PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनमा चिटिक्क विमानस्थल : थपियो धावनमार्ग, उडान अवतरणको पूर्वतयारी धमाधम

लकडाउनमा चिटिक्क विमानस्थल : थपियो धावनमार्ग, उडान अवतरणको पूर्वतयारी धमाधम


काठमाडौं : लकडाउनपछि हवाई उडान अवतरण गर्न यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले धमाधम पूर्व तयारी गरिरहेको छ। लकडाउनकै अवधिमा विमानस्थलले नयाँ प्रस्थान कक्ष संचालनमा ल्याएर पुरानो प्रस्थान कक्ष भत्काउन सुरु गरिसकेको छ।

विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेटदेखि बोर्डीङसम्म र जहाजदेखि आवगमन कक्षको मुख्य प्रवेश द्वारसम्म स्वास्थ्य सुरक्षा अवलम्बनको पूर्व तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बताए।

विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनभित्र सामाजिक दुरी कायम गर्न स्टेराइल हल, ब्यागेज ह्याण्लिङ, बोर्डिङलगायत विभिन्न कक्षमा धमाधम सामाजिक दुरी कायमका लागि एक मिटरको फरकमा मार्किङको काम भइरहेको छ।

‘लकडाउन भइरहँदा पनि स्वास्थ्य सुरक्षाको पूर्व तयारी सँगै विमानस्थलको टर्मिनल बिल्डीङ, प्रस्थान कक्ष, आगमन कक्षमा स्कालेटर जडान, धावनमार्ग विस्तारका काम हरु बढाइरहेका छौँ। यो विषम परिस्थितीलाई विमानस्थल क्षमता विस्तारका लागि एउटा अवसरको रुपमा पनि लिइरहेका छौँ। यहाँ परिचालित सबै जनशक्तिको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम अगाडी बढाइरहेका छौँ,’ महाप्रवन्धक केसीले भने।

विमानस्थलको चेकिङ काउन्टर, ब्यागेज ह्याण्डलिङ, टिडीओ, स्वास्थ्य चेकजाँच कक्ष, प्रस्थान, आगमन लगायत कक्षमा स्वास्थ्य सुरक्षा अवलम्बन सुरु भइसकेको छ।

‘हामी अहिले पूर्व तयारी गरिरहेका छौँ। सरकारले निर्देशन दिए लगत्तै हामी विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डअनुसार सेवा दिन तयार हुनेछौँ,‘ उनले भने।

तीन सय मिटर धावनमार्ग विस्तार, कालोपत्रेको काम सकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारको कालोपत्रे काम सकिएको छ। लकडाउनका कारण विस्तार गरिएको धावनमार्गमा जडान गर्नुपर्ने आवश्यक विद्युतिय सामाग्री नआइपुग्दा तत्काल प्रयोगमा नआउने आयोजना निर्देशक मुरारी भण्डारीले बताए।

'अहिले विस्तार गरिएको तीन सय मिटर धावनमार्गको सिभीलको काम सकिसकेको छ। एप्रोच लाइट रनवे एज लाइट रनवे सेन्ट्र लाइटलगायतका विद्युतीय उपकरण आउन बाँकी छ। युरोप लगायत विभीन्न मुलुकबाट आउनु पर्ने सामान उद्योग नै बन्द भएका कारण तत्काल आइपुग्ने अवस्था नरहेको जानकारी आएको छ,' आयोजना निर्देशक भण्डारीले भने।

विद्युतीय उपकरण आइसकेपछि डेढ महिनाभित्र जडानको काम सकिने उनले बताए। 'अर्डरअनुसारको सामान तयार भइसकेको छ। बन्दाबन्दीका कारण सामान आउन अजै समय लाग्ने देखिन्छ,' उनले भने।

धावनमार्गको विस्तारअन्तर्गत सिभिलको काम गत शुक्रवार सकिएको छ।

विस्तार हुन अघि यो विमानस्थलको लम्बाई ३ हजार ५० मिटर रहेको थियो। धावनमार्गमा ३ सय मिटर लम्बाई विस्तार गरिएपछि विमानस्थलको लम्बाई ३३ सय ५० मिटरको रहनेछ। चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान-अवतरणमा सरकारले प्रतिबन्ध लगाएपछि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घन्टा धावनमार्ग विस्तारको काम सुरु गरिएको थियो।

कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको यस परियोजनाको लागत भ्याटबाहेक करीब ८० करोड रुपैयाँभन्दा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पटक पटक दबाव दिँदै आएको थियो। तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन। पछिल्लो समय लकडाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो। धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell