PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कोरोनालाई जितेका यादव भन्छन्, ‘कोरोनाभन्दा बढी अस्पतालको अव्यवस्थित वातावरणले चिन्तित बनायो’



सुमित मिश्र

कोरोनालाई जितेका यादव भन्छन्, ‘कोरोनाभन्दा बढी अस्पतालको अव्यवस्थित वातावरणले चिन्तित बनायो’

जनकपुरधाम : धनुषामा थप एक जना कोरोना भाइरस (कोभिड-१९)लाई जितेर डिस्चार्ज भएका छन्। महोत्तरी स्थायी घर भई हाल जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका पुस्तक व्यवसायी विजय चौधरीले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन्। ३५ वर्षीय पुस्तक व्यवसायी चौधरीले १९ दिनमा कोरोनालाई पराजित गरेका हुन्।

उनले आइसोलेसनमा भर्ना भएदेखि प्रादेशिक अस्पतालको व्यवस्थापन देखि खानपानमा निक्कै कन्जुस्याई हुने गरेको गुनासो गरे।

उनले भने, ‘मलाई कोरोना लागेको थियो, तर मलाई कोरोनाभन्दा बढी अस्पतालको अव्यवस्थित वातावरणले चिन्तित तुल्याउँथ्यो। तर, आज कोरोनालाई हराउँदै मैले जितेको महसुस गर्दैछु।’

आइसोलेसनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधा समेत उपलब्ध गराउन नसकेको चौधरीको गुनासो छ।

उनले भने, ‘परिस्थिति खराब भएपनि मनस्थिति बलियो थियो, जस्तोसुकै लडाई पनि जितिन्छ, भन्ने मनसायको अगाडि कोरोनाको केही लागेन।’

कोरोना संक्रमित भई वैशाख ३१ गते आइसोलेसनमा भर्ना भएका चौधरीले मनमा डर उत्पन्न भएपनि कोरोना जितेरै छोड्छु भन्ने सोच राखेको बताए।

‘कोरोना भन्दा बलियो मन थियो, कोरोनासँग लड्न उच्च मनोबल थियो र आज कोरोनालाई हराउँदै विजयी भएको छु,’ उनले भने।

गत वैशाख ३० गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी धनुषामा दोस्रो संक्रमितको रुपमा आइसोलेसनमा भर्ना भएका थिए।

उनीसँगै कोरोना संक्रमित भएका जनकपुरधाम उप–महानगरपालिकाका पत्रकार वीरेन्द्र रमण गत बिहीवार नै डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell