PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीसीआर परीक्षण नगरी पठाउँदा क्वारेन्टाइनबाट घर फर्किएकाहरु असन्तुष्ट, ‘६/७ दिनमै घर फर्काइयो’



सुमित मिश्र

पीसीआर परीक्षण नगरी पठाउँदा क्वारेन्टाइनबाट घर फर्किएकाहरु असन्तुष्ट, ‘६/७ दिनमै घर फर्काइयो’

जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई पीसीआर परीक्षण नगरी आरडीटी मात्रै गरेर पठाउँदा क्वारेन्टाइनबाट घर फर्केकाहरु असन्तुष्ट देखिएका छन्। पीसीआर परीक्षण नै नगरी फर्काउँदा महोत्तरीको बलवा नगरपालिकामा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना बढेको घर फर्केकाहरुले दावी गरेका छन्।

नगरपालिकाले नगरभित्र बनौटा, रौजा बजार, रौजा मजार र बन्चौरी सहितका ४ ठाउँमा क्वारेन्टाइन निर्माण गरेको छ। ती क्वारेन्टाइनमा रहेका भारतबाट आएका र शंकास्पद व्यक्तिहरुलाई आरडीटी परीक्षणमात्र गरी फर्काइने गरेको छ। आरडीटी भरपर्दो नरहेको र आफूहरुलाई पीसीआर परीक्षण नै नगरी ठाउँ अभाव रहेको भन्दै नगरपालिकाले ६/७ दिनमै घर फर्काउने गरेको क्वारेन्टाइनबाट घर फर्केकामध्येका एक जनाले बताए।

उनले भने, ‘आरडीटी भरपर्दो नरहेकोले पीसीआर परिक्षण नै नगरी कोरोना संक्रमण छैन भनेर घर फर्काउनुको मतलब नगरभित्र संक्रमण फैलाउनु हो। हामीले पटक पटक पीसीआर परीक्षण गरेर मात्र घर पठाउनु भन्दा पनि सम्बन्धित मेयर र क्वारेन्टाइन संयोजकले कुनै सुनुवाई गरेनन्।’

नगरपालिकाका स्वास्थ्य प्रमुख यमुना प्रसाद यादवले पनि आरडीटी मात्र गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने गरिएको स्वीकार गरे। यद्यपि, ६/७ दिनमै घर फर्काइने भने नगरिएको उनले बताए।

प्रमुख यादवले भने, ‘हामीले ६/७ दिनमै कसैलाई घर फर्काएको छैन, जहाँसम्म जाँचको कुरा छ हामीले जिल्ला जनस्वास्थ्य र प्रदेश स्वास्थ्य महाशाखासहित सम्बन्धित निकाय सबैलाई पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न भनिसकेका छौं। कुनैपनि निकायले चासो लिएको छैन। यहाँ भारतबाट आउने मान्छेहरुको चाप अत्यधिक छ, पीसीआर परीक्षणको पर्खाइमा उनीहरुलाई क्वारेन्टाइन बाहिर राख्न मिल्दैन, त्यसैले मापदण्ड अनुसार १४ दिन बसेकाहरुलाई आरडीटीकै आधारमा घर फर्काउने गरेका छौँ।’

हाल बलवा नगरपालिकामा बनौटामा २५, रौजा बजारमा २५, रौजा मजारमा ५० र बनचौरीमा १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। बनौटा बाहेक सबै क्वारेन्टाइनमा भारतबाट आएका स्थानीयले भरिएको छ। बनौटास्थित क्वारेन्टाइनमा भारतको बेङगलुरुबाट आएका ३ जना विद्यार्थी मात्र रहेको छन्।

स्वास्थ्य प्रमुख यादवका अनुसार हालसम्म ती क्वारेन्टाइनबाट ६३ जनालाई आरडीटी गरी घर फर्काइएको छ। घर फर्केकाहरुमा कोरोना संक्रमण नरहेको उनको दावी छ।

क्वारेन्टाइन अव्यवस्थित

बलवा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन मापदण्ड विपरित र अव्यवस्थित रहेको आरोप समेत लगाइएको छ।

सरकारले बिजुली, सञ्चार, शौचालय र खानेपानी सुविधासहितको कम्तिमा एक सय बेडको क्वारेन्टाइन निर्माण मापदण्ड निर्धारण गरेको छ। क्वारेन्टाइनबाट फर्केका व्यक्तिहरुका अनुसार पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ती सुविधाहरु उपलब्ध छैनन्।

उनले भने, ‘शौचालय निकै फोहर छ र क्वारेन्टाइन पनि सफा गरिँदैन। त्यसमा बस्नेहरुले आफैँ कोठा सरसफाई गर्दै आएका छन्। लाइन काटिएपछि राति राति अध्याँरोमै बस्नु परेको थियो।’

उनका अनुसार क्वारेन्टाइन सुरक्षा व्यवस्था नभएको कारण क्वारेन्टाइनमा बसेकाहरु बाहिरसमेत घुमफिर गर्ने गरेका छन्। उनीहरु मन लागे घर गएर परिवारसँग घुलमिल समेत गर्ने गरेका छन्।

यस सम्बन्धमा स्वास्थ्य प्रमुख यादवले भने, ‘हतारमा क्वारेन्टाइन निर्माण गरियो, चाँडै नै हामी सबै कुराको व्यवस्थापन गर्नेछौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell