PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जहाँ विपद् त्यहाँ ‘सानो पाइला’ : कोरोना संक्रमितलाई आइसोलेसनसम्म खाना पुर्‍याउन सक्रिय



सुमित मिश्र

जहाँ विपद् त्यहाँ ‘सानो पाइला’ : कोरोना संक्रमितलाई आइसोलेसनसम्म खाना पुर्‍याउन सक्रिय

जनकपुरधाम : कोरोना संक्रमितको संख्या बढेसँगै नेपालका विभिन्न स्थानमा आइसोलेसनको अभाव हुन थालेको छ। यो समस्या प्रदेश नम्बर २ मा झनै विकराल रुपमा रहेको छ।

आइसोलेसन अभावकै कारण कतिपय कोरोना संक्रमितहरुलाई क्वारेन्टाइनमै राखिएको छ। आइसोलेसनको अभाव त छँदै थियो त्यससँगै त्यहाँ रहेका बिरामीहरुलाई दिइने खानामाथि समेत विभिन्न टिका टिप्पणीहरु भइरहेका थिए।

यसबीचमा वीरगंज र जनकपुरधाममा सञ्चारकर्मीहरु संक्रमित भए। सञ्चारकर्मीहरु आइसोलेसनमा पुग्दा त्यहाँ रहेका समस्या बारे उजागर गर्न थालेपछि मात्र आइसोलेसनको व्यवस्थापनमाथि प्रश्न उठ्न थाल्यो। आइसोलेसनमा संक्रमितहरुलाई खाना त परै जाओस् पानीसम्म समयमा दिइदैन थियो।

बाहिर बिरामीहरु कोरोनाले होइन भोकले मर्ने खालका टिप्पणीहरु हुन थालेपछि एक गैरसरकारी संस्थाले आइसोलेसनमा रहेका बिरामीहरुका लागि खाना उपलब्ध गराउने जिम्मा लियो। ‘सानो पाइला’ नामक संस्थाले अहिले जनकपुरधामकोे आइसोलेसनमा रहेका बिरामीहरुका लागि भोजन उपलब्ध गराउँदै आइरहेको छ।

वीरगंजमा समेत यही संस्थाले जेठ ५ गतेदेखि आइसोलेसनमा रहेका बिरामीहरुका लागि भोजन उपलब्ध गराउँदै आइरहेको थियो। पछि प्रदेश सरकारले जनकपुरधाममा समेत सहयोग गर्न आग्रह गरेपछि ‘सानो पाइला’ले जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसनमा समेत बिरामीहरुका लागि गत जेठ १४ गतेदेखि भोजनको व्यवस्थापन गर्दै आइरहेको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले खाना व्यवस्थापन गर्न आग्रह गरेपछि आफूहरुले खाना पठाउन थालेको सानो पाइलाका क्षेत्रीय संयोजक तथा कानुन अधिकृत राहुल झाले जानकारी दिए।

भोजन व्यवस्थापन अन्तर्गत खाना बनाउने ५ जना, प्याकिङ गर्न ८ जना र बजार व्यवस्थापनमा ४ जना तथा आइसोलेसन भित्रै खाना पुर्‍याउन रिक्सा चालकसहित ४ जनालाई जिम्मा दिइएको छ। सानो पाइलाले जनकपुरधाम रामानन्द चोकस्थित सुधार केन्द्रमा खाना बनाउने देखि सबै व्यवस्थापन गर्ने गरेको संयोजन झाले बताए।

‘यति बेला हामी बिहानै ८ बजे खाजामा रोटी, तरकारी, अण्डा, एक ग्लास दूध र फलफूल दिने गरेका छौँ’, उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप तथा चिकित्सकहरुको सल्लाहको आधारमा दैनिक अलग अलग प्रकारको भोजन उपलब्ध गराउँदै आइरहेका छौँ।’

दिनको १२ बजे खानामा भात, दाल, तरकारी र साग साथै सलाद पनि दिने गरिएको झाले बताए।

उनले भने, ‘अपराह्न पुनः ४ बजे फलफूल र सर्वत, राति ८ बजे खाना तथा सोमवार र बुधवार मासु तथा शाकाहारीहरुका लागि पनीर उपलब्ध गराउँदै आइरहेका छौँ।’

अहिले भोजनमा लाग्ने सम्पूर्ण खर्च ‘सानो पाइला’ले व्यवस्थापन गरेको जानकारी गराउँदै झाले सरकारसँग सहमति गर्ने प्रयास गरिरहेको जानकारी दिए। सानो पाइलाले विपद्को बेला सधैँ अग्रस्थानमा काम गर्दै आएको उनले बताए। समाजमा सकारात्मक रूपान्तरणको लागि आफूहरु सधैँ काम गर्ने गरेको उनको भनाइ थियो।

२०६४ सालमा स्थापना भएको ‘सानो पाइला’ले कोभिड १९ संक्रमणको बेलामा अहिले पर्साको वीरगंजमा समेत जेठ ५ गतेदेखि नै विभिन्न दाताको सहयोग बाट आइसोलेसनमा रहेका संक्रमितहरुको लागि खाना व्यवस्थापन गर्दै आइरहेको छ। झाका अनुसार खाजा तथा भोजन गरी वीरगंजमा प्रति व्यक्ति ३२७ रुपैयाँ तथा जनकपुरधाममा प्रति व्यक्ति ५०२ रुपैयाँ खर्च भइरहेको छ।

‘सानो पाइला’ले बारामा आँधी आउँदा घर निर्माण गराउन लगाउनुका साथै भूकम्प गएको बेला गोरखामा राहत वितरण समेत गरेको थियो। ‘सानो पाइला’ले कुलतमा फसेकाहरुलाई दुर्व्यसनमुक्त बनाउने, बालबालिका, शिक्षा, विपद् व्यवस्थापन लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell