PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाकामा अलपत्र परेका भारतीय मजदुरको पीडा : एसएसबीले दिएन स्वदेश फर्किन, ‘नेपालीले भने माया गरेका छन्’



सुमित मिश्र

नाकामा अलपत्र परेका भारतीय मजदुरको पीडा : एसएसबीले दिएन स्वदेश फर्किन, ‘नेपालीले भने माया गरेका छन्’

जनकपुरधाम : नेपाल सरकारले नागरिकलाई स्वदेश फर्काउने र भारतीय नागरिकलाई भारत पठाउने निर्णय गरेपछि नाकामा आवतजावत बढेको छ। गत जेठ ४ गतेबाट नाकाहरु खुल्ला गरिएपछि हजारौँ नेपाली घर फर्किएका छन्।

तर, धनुषाको जटही नाकामा भने सयौँको संख्यामा भारतीय मजदुरहरु बिचल्लीमा परेका छन्। जटही नाकामै गत बुधवार धनुषाका एक युवकको ज्यान गएपछि बिहीवार एकाएक जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका बन्द गरिएको सूचना समेत जारी गरेको थियो।

नाका बन्द गरिएपछि सीमामा खटेका नेपाली सुरक्षाकर्मीले भारतीयलाई नाका कट्न दिएपनि भारतीय एसएसबी जवानहरुले उनीहरुलाई लखेट्दै फेरि नेपाली भूमीमै फर्काएका थिए। आफ्नो देश फर्कनका लागि राजधानी काठमाडौंबाट फर्केका सयौँ भारतीय मजदुुरहरुलाई आफ्नै देशका एसएसबीले लखेटेपछि उनीहरु सीमामा अलपत्र परेका हुन्।

राति सीमा कट्न खोज्दा भारतीय सीमा सुरक्षा बलले गाली गलौज गर्नुका साथै हातपात समेत गरेको भारत बिहारको दरभंगा जिल्लाका राहुल कुमारले दुखेसो पोखे।

उनले भने, ‘हामीले घर जान दिनलाई आग्रह गर्‍यौँ तर मध्य रातमा भारतीय सीमा सुरक्षा बलका जवानहरुले लेखेट्दै फेरि नेपाली भूमिमै पुर्‍याइदिए।’

उनीहरु सबै विभिन्न माध्यमबाट जटही नाकासम्म आइपुगेका छन्।

बिहीवार राति नै नाकामा आइपुगेका मजदुरहरु आफ्नो देश जान खोजेका छन तर कसरी जाने? यसको समाधान न नेपालको सरकारले गर्न सकेको छ न भारतीय सरकारले चासो देखाएको छ।

दुई सन्तानसहित जटही नाकामा पुगेका दरभंगाकै मलभोगीया देवी भारतीय एसएसबी जवानको रबैयाप्रति एकदमै क्रुद्ध छिन्।

‘मेरै सरकारको प्रहरीले लखेट्दै फेरि नेपाली भूमिमै फर्काइदियो, घर पुग्ने चाहना पूरा होला नहोला थाहा छैन’, उनले भनिन्, ‘काम गर्नलाई नेपाल आएका थियौँ, मुख जोर्ने कुनै उपाय नभएपछि घर फर्कन लागेका हौँ।’

सोही स्थानकी अर्की महिला राजकुमारी देवी पनि काखमै दुई वर्षको छोरो लिएर जटही पुगेकी छिन्। उनलाई आफूभन्दा पनि आफ्नो सन्तानको पीडाले धेरै पिरोलेको छ।

‘भारतीय प्रहरीले त लखेट्यो तर यहाँ नेपालीहरुले माया गरेका छन्, उनीहरुले नै दिएको चाउचाउ, चिउरा बिस्कुट तथा खाना खाइरहेका छौँ,’ उनले भनिन्।

नाकामा पीडा खेपिरहेका भारतीय नागरिक आफ्नो सरकारसँग क्रुद्ध भएका छन्। आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा बढी नेपाल सरकारले ध्यान दिएको उनीहरू बताउछन्।

भिठ्ठामोड नाका पनि भारतीय पक्षद्वारा बन्द

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले धनुषाको जटही तथा खजुरी नाका बिहीवार नै बन्द गरिएको बताए।

उनले भने, ‘धनुषा आउन अब महोत्तरीको भिठ्ठामोड र सिरहाको माडर नाका प्रयोग गर्न पाउने छन्।’

नेपालबाट भारत जानेहरुले लागि पनि धनुषाको नाका भन्दा महोत्तरी र सिरहाको नाका प्रयोग गर्न सक्ने उनले बताए।

पोखरेलले भने, ‘भारतीय पक्षले जान दिने वा नदिने त्यो म भन्न सक्दिनँ तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिठ्ठामोड र माडर नाका नै प्रयोग गर्न सकिन्छ।’

यता महोत्तरीको भिठ्ठामोड नाका नेपाली पक्षबाट खुल्ला गरिए पनि भारतीय पक्षले भने बन्द गरेको बताइएको छ। त्यहाँ पनि हजारौँ व्यक्ति अलपत्र परेका छन्। भिठ्ठामोड नाका नेपाल तर्फबाट खुल्ला गरिएको तर भारतीय पक्षद्वारा बन्द गरिए नगरिएको विषयमा आफूलाई जानकारी नरहेको प्रदेश दुईका डिआइजी धिरज प्रताप सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell