PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कालीमाटीका १ सय १६ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, तर केही समय क्वारेन्टाइनमै



कालीमाटीका १ सय १६ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, तर केही समय क्वारेन्टाइनमै

काठमाडौँ : महानगरीय प्रहरी वृत्त कालीमाटी तथा अन्य प्रभागमा कार्यरत १ सय १६ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय १६ जनामा कोरोना नभएको पुष्टि भएको हो।

वृत्त कालीमाटीमा कार्यरत एक सई र प्रहरी जवानमा कोरोना देखिएपछि वृत्तमा कार्यरत तथा उनीहरुसँग सम्पर्कमा आएका २ सय ३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। जसमध्ये १ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको हो।

'१ सय १६ जनाको रिपोर्ट आएको छ। जसमा सबैको नेगेटिभ देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

एक सातादेखि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल छ। डिएसपीदेखि जवानसम्मलाई वृत्तमा क्वारेन्टाइनमा राखिएको छ। रिजल्ट नेगेटिभ आए पनि उनीहरुलाई केही समय क्वारेन्टाइनमा नै राखिने एसएसपी ज्ञवालीले बताए।

'उनीहरु समूहमा छन्। त्यसैले सबैको रिजल्ट आएपछि क्लस्टर छुट्याएरमात्र बाहिर निकालिन्छ,' एसएसपी ज्ञवालीले भने।

वृत्तका सबै प्रहरी क्वारेन्टाइनमा भएपछि अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अन्य ठाउँबाट सुरक्षाकर्मी ल्याएर सुरक्षामा खटाइएको छ।

अहिलेसम्म १९ जना प्रहरीमा सङ्क्रमण देखिएको छ। सङ्क्रमण भएकामा प्रहरी निरीक्षकदेखि जवानसम्म रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अहिलेसम्म बारामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेका छन्। बारामा ७ जना प्रहरीमा कोरोना पोजेटिभ दिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell