जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या करिब ७ सय पुगिसकेको छ। हरेक दिन देशमा थपिने नयाँ संक्रमितको संख्यामा प्रदेश २ का आठवटा जिल्लाको भागमा धेरै हिस्सा पर्छ।
यसरी थपिने अधिकांश संक्रमित भारतबाट फर्किएका र स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु नै हुने गर्छन्। यहाँको हालत देख्दा लाग्छ - उनीहरु भारतबाट संक्रमित भएर फर्किएका हुन् कि क्वारेन्टाइनमा बस्दा उनीहरुमा कोरोना सल्कियो?
निश्चय पनि, न्यूनतम पनि मापदण्ड नपुगेको क्वारेन्टाइन कोरोना संक्रमण फैलिने अखडा बन्दै गएको छ।
महोत्तरीमा करिब ७० वटा विभिन्न नगरपालिकाका क्वारेन्टाइन छ। जसमध्ये अधिकांश सामुदायिक विद्यालयमा रहेको छ। महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा रहेको श्री रामानन्दन विशेश्वर महेन्द्र क्याम्पसमा हाल १ सय ३० जना मानिस छन्। तर, त्यहाँको क्षमता सय जनामात्र हो।
क्वारेन्टाइनमा बस्ने १३० जनालाई नै सुत्ने राम्रो व्यवस्था छैन। कक्षाकोठाका डेस्क, बेञ्चमै बस्ने र सुत्ने गर्नु परेको छ।
‘खानेपानीको सुविधा छैन। बेन्चमै खान्छु, बेन्चमै सुत्छु। झुल पनि छैन,' त्यहाँको क्वारेन्टाइनमा बसिरहेका एकजनाले हामीसँग भने। क्वारेन्टाइनमा बसेकाहरुका लागि प्लाष्टिकको झोलामा खाना प्याकिङ्ग गरेर पुर्याइने गरेको छ। खाना, नास्ता र चिया प्याकिङमा प्रयोग भएको कागज तथा प्यास्टिक यत्रतत्र फलिएको छ। खानेपानी र शौचालयकोसमेत राम्रो व्यवस्था छैन। एउटा चपा कल छ। एउटै सौचालय छ। सबै जना त्यसमै जाने गरेका छन्। यहाँको दृष्य देखेपछि सहजै भन्न सकिन्छ - यो क्वारेन्टाइन होइन, संक्रमण फैलाउने केन्द्र हो।
यहाँ शनिवारसम्म ९१ जना संक्रमित थिए। क्वारेन्टाइनमा बसेका ९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तर, सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन बेड अभाव भएकाले उनीहरुलाई यहीँ राखिएको छ।
जबकि संक्रमितलाई शौचालयसहित छुट्टै कोठा र त्यो नभए न्यूनतम प्रति कोठा अधिकतम तीन जनाको दरले राख्नुपर्ने हो। ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको हुनुपर्नेमा सबैका लागि एकै धार, एकै शौचालय।
प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटबीच न्यूनतम दुरी ३ दशमलव ५ फिट हुनुपर्ने हो। ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुलसहित खाट, फोहोर फाल्ने डस्टबिन उपलब्ध गराउनुपर्ने मापदण्डमा भए पनि यहाँ त्यसको पालन शून्य।
जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले क्वारेन्टाइन मापदण्ड विपरीत रहेका आफैँ स्वीकार्छन्। ‘क्वारेन्टाइनमा रहेकोहरुको समयमा चेकजाँच नहुँदा यहीँ राख्नु परेको छ। प्रत्येक दिन संख्या बढ्दैछ। ठाँउ अभाव छ, त्यसैले क्वारेन्टाइन मापदण्ड विपरीत भएको हो,' उनले भने, 'प्रदेश र केन्द्र सरकारलाई बारम्बार परीक्षण गराएर पठाउनुपर्छ भन्दा कसैले सुन्दैन। जाँच भएपछि रिपोर्ट नेगेटिभ आएकाहरु जान्थे नयाँ आउँथे। आफै व्यवस्थापन मिल्थ्यो।’
स्थानीय तहका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख रहने अनुगमन समिति बनाउने भनिए पनि न कसैले अनुगमन गरेको छ, न चासो नै दिएका छन्।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे क्वारेन्टाइन सम्बन्धी मापदण्डले निर्देश गरेका विषयहरु अनुशरण नगरिए थप समस्या आउन सक्ने बताउँछन्।
‘कोरोनाको जोखिम न्यूनीकरणका लागि सबै क्वारेन्टाइनलाई व्यवस्थित गर्नु जरुरी छ,’उनले भने, ‘शौचालयदेखि फोहोर व्यवस्थापन, सेनिटाइजरहरुको व्यवस्था राम्रोसँग नभए जोखिम बढ्न सक्छ।'