- राजु आचार्य-
करिब ६७ वर्षअघि उनी ९ वर्षकी थिइन्। उनी अर्थात् बिना बराल। उनको बिहेको कुरो चलिरहेको थियो त्यतिखेर। कास्की जिल्लाको तत्कालीन आर्बा गाउँका शेखरनाथ बराल उनका बुबा। विवाहको कुराले उनको कुनै काम रोकिएको थिएन। रनवन डुल्थिन्। जेठको महिना थियो। सधैँ झैँ एक दिन बाख्रालाई खरबारीमै छाडेर चौतारामा साथीसँग गोटी खेल्न थालिन्।
माइली छोरी भए पनि सबैले मायाले कान्छी भन्थे उनलाई। खेल्दाखेल्दै चिट चिटगर्दै दुईटा फट्याङ्ग्रा नजिकैको पातीको टुप्पामा बस्न खोज्यो। पातीको बोटले धानेन। त्यो किरा भुईँमा बजारियो। पातीको बोट हल्लिरह्यो। गोटी खेल्न बसेका उनीहरु दुवैले रमाइलो माने त्यो दृष्य। गर्मीले पसिनापसिना भएका बेला हावा चलेजस्तो भयो।
‘कति ठूलो हो यो फट्याङ्ग्रा?,’ कान्छीले भनिन्, ‘यो त हाम्रोतिर पाउने जस्तो पनि छैन। रङ पनि अर्कै छ त।’
‘डर लाग्ने है,’ डहर पारिकी ठूलीले डर व्यक्त गरिन्। फट्याङ्ग्रा उड्यो र गाउँतिर लाग्यो। उनीहरू फेरि खेल्न सुरु गरे।
एकै छिनपछि अनौठो आवाज सुनिन थाल्यो । बिस्तारै बिस्तारै फट्याङ्ग्राहरूको सङ्ख्या बढ्न थाल्यो। हजारौँ फट्याङ्ग्राहरू उडिरहेका थिए। दिनको टन्टलापुर घाममा पनि बादल लागेको जस्तो भएको थियो। आकाशै देखिएको थिएन। डरले होला, बाख्रा कराउन थाले। कान्छी र ठुली दुवै डराए। आमा... आमा... भन्दै घरतिर दगुरे। घर नजिक पुग्दा उनीहरुका बा आइपुगे। उनीहरूलाई बल्ल बाँचे जस्तो लग्यो। बाले घर भित्र लगे दुवै छोरीलाई।
‘नडराऊ है, यो सलह हो। २/४ दिन यतै बस्छन्। घरबाट बाहिर ननिस्कनु,’ उनले थपे, ‘तेरी आमा पनि डराइ होली, तल गोठमा छे। म लिएर आउँछु।’
निस्कने बेलाम फेरि बाले भने, ‘यसले आँखा फोर्च। ननिस्क है।’
यतिबेला सम्म घर वरिपरिको मकै बारी, बर्खे तरकारी सबैतिर किराहरू थुप्रै जम्मा भइसकेका थिए। उनीहरू भने आँखा फोर्च भनेपछि निकै डराएका थिए।
उनीहरुका बा कुचो हातमा लिएर कराउँदै आमालाई लिन लागे। हिँड्दा कुचोले सलहलाई हान्दै हिँडिरहे उनी। हल्ला गर्यो भने सलह भाग्छ भन्ने उनले सुनेका रहेछन्।
त्यो घटना भएको १ हप्तापछि बिनाको विवाह पोखरा गौंडाकोमुखका पशुपति आचार्यसँग भयो। पशुपति आचार्य त्यतिखेर १३ वर्षका थिए।
मैले उनलाई पनि सोधे, ‘अनि पोखरामा सलह आएन त?’।
आर्बा र पोखरा त्यति टाढा पनि छैन।
उनी विगतमा फर्किए। ‘किन नआउनु, बारीमा मकै केही बाँकी थिएन। पोलेर खाने बेला भएका मकै, पात र माथिल्लो भाग सबै सखाप पार्यो। भुइँदेखि १ हात जतिमात्र बाँकी थियो होला। घिरौला, चिचिन्डा, फर्सी सबै सखाप पर्यो नि। मुना पलाएका डाले घाँस समेत खाएर सिध्याए। हप्ता दिनपछि कता गए कता।’
उनी एकै छिन रोकिए। फेरि केही सम्झे झै गरी सुनाए, ‘हामी तिनलाई मारिदिन्थ्यौं। पखेटा र खुट्टा चुँडाएर डालोमा जम्मा गरिन्थ्यो। डालो भर्न समय नै लाग्थेन। मैले त खाइन, तर मेरा साथीहरूले भुटेर लामो समयसम्म खाए।’
‘अनि तपाईँले नखाने भए किन मार्नु भएको त?’
‘तिमीहरू त्यति बेला भएको भए, तिमीहरूले पनि मारी हाल्थ्यौं। कम रीस उठेको थियो! हाम्रा खानेकुरा त सब सखाप पारेको थियो त।'
उनको कुरा सुनेपछि मैले अपडेट गराए सलहको। भारतबाट नेपाल छिर्न सक्ने सुनाएपछि उनीहरु चिन्तित देखिए।
उनीहरू दुवैले भने, ‘कोरोनाले यस्तो तहसनहस पारी सक्यो। त्यो आयो भने के खाने हो झन्?’
+++
महोरे, गुल्मीमा जन्मिएकी राधिका पौडेलले सुरुमा सलह भन्ने थाहा नै पाइनन्। 'सलह भनेको ठूलो फट्याङ्ग्रा त रहेछ नि! सलह बसेका रुख, बाली सबैमा डाँठ र हाँगा मात्रै बाँकी थिए। त्यो वर्ष मकै खान पाइएन,’ उनले सम्झिइन् सलहको कहर, ‘धेरै मानिसले घिउमा भुटेर खाए। मीठो हुन्छ भनेको सम्झन्छु। हो कि होइन थाहा भएन, तर तेल लगाएर घाममा राखेको दूधे बालक पनि सलहले खाएको भनेर हल्ला गर्थे त्यतिखेर।’
पाल्पा रामपुरका ८६ वर्षीय अनन्तराज घिमिरेले पनि सलहको कहर भोगेका छन्। ‘त्यो हेर्दा बच्चा बोकेको फट्याङ्ग्रा जस्तो थियो। दिउँसोको समयमा आएको। बारिभरी मकै थियो। भुन्न ... गर्दै आयो। लाखौँ थियो। मकैको डाँठ पनि छाडेन। मुना पलाएका रुखहरू पनि उजाड बनाएको थियो,’ उनले सलह आउँदाको अवस्था सम्झिए, ‘थोरै जग्गा हुनेहरूलाई त्यो वर्ष निकै दु:ख भयो।’
त्यतिखेर उनले सुनेका थिए - मरेको सिनो पनि त्यसले २-३ घण्टामा सक्थ्यो रे।
भारतसम्म आइसकेको सलह नेपाल आउला भन्ने डर उनीहरुमा झन् बढी छ। किनकि त्यसको असर पहिले नै भोगिसकेका छन् उनीहरुले।
+++
प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाहका अनुसार बालीनाली नोक्सान गर्ने यस्ता किराहरू बाह्रै महिना दु:ख दिइरहन्छन्। 'तर यसरी समूहमा आएर दु:ख दिने लामो समयपछि हुनेगर्छ,' उलने भने, 'सलहले दु:खमात्र होइन, यसलाई समातेर खान सके हाम्रो शरीरलाई चाहिने प्रोटिन पनि प्राप्त हुनसक्छ। तर, मैले अहिलेसम्म खाएको छैन्।’
शाहले पनि बुढापाकाबाट यसबारे धेरै सुनेका छन्। ‘यसले खेती बिगार्नेमात्र होइन। सलह पसेको खेत/बारीमा अर्को वर्ष निकै राम्रो खेती पनि हुन्छ,' बुढापाकाबाट सुनेको भन्दै बताए उनले।
करौडौंको सङ्ख्यामा देखिने यो किरालाई नियन्त्रण गर्न गाह्रो मात्रै होइन लगभग असम्भव नै छ। संसारभरि यसको नियन्त्रणको लागि निकै प्रयासहरू गरिएका छन्। जस्तो कि चर्को आवाज निकालेर लखेट्ने, विषादी छर्कने, हेलिकप्टरबाट औषधि छर्कने, जालो थापेर समाउने र खाने, आगोको प्रयोग गरेर मार्ने, समूहलाई तितरबितर पार्ने, हाँस वा कुखुराको प्रयोग गर्ने आदिआदि।
यही प्रसङ्गमा शाहले नेपालको सुदूरपश्चिममा प्रचलित एउटा प्रसङ्ग सुनाए, ‘गाउला कुन्टेबुढो नाम गरेको एउटा नामुद गितारु (देउडा गीत गाउने) मानिस रहेछ। गाउँमा अनिकाल परेको थियो। सोही बेला उसको गाउँमा सलहको झुन्ड आएछ र उसको खेतमा लगाएको बाली पनि खान थालेछ। त्यो देखेर उसले गीत गायो र त्यो सुनेर सबै सलहहरू त्यो ठाउँबाट उडेर अर्कै ठाउँ गएछन्।'
मलाई अचम्म लाग्यो। संसारभर नियन्त्रण गर्न गाह्रो भएको त्यो सलह गीत सुनेर कसरी गयो होला?
‘कस्तो गीत होला?’ प्राध्यापक शाहलाई सो गीत भन्न अनुरोध गरे।
उनले भने, 'यो अनिकाल पर्याबेला क्याखान आया हौ। यो खेत कुन्टेको भनी कसरी राया हौ।’ अर्थात् यस्तो अनिकालको बेलामा के खान आएको हो? फेरि यो खेत कुन्टेको भनेर कसरी चिनेको होला?’
तर पोखराका राजनीतिक विश्लेषक विश्व सिग्देल आफ्नो फेसबुकमा लेख्छन- ‘हिजो सलहको अतिक्रमण हामीले ठूलो नोक्सानीबिनै झेल्यौं। त्यति ठूलो क्षति हुन नसक्नुको कारण विशाल वन क्षेत्र हो। त्यहाँ सलहजस्ता शत्रु जीवलाई आहार बनाइदिने चराचुरुङ्गी, सर्प आदिका लागि उत्तम वासस्थान र आहारको प्रबन्ध थियो। वनजन्य रुखपात फलहरूले सलहलाई आहार दिएर उनीहरूलाई बाली नालीमा नपस्न पर्खाल पनि बनेका थिए। अब त उनीहरू नेपाल नछिरीदिए हुन्थ्यो भन्ने कामना गर्नु बाहेक नियन्त्रणको कुनै उपाय देख्दिन।'