PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ का सांसदहरुको कोराना परीक्षण सुरु, चौथो अधिवेशनको तयारी



सुमित मिश्र

प्रदेश २ का सांसदहरुको कोराना परीक्षण सुरु, चौथो अधिवेशनको तयारी

जनकपुरधाम : कोरोना महामारीकाबीच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश २ को चौथो अधिवेशन जेठ २१ गतेदेखि सुरु हुन लागेको छ। मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्मका लागि सेसन अन्त्य गरिएको र २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

बैठक हलमा सामाजिक दूरी कायम गरी तीन कुर्सीको बीचमा एक कुर्सी खाली राखेर प्रदेशसभा सदस्यहरुलाई बस्नेगरी व्यवस्थापन समेत मिलाइएको मन्त्री यावदले बताए। असार १ गते नीति तथा कार्यक्रम र त्यस लगत्तै बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभा बैठक बस्न लागेको हो।

सांसदहरुको कोराना परीक्षण सुरु

जेठ २१ गते बस्ने प्रदेश सभा बैठकका लागि बिहीवारदेखि प्रदेश सांसदहरुको कोरोना परीक्षण थालिएको छ। प्रदेशसभाको अधिवेशन मिति आउन केही दिनमात्र बाँकी हुँदा यहाँका सांसदहरूको कोरोना परीक्षण थालिएको हो।

बिहीवारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ। पहिलो दिन उप–सभामुख उपमाकुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए। उनका अनुसार प्रदेशका १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ प्रहरी र ६० कर्मचारीको कोरोना परीक्षण हुनेछ।

प्रदेशसभाको चौथो अधिवेशन आगामी जेठ २१ गते आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधवार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन सुरु गरिएको सभामुख यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell