PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

मृत्यु अघिअघि, सरकार पछिपछि, अनि सधैं लकडाउन? [सम्पादकीय]



मृत्यु अघिअघि, सरकार पछिपछि, अनि सधैं लकडाउन? [सम्पादकीय]

नेपालमा अहिलेसम्म ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु भएकामध्ये १ जनामात्र उपचाररत विरामी थिए जसलाई कोरोना भएको आखिरितिरमात्र थाहा भयो। बाँकी जति विते ती सबै अकारण नै विते। मरेपछिमात्र थाहा भयो, उनीहरु कोरोना संक्रमित हुन्।

मरेपछिमात्रै कोरोना पुष्टि हुने सिलसिला लगातार जारी छ। विश्व स्वास्थ्य संगठनले विपन्न मुलुकहरुमा अस्पताल नै नपुगी कोरोना संक्रमित मर्ने उच्च जोखिममा रहेको जनाइसकेको छ। उसले यस अवधिमा गरिब देशमा हुने सबैखाले मृत्युको लेखाजोखा राख्न भनेको छ। सबैभन्दा समृद्धिको सपना बाँड्ने र प्रचार गर्दैमा मुलुक सम्पन्न हुने भए हामी डब्लुएचओको निरीह मुलुकको वर्गमा हुने थिएनौं। र, मृत्युपछिमात्रै कोरोना पुष्टि भएको खबर हामीले सार्वजनिक गरिरहनपर्ने थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीकै संसदको अभिव्यक्तिलाई आधार मान्ने हो भने भारतबाट नेपालमा संक्रमण भित्रिरहेको छ, जुन एकदमै घातक छ। भारतबाट देशको माटो टेक्नासाथ मानिसहरु मरिरहेका छन्। कतिमा कोरोना पुष्टि भएको छ त कति भोककै कारण छट्पटिएर शरीरबाट मुक्त भइरहेका छन्। संक्रमितको संख्या थपिनु वा मर्नेको संख्या क्रमश थपिनुमा भारतबाट धेरै संख्यामा मानिसहरु भित्रनु प्रमुख कारण हो। अझ, कोरोना मुक्त नेपालको आत्मरतिमा अल्झिएका प्रधानमन्त्रीको भनाईमा - कोरोना संक्रमणको अहिलेको अवस्था आउनुमा भारतको हात छ। धरातलीय यथार्थ प्रधानमन्त्रीले भने झै हो। भारतबाट मानिसहरु आउँथेनन् भने हामी कोरोनाबाट पहिल्यै मुक्त भइसक्थ्यौं। तर, भारतमा नेपालीहरु गए चाहिँ किन त?

देशको दुरदराजमा रहेका मानिसको पेट बालुवाटारबाट जारी हुने समृद्धिको प्रवचनले भरिन्न। अनि उनीहरु देश छोड्न बाध्य हुन्छन्। उतैको मजदूरीको भरमा घरमा खर्च पठाउँछन्, खाली पेटहरु भर्छन्। तर, जब उनीहरु संकटमा पर्छन् समृद्धिको बखान गर्नेले सीमा बन्दलाई सुत्र बनाउँछ, कोरोना रोकथामको। आफ्नै नागरिकलाई सीमापारी थुनेर कोरोना रोक्ने सुत्र अन्तत: फेल भयो। भारतले ठेलेर सीमासम्म पुर्‍याइदिए, बालुवाटारले भन्यो - आउन नदिनु। पछिल्लो दुई महिना यसैगरी चल्यो। महाकाली किनारकाले बाँकटे हान्दै सीमा पार गरे, तराईका मैदानी फाँटबाट देश छिर्न चोरबाटो खोजे र छिरे। उनीहरुसँगै कोरोना पनि भित्रियो। निषेधकै भरमा कोरोना रोक्न बालुवाटार असफल भयो। कोरोनाका कारण मृत्यु हुन नदिने उद्‌घोष आफैँ मर्‍यो। सीमापारीबाट प्रशासकहरुले नेपालीलाई फिर्ता गर्न धम्की दिएपछिमात्र सीमानाकामा ढोका खुल्यो - हुलका हुल नेपाली ओइरिए।

कथनी र करनीमा ठूलो अन्तर भयो। बालुवाटारले सधैं तयारी अवस्थामा रहेको बोलिरह्यो। सीमासँग जोडिएका पालिकाहरुमा क्वारेन्टाइनको बिद्रुप हाल पनि कायमै रह्यो। क्वारेन्टाइनबाट भाग्न खोज्नेहरु बढे। आफ्नो माटोमा टेक्नासाथ ठहरै हुनेहरु पनि थपिए। भोक र अभावसँग भिड्दै आफ्नै मुलुक छिर्न यतिसम्म संघर्ष गर्नपर्‍यो कि उनीहरुले आफ्नो ज्यान जोगाउन सकेनन्। जो ज्यानसहित देशमा आए, बेहाल पारामा स्कुलका टहराहरुमा रात विताउन वाध्य भए। परीक्षणको प्रतीक्षामा अर्को पीडा। संक्रमित नभएकाहरु पनि संक्रमित हुने भय। अझ संक्रमित पुष्टि भएका मानिसहरुलाई लिएर धरान पुगेको एउटा गाडीमा मानिस रातभर अलपत्र पारिए। अस्पतालले ढोका खोलेन। कोरोना संक्रमणको त्रासले खानसमेत नमानी अस्पताल हुन्निएकाहरु त्यही ठिँगुरिए। बालुवाटार व्यस्त थियो, अन्तै। बालुवाटारसँग एउटा सुत्र छ संक्रमणबाट बच्ने - लकडाउन। फेरि लकडाउन। फेरि पनि लकडाउन।

मृत्यु भएपछि कोरोना जाँच्दै जाने र मृत्युको कारण मिलेसम्म अरु नै कारण खोज्ने सरकार, त्यसैलाई सघाउने नेता र कार्यकर्ता। लकडाउनमा फसिरहने जनता। अव्यवस्थाको हद अब कहिलेसम्म? लकडाउन कहिलेसम्म? मरेपछिमात्र परीक्षण कहिलेसम्म? क्वारेन्टाइनमै ज्यान गुमाउनुपर्ने कहिलेसम्म? बालुवाटार अब यी प्रश्नमा बोल्न आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell