PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरुको बिजोग, आँपको बगैँचा बन्यो ‘होम क्वारेन्टाइन’



सुमित मिश्र

क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरुको बिजोग, आँपको बगैँचा बन्यो ‘होम क्वारेन्टाइन’

जनकपुरधाम : एकै पटक १७ जनामा कोरोना संक्रमण देखिएपछि नेपाली सेनाले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसको क्वारेन्टाइन सिल गर्‍यो। क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरू आँपको बगैँचामा बस्न बाध्य भएका छन्।

आँपको रूखमुनि बस्ने जलेश्वर नगरपालिका–८ बजराहीका तीन जना क्याम्पसको क्वारेन्टाइन सिल भएको केही समयपछि नेपाल आएका थिए। भारतको मुम्बईबाट आएका रसिद अन्सारी, फरिद अन्सारी र इरफान अन्सारीलाई क्वारेन्टाइनको गेटसम्म लगिए पनि सिल भएकाले फिर्ता गरिएको थियो।

होम क्वारेन्टाइनमा बस्न भनिए पनि घरमा बालबच्चा भएकाले उनीहरू घर जान चाहेनन्। त्यसपछि उनीहरूलाई कहाँ राख्ने भन्नेबारे स्थानीय तहले कुनै निर्णय गर्न सकेन। जसकारण उनीहरू अहिले आँपको बगैँचामा बस्न बाध्य भएका हुन्।

सोमवार बिहान आएको हावाहुरीसहितको असिनापानीले उनीहरू सबैजना निथ्रुक्क भिजेका थिए। आफ्नो झोलामा रहेको कपडासमेत भिजेपछि घरमा खबर पठाएर कपडा नल्याइदिएसम्म भिजेकै कपडामा काम्दै बस्नुपरेको रसिद अन्सारीले बताए। आफूहरू चार दिनदेखि बगैँचामा बस्न बाध्य भएको र स्थानीय सरकारलाई क्वारेन्टाइनको व्यवस्था गर्न पटक–पटक आग्रह गरे पनि कुनै चासो नदिएको इरफान अन्सारीले गुनासो गरे।

जलेश्वरमा क्वारेन्टाइन थप्ने विषयमा मेयर र वडाध्यक्षहरूबीच पटक–पटक भएको छलफल बिना निष्कर्षमा टुंगिने गरेको छ। विभिन्न वडाका स्थानीयले आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउन नदिने भन्दै विरोध समेत गरेका थिए। तर, गत आइतवार बसेको सर्वदलीय बैठकमा पुनः क्वारेन्टाइन थप्ने सहमति भएको छ। तीन दिनभित्र क्वारेन्टाइन बनाएर सबैलाई त्यहाँ राख्ने मेयर रामशंकर मिश्रले प्रतिबद्धता समेत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell