दुवै संक्रमित प्रहरी हाल धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा उपचाररत छन्। एसपी चतुर्वेदी भने होम आइसोलेसनमा बसेका छन्।
यसैगरी, प्रदेश २ को बारामा सबैभन्दा बढी ७ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन्। यस्तै, जेठ १२ गते धनुषाको नगराइन नगरपालिकास्थित प्रादेशिक क्वारेन्टाइनमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) र एक जवान गरी २ जना प्रहरी कोरोना संक्रमित भएका छन्।
प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले सतर्कता अपनाउन प्रहरी कर्मचारीहरुसँग अपिल गरेका छन्।