PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश र स्थानीय सरकारविरूद्ध जनकपुरमा तरूण दलले निकाल्यो मसाल जुलुस



सुमित मिश्र

प्रदेश र स्थानीय सरकारविरूद्ध जनकपुरमा तरूण दलले निकाल्यो मसाल जुलुस

जनकपुरधाम : नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल धनुषाले प्रदेश र स्थानीय सरकारविरुद्ध मसाल जुलुस निकालेको छ। आइतवार साँझ तरुण दलले जनकपुरधाम नगरमा प्रदर्शन गर्दै स्थानीय सरकार र प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुस प्रदर्शन गरेको हो।

सो मसाल जुलुस प्रदर्शन गरी कोण सभा गर्ने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ। जनकपुरको राम चोकबाट निस्केको मसाल जुलुसले जनक चोक, शिव चोक, भानु चोकसम्म प्रदर्शन गर्दै कोण सभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको थियो।

प्रहरीले लाठी चार्ज गरेपछि यूवाको भिड तितरवितर भएको थियो। प्रहरीको लाठी चार्जबाट तरूण दलका युवा नेता एवं निर्माण व्यवसायी महासंघका महासचिव रमेश यादव घाइते भएका छन्। जनकपुरको आरटीपीसीआर मेसिन यथाशिघ्र शुरु गर्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने र भारतको सीमामा फसेको नेपाली नागरिकलाई यथाशिघ्र ल्याउनुपर्ने माग गर्दै तरुण दलले प्रदर्शन गरेको थियो।

स्थानीय सरकार र प्रदेश सरकारले कोरोनाको नाममा करोडौँ बजेट खर्चे पनि क्वारेन्टाइन तथा आइसोलेसनमा डब्लुएचओ मापदण्ड अनुसार खाना, खाजा र बासको व्यवस्थापन नगरी भ्रष्टचार गरिरहेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले बताए।

लकडाउनको अवधिमा भिडभाड, भेला तथा सभाहरु गर्ने व्यवस्था नरहेकोले प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell